महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरकी चन्द्रा धामी र भीमदत्त नगरपालिका १९ बागफाँटाका राजेन्द्र खडायतको परिवारबीच घरायशी नातागोता थियो । घरायशी सम्बन्धका कारण चन्द्रा र राजेन्द्रबीच चिनजान थियो ।
पछि दुबै जना बिचको चिनजान माया प्रेम बदलिएर विवाह भयो । उनीहरुले २०५३ मा जुनीजुनी संगै जिउने वाचा कशम खाएर प्रेम विवाह गरे । १० कक्षा पढ्दै गरेका उनीहरु विवाहपछि पढाई छाडेर घर परिवार चलाउन लागे । राजेन्द्रले घर खर्च चलाउन गाउँमा पसल हाले । चन्द्रा घरायशी काममा व्यस्त हुन थालिन् । दुबै जनाको दैनिकी सोचे अनुसार बिति रहेको थियो । दुई छोराले खडायत परिवारमा थप खुसीयाली दियो ।
खडायत दम्पत्तिको यो खुसीयाली धेरै दिन टिकेन । २०५८ मा संकटकालका बखत तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले राजेन्द्रलाई राति घरबाट लगेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार छेउको खोलामा गाली हानेर मारि दिए । त्यस अघि उनको पसल तोडफोड गरी ध्वस्त बनाई दिए ।
‘राती घरमा आएर लगेर लगे, एक छिनपछि गोलीको आवाज आयो, त्यो सुनेर म एक्लै खोला किनारमा पुगे, हात खुट्टा बाँधेर राखिएको थियो’ चन्द्रा सम्झिन्छन्,‘सास मात्रै थियो, एक छिनपछि त सास पनि रोकियो ।’
दुई सन्तानकी आमा चन्द्रा घरभित्र आफूसंगै भएका श्रीमानको एकै छिनपछि लाश बेहास भइन् । १५ वर्षमा विवाह गरेकी उनी त्यति बेला २१ वर्ष पुगेकी थिइन् ।श्रीमान खोज्न एक्लै खोला किनार पुगेको केही समयपछि अन्य स्थानीय पनि पुगि सकेका थिए ।
पसल सञ्चालक राजेन्द्रलाई सुराकीको आरोपमा गाली हानी हत्या गरिएको थियो । चन्द्रालाई पछि प्रहरीले शवसंगै भेटिएको पर्चामा उनलाई राजा र काँग्रेसको मान्छे उल्लेख गरिएको जानकारी गराएका थिए ।
चन्द्रा भन्छिन्,‘मेरा श्रीमान न राजावादी थिए, न त सुराकी नै । घर परिवार चलाउन गाउँमै पसल हालेर बसेका थिए, घरभित्रबाट लगेर गोली हानेर मारियो ।’
श्रीमानको हत्यासंगै सबै सपना गुमाएकी चन्द्रा त्यसपछि माइती घरमा बसेर सन्तानको हेरचाह गरिन् । खर्च चलाउने पसल तोडफोड र श्रीमान गुमाउँदाको पीडिाले उनलाई घर बस्न नसक्ने अवस्थामा पुगाएको थियो । एक वर्ष माइती घर बसेपछि उनी फेरि दुई छोरा सहित घर फर्किन् ।
दुई छोराको मुख हेरेर उनी आफूलाई सम्हाल्दै गाउँका समूहमा सहभागी हुन थालिन् । केही समयपछि उनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्र्तगतको समूहमा उनी सचिव भएर काम गर्न थालिन् । ‘पीडा त थियो, दुई छोराको मुख हेर्दै केही गरौ भनेर समूहमा लागे, सचिव भए, मसित अरु विकल्प पनि थिएन’ उनी भन्छिन्,‘मनमा पीडा र त्रास त रात दिन नै हुन्थ्यो ।’
माओवादीले श्रीमानको हत्या गरेपछि आफूलाई पनि अप्ठेरो गर्न सक्छन् भन्नेमा उनी सुरुदेखि जानकार थिइन् । समूहमा आवद्ध भएको केही समयपछि उनले सोचे अनुसार केही दिनपछि माओवादी कार्यकर्ता राति घरमा आएर उनको निधारमा पेस्तोल ताके । उनलाई घर छाड्न चेतावनी दिइयो ।
दुई छोरा सहित घरमा एक्लै बस्दै आएकी उनसित तत्काल माइती बाहेक अन्य जाने विकल्प थिएन । उनी चुपचाप बसिन । माओवादीले आउन छाडेपछि उनलाई सासुले घरबाट लखेट्न थालिन् । श्रीमान जिउँदो हुँदासम्म राम्रो सम्बन्ध भएकी सासुले तेरो घर होइन भनेपछि उनी अन्ततः घर छाड्नु पर्ने बाध्यतामा परिन् । सासुले घरबाट लखेटेपछि छोरीहरुलाई घरमा राखेकी थिइन् ।
‘त्यत्रो बसेको घर छाड्न त मन थिएन, पीडा नै पीडा थियो, तेरो घर नै होइन भनेपछि मसित कुनै विकल्प थिएन’ उनी भन्छिन्,‘घर छाड्दा दुःख त लाग्थ्यो, तर पनि केही सीप चलेन, छाडेर आए ।’
खडायतले २०६३ मा दुई छोराका बागफाँटा छाडेर निस्किँदा सशस्त्र जनयुद्धमा होमिएका माओवादी शान्तिपूर्ण राजनीतिमा आइ सकेको थियो । महेन्द्रनगर बजार आएपछि उनी डेरा लिएर छोरालाई पढाउन थालिन् ।
बजार बस्न थालेपछि उनी द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रसित जोडिन पुगिन् । सशस्त्र द्वन्द्वमा माओवादी आक्रमणमा परी श्रीमान गुमाएकी सीता बोहराले द्वन्द्व पीडित महिलाका हक अधिकारका लागि संस्था सञ्चालन गरेकी थिइन् । केन्द्रका अध्यक्ष बोहरा श्रीमान प्रहरी सहायक निरीक्षक थिए ।
खडायत केन्द्रकी सचिव भइन् । त्यसपछि खडायतको जीवनले अनपेक्षित मोड लिदैं महिला हक अधिकारका लागि वकालत गर्ने अधिकारकर्मी पुगेको छ । अहिले उनी महिला अधिकारकर्मीको रुपमा परिचित छन् ।‘
द्वन्द्व पीडित एकल महिला विकास केन्द्रमा लागेपछि जिल्लाभर घुमे, सबै महिला दिदी बहिनीका समस्या बुझ्न पाए, त्यसबाट मैले अझै सम्हाल्ने मौका पाए’ उनी भन्छिन्,‘सम्हालिनु त पर्ने नै रहेछ ।’
द्वन्द्व पीडित एकल महिला विकास केन्द्रमा हुँदा खडायत एकल महिलाहरुको हक अधिकारका लागि काठमाडौंसम्म पुगिन् । एकल महिलालाई भत्ता उमेर हद नराखेर भत्ता दिनु पर्ने, बालबालिकालाई छात्रबृत्ति दिनु पर्ने लगायतका माग राखेर आन्दोलन गरिएको थियो ।
आन्दोलनपछि सरकारले उमेर हद हटाएर एकल महिलालाई मासिक पाँच सय रुपैँया भत्ता दिन सुरु गरेको थियो । बालबालिकालाई पनि छात्रबृत्ति दिन थालिएको थियो । त्यस अघि एकल महिलालाई पनि भत्ता लिन अन्य ज्येष्ठ नागरिक सरह उमेरमा हदबन्दी लगाइएको थियो ।
द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र छाडेपछि खडायत अहिले मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरको सदस्य छन् । केन्द्रसित रहँदा उनले स्थानीय शान्ति समिति र छात्रबृत्ति समिति लगायतका जिम्मेवारी वहन गरि सकेकी छन् । स्थानीय शान्ति समितिमा उनी द्वन्द्व पीडितबाट सदस्य भएकी थिइन् । द्वन्द्व पीडित शान्ति समितिमा सदस्य बनाउन महिलाहरुले आन्दोलन गरेका थिए ।
शान्ति समितिको सदस्य हुँदा खडायतले द्वन्द्व पीडितका समस्या बुझ्ने थप मौका पाइन् । राजनीतिक दल र सरकारी अधिकारी सहित सहभागी भएर उनले पीडितलाई भेट्ने मौका पाइन् । ‘म आफैंसित पीडा थियो, अरुका पीडा बुझ्दा मन बुझाउन थप सजिलो भयो’ उनी भन्छिन् ।
अधिकारकर्मी खडायतले द्वन्द्व पीडित वापत राज्यबाट हालसम्म १० लाख क्षतिपूर्ति पाएकी छन् । किस्तामा क्षतिपूर्ति रकम दिइएकाले घर जग्गा जोड्न नसकी दुई छोरालाई पढाउन सकिएको उनी बताउँछिन् ।
उनका अनुसार सुरुमा डेढ लाख र त्यसपछि अन्य रकम क्षतिपूर्ति वापत दिइएको थियो । ‘एकमुष्ट पाएको भए केही सम्पत्ति बनाउन सकिन्थ्यो, किस्ता दिइयो, खाना, बस्न पढाई खर्चमा सकियो’ उनी भन्छिन् ।
सरकारले दिएको क्षतिपूर्ति रकम ज्यान बराबरको हुन नसक्ने उनको भनाई छ । ‘मेरो त श्रीमानको ज्यान गएको छ, यो भन्दा ठूलो क्षतिपूर्ति के हुन सक्छ’ उनी भन्छिन्,‘पैसाले ज्यान पूर्ति हुँदैन, केही राहत भयो, यसैमा ठिक छ ।’
अधिकारकर्मी खडायत यस वर्ष स्थानीय तह निार्वाचन पनि लडिन् । उनी भीमदत्त नगरपालिका १९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला महिला सदस्यमा लडेकी हुन् । वडा अध्यक्ष हुने लक्ष्य लिएर चुनावी मैदानमा गएकी उनलाई सदस्यमा उम्मेदवार बनाइएको थियो । चुनाव लडेपछि राजनीति पनि सिकेको उनको भनाई छ ।
अहिले ४० वर्ष पुगेकी उनी दुई छोरालाई काठमाडौंमा पढाई रहेकी छन् । उनका जेठा छोरा पारस आइटी र कान्छा पुष्प होटेल मेनेजमेन्ट अध्ययनरत छन् । ‘मैले यी दुई छोराको मुख हेरे, म बाँचेकै यी दुईका लागि हुँ’ उनी भन्छिन्,‘अब पीडा पनि हटि सक्यो जस्तो लाग्छ ।’