पाँच वर्ष अघि स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले यस पटक दोस्रो स्थानमा पुगेको छ । २०७४ मा पा“च स्थानीय तह जितेको एमालेले यस पटक तीन तह मात्रै जितेको छ । एमालेले अघिल्लो पटक जितेको हाराहारी स्थानीय तह जित्ने लक्ष्य राखेको थियो । त्यस अनुसार नतिजा मात्रै आएन, यस पटक २०४९ देखि जित्दै आएको वडामा वर्चश्व तोडिएको छ । एमाले कञ्चनपुरले केही दिन अघि विज्ञप्ति प्रकाशित गरी सत्तारुढ गठबन्धनमा मित्रवत प्रतिस्पर्धा, सत्ताको दुरुपयोग लगायतका कारणले पराजय भोग्नु परेको धारणा सार्वजनिक गरेको थियो । यस पटक स्थानीय तह निर्वाचनमा एमाले व्यहारेको अनपेक्षित नतिजा, त्यसका कारण, समाधानका लागि पार्टीले चाल्न सक्ने सम्भावित कदम र आगामी निर्वाचनको रणनीति लगायतका विषयमा एमाले केन्द्रीय लेखा आयोगका सदस्य एवम् एमाले कञ्चनपुरका पूर्व अध्यक्ष ईश्वरी प्रसाद खरेलसित गरिएको कुराकानी
चुनावी माहौल हेर्दा एमालेका लागि उत्साहजनक नै देखिन्थ्यो । तपाई आफैं पनि त्यो बेला माहौल निकै राम्रो छ भन्नु हुन्थ्यो । चुनावी नतिजाले त त्यसलाई उत्साहजनक देखाएन नि ?
हो, त्यो बेला चारैतिर चुनावी माहौल उत्साहजनक थियो । चारैतिर माहौल राम्रो नै थियो । गाउँ गाउँमा एमालेप्रति आकर्षण नै देखिन्थ्यो । त्यो अनुसारको उत्साहजनक नतिजा आउनु पथ्र्यो, त्यो आएन । त्यसका पछाडि गठबन्धनमा एकले अर्कोलाई मत दिने काम भयो । बाहिर गठबन्धन गरेन । भित्री रुपमा रुपमा मत दिइयो । बाहिर
देखिएन । मित्रवत प्रतिस्पर्धाका आधारमा भित्री रुपमा एकले अर्कोलाई मत हालिएपछि स्वभाविक रुपमा नतिजा तलमाथि भयो ।
सत्तारुढ गठबन्धनमा एकले अर्कोलाई मत हाल्दा मात्रै यस्तो नजिता आयो हो कि । यस बाहेक हारका पछाडि अरु कारण पनि छन् ?
काँग्रेस सहितका गठबन्धन भएको भए हामी चुनाव जित्थ्यौ । तर बाहिर रुपमा देखिने गरी काँग्रेससित गठबन्धन भएन । माओवादी र समाजवादीबीच मात्रै देखिने गठबन्धन भयो । काँग्रेससित नदेखिने गरी भित्री रुपमा मित्रवत प्रतिस्पर्धाका आधारमा गठबन्धन बन्यो । त्यसरी भित्रि रुपमा गठबन्धन हुँदा एमालेको मत मात्रै डाइभर्ट गर्ने काम भयो । अरुका मत हामीसित आउन सकेन । यस बाहेक अरु कारण पनि छन् । नेता कार्यकर्तामा समान्य खालका मनमुटाव पनि होलान । तर पनि सूर्यमा भोट नहाल्नसम्म त कोही नि लागेन । यी सबै कुरा हेर्दा चुनावमा एमालेसित हुनु पर्ने उत्साह किन काँग्रेससित गयो । पार्टीभित्र यसको समीक्षा गर्छौ ।
एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि त यो निर्वाचनमा एमाले हारको कारण बन्यो नि ?
समाजवादीको प्राथमिकता नै एमाले हराउने हुने नै भयो । पार्टी विभाजन भइ सकेपछि चुनावमा अप्ठेरो हुन्छ भन्ने त महसुस भई सकेको थियो । पार्टीको विभाजन रोक्न सकिने अवस्था पनि थिएन । त्यस कारण विभाजन भएर चुनावी प्रतिस्पर्धामा जाँदा त्यसको असर चुनावी नतिजामा देखियो । अघिल्लो चुनावमा एमाले जिताउनु पर्छ, एमाले बलियो बनाउनु पर्छ साथीहरु काँग्रेस बलियो हुनु बलियो बनाउनु लागे । यसरी चुनावमा जाँदा पनि मतदाताले हामीलाई विश्वास गरेन । चुनावमा केही महिना अघि सकिएको जिल्ला अधिवेशन, त्यसपछि टिकट वितरण असन्तुष्टि पनि अहिलेका नतिजाका कारण छन् । चुनाव घोषणापछि केही नेता कार्यकर्ता पार्टी छाडेर पनि गए । यी सबैका बाबजुद समग्रमा गठबन्धनका कारण यस्तो नतिजा आएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले त चुनावमा लाजमर्दो अन्तर्घात नै भएको छ भन्नु भयो । कञ्चनपुरमा पनि पार्टीका उम्मेदवार हराउन अन्र्तघात भएको हो ?
स्थानीय तह निर्वाचनमा कमजोर नतिजाका पछाडि अन्र्तघात खासै छैन । कही कतै त्यस्तो भएको छ भने पार्टीले छानबिन गरी त्यस्ता नेता कार्यकर्तालाई कारवाही गर्ला । टिकट वितरणमा कहीं कतै असन्तुष्टि आएका हुन् । उम्मेदवारी दर्तापछि ती पनि त्यसैले हराएर गए । पार्टीभित्र असन्तुष्टि आउनु स्वभाभिक नै हो । त्यसलाई अन्यथा लिनु हुँदैन । पार्टी बाहिर लडेर केही पनि हुँदैन । अब यता अन्तर्घात भयो भन्नु हुन्छ भने काठमाडौंमा के भाको हो । १२ वडा अध्यक्ष जित्छन्, मेयर जित्दैन । यसलाई अन्र्तघातका रुपमा बुझ्न हुँदैन । पार्टीभित्र समस्या थिए भने अब गम्भीर रुपमा छलफल गरी अघि बढ्नु पर्छ ।
एमाले विभाजन भएर कमजोर अवस्थामा पुगेको त जगजाहेर नै थियो । यस्तो अवस्थामा पनि टिकटमा लुछाचुडी नगरी सर्वसम्मत रुपमा दिन सक्ने अवस्था थिएन र ?
टिकट वितरणमा केही असन्तुष्टि थिए । तर ती ठूला खालका होइनन् । सानातिना नै थिए । सबै तहमा थिएन । केहीमा थिए । ती हल गर्न सकिने खालका थिए । समय अपुग भएपछि त्यसलाई व्यवस्थित रुपमा मिलाउन सकिएन । यो कमजोरी भयो ।
टिकट पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगाएर मात्रै दिइयो । यस अघिका चुनावसम्म टिकट कहिल्यै पनि यसरी माथि पुगेन । यसले टिकट दिने एमालेको प्रदेश कमिटी कमजोर देखिएको अर्थ लगाउन मिल्छ ?
टिकटका लागि अध्यक्षसम्म पुगाउन समान्य कुरा हो । यो पार्टीको आन्तरिक कुरा हो । अध्यक्षसित समन्वय गरी टिकट दिँदा पार्टी बलियो नै हुने हो । टिकट कता लगेर कोलाई दियो भन्ने कुराको पार्टीभित्र कुनै अर्थ हुँदैन । पार्टीभित्र कस्ता मान्छेले टिकट पायो, टिकट पाउने मान्छे लोकप्रिय कति छ, समाजसित कति घुलमिल गरेको छ, मतदाताले कसरी हेरेका छन्, पार्टीका कार्यकर्ता कसरी हेर्छन् यो कुरालाई हेक्का राखिनु पर्छ । यस पटक एमालेमा टिकट पाउने नेता पनि राम्रै थिए । भूगोल नचिनेका र जनतामा अलोकप्रिय कोही पनि थिएन । पार्टीभित्र योगदान भएका साथीहरुलाई टिकट दिइएको थियो ।
२०४६ को जन आन्दोलनपछि भएका चुनावमा एमाले विभाजन भएपछि लडेका चुनाव कहिल्यै जितेन । अहिले २०७९ को स्थानीय तह निर्वाचनमा त्यहीं देखियो नि ?
हो, एमालेको विगत हेर्दा फुटेर लडेको बेला कहिल्यै चुनाव जितेन । काँग्रेसभित्र आन्तरिक विवादका बेला २०५१ को मध्यावधि निर्वाचन जित्यौ । २०५४ मा फुटेपछि २०५६ मा चुनाव जित्न सकेनौ । २०६४ सम्म पुग्दा माओवादी केन्द्रलाई जनताले विश्वास गरे । २०७४ मा एकजुट भएर लड्दा चुनाव जित्यौ । अहिले फेरि फेटेर लड्दा जित्न सकेनौ । यो क्रम त चल्दै आएको छ । अहिले पनि पार्टी विभाजनबाट १०–२० प्रतिशत क्षति व्यहोरेका छौ । यो क्षति नभएको भए एमाले २०७४ सालको नतिजा ल्याउन सक्थ्यो । तर पार्टी विभाजनपछि त्यसलाई पूर्तिका लागि गरिएका प्रयास पनि अपेक्षित भएन । सानोतिनो क्षतिपूर्ति त गरियो । तर पार्टी विभाजन भएर गएको शक्तिलाई पूर्ति गर्न सकिएन । पार्टी विभाजन भइ सकेपछि आम मतदाता पनि अप्ठेरोमा परे । यसले यस पटक एमालेप्रति मतदाताको विश्वास रहन सकेन ।
एमालेमा पार्टी विभाजन मात्रै होइन्, एमालेभित्र पनि एक आपशमा घोचपेच गर्ने, एक अर्का विरुद्ध देखिने खालका प्रवृत्ति त देखि सकेका थिए । त्यसतर्फ पार्टीले ध्यान दिएको देखिदैन नि ?
एमाले विरुद्ध, नेता विरुद्ध, केन्द्रीय नेतृत्व विरुद्ध , जिल्ला नेतृत्व विरुद्ध लाग्ने एक खालको अराजक प्रवृत्ति देखिएको छ । विशेष गरी नेता र नेतृत्व विरुद्ध वितृष्णा फैलाउने कार्यमा यो अराजक प्रवृत्ति लागि परेको देखिन्छ । एमालेको मूल नेतृत्व विरुद्ध पनि यस्तो खालको प्रवृत्ति कहिलेकाँही प्रकट हुन्छ । यो अराजक प्रवृत्ति हो, यसलाई नियन्त्रण गरिनु पर्छ । महाधिवेशन र जिल्ला अधिवेशन भइ सकेपछि त्यसबाट निर्वाचित नेतृत्वलाई सबैले मान्नु पर्छ । चुनावमा हारजित भई सकेपछि एक अर्का विरुद्ध जाने घातक प्रवृत्ति अन्त्य हुनु पर्छ । पछिल्लो पटक नेता र नेतृत्व विरुद्ध रिस उठे फेसबुकमा लेख्ने, पार्टीमा हुने छलफलका निर्णय फेसबुकमा राख्ने, नेताहरुलाई फेसबुकमा गाली गर्ने खालका गलत प्रवृत्ति देखिएका छन् । यसलाई जसरी पनि रोकिनु पर्छ ।
एमालेले यसलाई रोक्न सक्छ त ? कसरी ?
पार्टी नेतृत्वले सक्रियता देखाउनु पर्छ । नेतृत्वले अराजक प्रवृत्ति रोक्न निर्देशन दिनु पर्छ । पार्टीलाई गाली गर्दा एक दिन त सबैको राम्रो भइला, त्यसपछि जीवनभर खुइलिने हुन्छ । यो कुरा पार्टीका नेता कार्यकर्ताले बुझ्नु पर्छ । यस्तो खालको प्रवृत्ति नरोक्ने हो भने फेरि यो भन्दा झन कमजोर नतिजा नआउला भन्न सकिन्न ।
अहिलको स्थानीय तह निर्वाचनमा टिकट वितरणमा कही“कतै यस्तो अराजक प्रवृत्तिले पनि काम ग¥यो भन्ने हल्ला बाहिर बाहिर सुनिन्छ । यो हल्ला मात्रै हो कि यसमा केही सत्यता छ कि ?
यो पत्रकारको दृष्टिकोणबाट हेर्दा यस्तो देखिएको हो । हाम्रो दृष्टिकोणबाट यस्तो छैन । चुनावमा सबै एमाले भएर गएका हौ । चुनाव हारियो जितियो । आफ्नो ठाउँमा छ । सर्वोच्च अदालतबाट नेकपा विघटन भएपछि एमाले बन्दादेखि नै एमाले भएका छौ । तर केही स्वार्थ पूर्ति गर्ने पनि छन् । उनीहरु एमालेको नाममा रजाँई गर्न चाहन्छन् । टिकटमा भने त्यस्तो प्रवृत्तिको केही पनि सरोकार हुँदैन । पार्टीले सबै मापदण्ड हेरेर टिकट दिने हो । फेसबुकमा नेतालाई गाली गरेको आधारमा टिकट दिँदैन ।
एमालेभित्र अलिकति त अराजक प्रवृत्ति त छ भन्नु भयो । यस बाहेक अहिले पार्टीभन्दा व्यक्तिवादी हुने संस्कार पनि मौलाएको हो त ?
एमालेका नेता कार्यकर्ता सबै सिद्धानत विचारले लागेका हुन् । पार्टीभित्र व्यक्तिको पूजा होइन, सिद्धान्तलाई मान्नु पर्छ । कहिलेकाँहीले नेताको प्रिय हुन अलि बढी नै व्यक्तिलाई मान्ने प्रवृत्ति चाहिँ देखिएको छ । यो ठिक होइन । पहिलाको तुलनामा व्यक्ति पूजा अहिले अलि बढी नै देखिन्छ । पार्टीका संगठन बनाउन भन्दा नेताका पछि लाग्ने, सदरमुकाम र काठमाडौंमा बसेर नेताहरुलाई रिपोर्टिङ्ग गरी टिकट हत्याउन प्रवृत्ति चाहिँ छ । अहिलेको चुनावमा यसलाई हतोत्साही गर्न खोजिएको हो । तर सकिएन । अब पार्टीले यसमा ध्यान दिएर जान्छ । पार्टीभित्र आन्तरिक अनुशासन बलियो हुनु बित्तिक्कै यो आफैं हराएर पनि जान्छ ।
यस पटकको स्थानीय तह निर्वाचनको नतिजाले त एमालेलाई कम ब्याक हुन त्यति सहज अवस्था त देखिदैन नि ?
चुनावमा हार जित हुन्छ । दलीय प्रणालीमा दलहरु सानो ठूलो भई राख्छन् । यस पटक निर्वाचनको नतिजाले पनि हामी त्यति कमजोर अवस्थामा पुगेका छैनौ । यसलाई कम ब्याक गर्न सकिन्छ । अबको ६ महिनाभित्रै हुने चुनावका लागि तयारीलाई अघि बढाउनु पर्छ । किनकी हामीसित अहिलको चुनावमा तयारी गर्ने पर्याप्त समय थिएन । त्यस कारण पनि सानातिना असन्तुष्टि मिलाउन सकिएन । पार्टीका सबै कमिटीलाई चलायमान बनाउनु पर्छ । तल्ला कमिटीलाई सक्रिय बनाउन संगठन निर्माण र सुदृढीकरणलाई ध्यान दिनु पर्छ । पार्टीभित्र देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गरी पार्टी, जनसंगठन हत्याउने कुत्सित योजना बनाउने कार्य रोकिनु पर्छ । सबै नेता कार्यकर्ताले नेता कार्यकर्तासितका आग्रह पूर्वाग्रह छाडेर दृढता पूवर्क लाग्नु पर्छ । जिल्ला अधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरी अघि बढ्नु पर्छ । पार्टीको संगठित सदस्य भइ सकेपछि त्यस अनुसारको जिम्मेवारी वहन गर्ने, त्यसपछि पार्टी र जनसंगठनको जिम्मेवारीमा आइ सकेपछि त्यस अनुसारका जिम्मेवारी वहन गरिनु पर्छ । पार्टी सबै नेता कार्यकर्ता, शुभेच्छुक सबैको साथले बनेको हो भन्ने कुरा बुझ्नु पर्छ ।
त्यसो भए अब एमाले एक ढिक्का भएर अघि बढ्छ त ?
यो चुनावको नतिजालाई सबैलाई एकै ठाउँमा पुगाई दिएको छ । पार्टी विभाजन, गठबन्धन र आन्तरिक कारण जे भने पनि आखिर पार्टी चुनावमा पराजित भएको छ । नेता कार्यकर्ता यसमा एकमत छन् । यो कुरा सबैले बुझेर अघि बढ्न बाहेकको अन्य विकल्प पनि छैन नि ।
अहिलेको चुनावमा पार्टी विभाजन पनि हारको कारण भए समाजवादीसित एकता गर्नु पर्ने आउन सक्छ त ?
पार्टी मिलाउनु पर्ने नै हौ । पार्टी मिलाउन सकेनौ भने सबैको भविष्य छैन । यो नतिजाले प्रष्ट देखाइ सकेको छ । त्यसका लागि समाजवादीसित अहिले पनि सघन रुपमा छलफल गरी अघि बढ्नु पर्छ । पार्टी हित बाहेक अन्य स्वार्थ राखेर कुरा गरिनु हुँदैन । समाजवादीमा गएका साथीहरुले पनि मूल पार्टी नै मूल हुन्छ भनेर बुझेर फर्किनु पर्छ । अहिले पनि २०५४ मा विभाजन हुँदा पार्टी बाहिर भएका साथीहरु पनि नेतृत्वमा पुग्नु भाको छ । पार्टी विभाजनमा लागेपछि फेरी फर्किँदा अप्ठेरो हुने कुरा सोच्न हुँदैन । अब सबै मिलेर पार्टी बनाउनु पर्छ ।
सत्तामा पुगेपछि एमाले आधारभूत वर्गलाई मतलब नै गर्दैन भन्ने गुनासो छ । यसमा कतिको सत्यता हो ?
एमालेमा एउटा यो ठूलो समस्या छ । सत्तामा गएपछि हुटीटयाउलेझैं आकाश थाम्न खोजिन्छ । त्यस कारण सर्वहारा वर्गका लागि नीति कार्यक्रम, योजना बनाउने कार्य प्राथमिकताबाट पछाडि पर्छ । त्यहाँ हुने कर्मचारी प्रशासन पनि सर्वहारा वर्गका लागि योजना कार्यक्रम बनाउने सवालमा सकारात्मक हुँदैन । नेता आर्फैं त्यस्तो भएपछि कर्मचारीले गर्ने कुरा हुँदैन । जनप्रतिनिधिले कानुनी छिद्र पत्ता नलगाएर केही गर्न सक्दैन । त्यस कारण सर्वहारा वर्गका लागि काम गर्न सकिने अवस्था हुँदैन ।
अन्त्यमा, यो स्थानीय तह निर्वाचनको हारलाई अर्को चुनावबाट पूर्ति गर्न सकिने अवस्था देख्नु हुन्छ त ?
यो निर्वाचनको नतिजा एमालेका लागि चुनौतीका रुपमा आएको छ । यो चुनौतीलाई सामना गरी ६ महिनापछि हुने चुनाव जितेर एकल सरकार बनाउँछौ । अहिले आत्तिनु पर्ने केही छैन । एमाले मात्रै होइन्, अरु दलका ठूला नेता सक्रिय भएर लागेकै स्थानमा पनि उनीहरुको प्रदर्शन पनि कमजोर नै छ । एक मना एकताका साथ लाग्नु पर्छ । गुटबन्दी र जालझेल सबै छाडेर आउनु पर्छ । त्यसका लागि नेतृत्वले ठूलो छाती बनाउनु पर्छ ।