भीमदत्तमा छाडा चौपाया व्यवस्थापन मोडालिटी : मेयर, उप मेयर र हाकिमको घुमघाम, नगर सभाबाट नीति आयो, बजेट आएन
महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा निर्वाचित भएको अढाई महिनापछि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीको ध्यान छाडा पशु चौपाया व्यवस्थापनमा पुगेको छ । छाडा चौपाया व्यवस्थापनक लाागि छलफल, गौशाला बनाउन जग्गा खोजी र अध्ययन अनुसन्धानका लागि भ्रमण गर्न थालेका छन् ।
मेयर बोगटी र उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका कर्मचारी छाडा चौपाया व्यवस्थापन सम्बन्धी अध्ययनका लागि बर्दिया पुगेका छन् ।
शुक्रबार बर्दिया गएका उनीहरुले बर्दियाको बारबर्दिया नगरपालिका–९ कतर्निया स्थित गौ सेवा केन्द्र पुगेर छाडा चौपाया व्यवस्थापन सम्बन्धी जानकारी लिएका छन् । उनीहरुसंगै बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशी पनि सहभागी सहभागी भएका छन् । बेदकोटले केही दिन अघि जोशीको अध्यक्षतामा छाडा पशु चौपाया व्यवस्थापनका लागि कार्यदल बनाएको थियो ।
भीमदत्तका मेयर बोगटीले छाडा चौपाया व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको दावी गरेका छन् । ‘हामी छाडा चौपायाको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर अध्ययन तथा काम गरिरका छौ’ मेयर बोगटीले भनेका छन्, ‘त्यहीं सिलसिलामा छाडा चौपायाको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर बर्दियाको कतर्नियामा रहेको गौ सेवा केन्द्रको अवलोकन पनि गरेका छौ ।’
बर्दिया पुगेर अवलोकन गर्न बाहेक मेयर बोगटीले बेदकोट नगरपालिकासित चौपाया व्यवस्थानका लागि पनि छलफल गरेका छन् । यी दुई स्थानीय तहले चौपाया व्यवस्थापनमा सहकार्यका लागि छलफल अघि बढाएका छन् ।
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पनि अहिलेसम्म गरिएको भन्दा फरक हिसाबले व्यवस्थापन गर्ने गरी तयारी अघि बढेको दावी गरे । ‘अहिलेसम्म पनि व्यवस्थापन गरिएको थिए, तर त्यो काम लागेन’ उनले भने,‘त्यस कारण एउटा मोडालिटी नै बनाएर चौपाया व्यवस्थापन गर्न चाहेका हौ ।’
प्रवक्ता खड्काको मोडालिटी बनाएर व्यवस्थापन गर्ने दावी अनुसार अहिलेसम्म भीमदत्तमा छाडा चौपाया व्यवस्थापनका लागि नगर सभाबाट संघ, प्रदेश, सहकारी र निजी क्षेत्रको सहकार्यमा व्यवस्थापन गरिने नीति ल्याउने बाहेकका अन्य कार्य हुन सकेका छैन । नगर सभाबाट नीति पारित गरिए पनि बजेट विनियोजन नगरी छाडा चौपाया व्यवस्थापन नजर अन्दाज गरिएको छ ।
नगरपालिकाका प्रवक्ता खड्काले छाडा चौपाया व्यवस्थापनका लागि संघ र प्रदेश सरकारबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि बजेट आएको बताए । ‘संघ र प्रदेशबाट बजेट आएको छ, नगरपालिकाले पनि बजेट चाहिँ विनियोजन गर्छ,’ उनले भने,‘ कसरी गर्ने, के गर्ने भनेर छलफल गरि रहेका छौ, बजेट अभावका कारण यो काम रोकिन्न, कसरी गर्ने भनेर उपायको खोजीमा छौ ।’
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले उप मेयर जोशीको संयोजकत्वमा कार्यदल गठन गरी छाडा पशु चौपाया व्यवस्थापन अघि बढाएका छन् । जोशी नेतृत्वको टोलीले चौपाया व्यवस्थापनका लागि बैतडास्थित बालज्योति माध्यमिक विद्यालयको जग्गालाई भाडामा लिने तयारी गरेको छ । त्यसका लागि मेयर उप मेयर दुबैले जग्गाको अवलोकन गरि सकेका छन् । भीमदत्तमा मोडालिटी बनाएर दिगो व्यवस्थापन गर्ने बताए पनि भीमदत्तमा कार्यदल गठन नगरी मेयर उप मेयर र प्रमुख प्रशासकीय अधिकृत अवलोकन भ्रमणमा गएका छन् ।
भीमदत्तमा अघिल्लो कार्यकालका मेयर सुरेन्द्र विष्टले पहिलो नगर सभाबाट छाडा चौपाया व्यवस्थापनका लागि नीति तथा कार्यक्रम पारित गरी बजेट विनियोजन गरेका थिए ।
भीमदत्तका तत्कालिन उप मेयर सशिला चन्द सिहलाई चौपाया व्यवस्थापन समितिको जिम्मेवारी दिइएको थियो । भीमदत्त नगरपालिका १९ बागफाँटा र वडा नं. ९ ब्रह्मदेबमा गौशाला निर्माण गरी व्यवस्थापन गरिएको थियो । विष्टको कार्यकालमा छाडा चौपाया व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरी लागू पनि गरिएको छ ।
यस पटक भने नगरपालिका आफ्नो बजेट समेत विनियोजन नगरी नयाँ मोडालिटीमा चौपाया व्यवस्थापन गर्ने तयारीमा लागेको छ । ‘दुबै पालिकाले मिलेर छाडा चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुने भएकोले सो विषयमा बेदकोटका प्रमुख,उप प्रमुखसंग प्रारम्भिक छलफल भएको छ’ प्रवक्ता खड्काले भने ।
चौपाया व्यवस्थापनका लागि भीमदत्तका मेयर बोगटी,उप मेयर जोशीले यस अघि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर,सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगायतसंग भेटघाट गरि सकेका छन् ।
‘मोडालिटी कसरी गर्ने, के गर्ने भन्नेमा छौ, यसलाई आय आर्जनसित जोड्ने भन्ने पनि छ’ प्रवक्ता खड्काले भने ।