साँसद भट्टको पहलले पाउन थाल्यो सार्थकता, गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालय बनाउन सकिने अनुगमन समितिको निष्कर्ष
छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पेश, केही दिनभित्र सरकारलाई बुझाइने
महेन्द्रनगर । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको अनुगमन टोलीले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सकिने आधार सहितको प्रतिवेदन तयार गरेको छ । समितिका सदस्य योशेश भट्टराई नेतृत्वको समितिले असार अन्तिम साता गेटा मेडिकल कलेजको स्थलगत अनुगमन गरेको थियो ।
समितिले अनुगमनपछि राष्ट्रिय चिकित्सा विश्वविद्यालयका लागि आवश्यक कार्य अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिन उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन तयार गरेको हो । शिक्षा तथा स्वास्थ्य समितिमा पेश गरिएको प्रतिवेदन केही दिनभित्र सरकारलाई बुझाउने तयारी गरिएको छ ।
‘समिति असार २६ र २७ गते अनुगमनका लागि गेटा आएको थियो, त्यसपछि भौतिक संरचना निरीक्षण, राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघर्ष समिति सबैसित छलफलका आधारमा प्रतिवेदन तयार गरी समितिमा बुझाईएको छ, अनुगमन टोलीका आमन्त्रित सदस्य कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रसाद भट्टले भने,‘समितिमा छलफल भएर सरकारलाई बुझाउँछौ ।’
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्टले असार ९ गते गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि छलफल गर्न निवेदन दिएका थिए । साँसद भट्टले त्यस अघि प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर चिकित्सा विश्वविद्यालय बनाउन प्राथमिकता दिनु आग्रह गरेका थिए ।
साँसद भट्टको निवेदन समिति असार १३ गते शिक्षा तथा शिक्षा समितिका सदस्य भट्टराईको संयोजकत्वमा दुई जना आमन्त्रित समिति ७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा साँसद भट्ट र कैलाली क्षेत्र नं. ४ का साँसद नारदमुनि राना आमन्त्रित सदस्य थिए । समितिमा मान बहादुर विश्वकर्मा, चित्रलेखा यादवा, नविना लामा र अन्जजा विशंखे सदस्य थिए ।
समितिले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश पछाडि परेको, सबै तहका जनप्रतिनिधि, नागरिक समाज र आम जन समुदायको चासो, शैक्षिक र भौतिक विकासमा क्षेत्रीय सन्तुलन लगायतका आधारमा गेटालाई चिकित्सा विश्वविद्यालय बनाउन पर्ने निष्कर्ष निकालेको हो ।
‘नेपालको भौगोलिक तथा विषयगत विश्वविद्यालयहरु स्थापना र सञ्चालनको क्रम चलि रहेको सन्दर्भमा क्षेत्रीय सन्तुलन तथा स्थानीय जन समुदायको भावनालाई समेत कदर गर्दै गेटालाई स्वास्थ्य शिक्षाको विषयत विशिस्त्रीकरण हुने गरी चिकित्सा विश्वविद्यालयका रुपमा स्थापना र सञ्चालन हुने आधार देखिन्छ’ प्रतिवेदनमा भनिएको छ,‘यस सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिन उपयुक्त हुन्छ ।’
समितिले भौतिक निर्माण कार्य पूरा गरी जनशक्ति र उपकरण व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्न पनि सुझाव दिएको छ ।
कैलाली गोदावरी नगरपालिका ५ स्थित गेटामा २०६५ मा सरकारले सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेपछि मेडिकल बनाउन सुरु गरिएको थियो ।
२०६६ मा मेडिकल कलेज संरचना निर्माण विकास समिति गठन भएको पाँच वर्षपछि पूर्वाधार निर्माण सुरु गरिएको थियो । अहिले मेडिकल कलेजका लागि ५ अर्ब लगानीमा २६ ओटा भवन सहितका संरचना बनेका छन् । ६ सय शैय्याको अस्पताल सञ्चालन हुने गरी संरचना निर्माण गरिएका छन् ।
सरकारले मेडिकल कलेज सञ्चालनको प्रारुप टुङ्गो नलाएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगत सञ्चालन गर्ने उल्लेख गरेको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्टले वर्षौदेखि स्वास्थ्य क्षेत्रमा पछाडि पर्दै आएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको विकासलाई फड्को मार्न चिकित्सा विश्वविद्यालय बनाउनु पर्ने अभियानमा लागेका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटपछि आफ्नो निर्वाचन क्षेत्रमा आएर साँसद भट्टले चिकित्सा विश्वविद्यालयका लागि राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि लगायतका सबै क्षेत्रसित छलफल गरी सुझाव लिएका छन् । सबै क्षेत्रबाट आएका सुझावका आधारमा साँसद भट्टले छलफलका लागि समितिमा निवेदन दिएका हुन् ।
‘स्वास्थ्य क्षेत्रमा चिकित्सा विश्वविद्यालय फराकिलो हुन्छ, विभाग बनाएर काम गरी देशको पहिलो विश्वविद्यालय बनाउन सकिन्छ’ उनले भने,‘यसबाट सुदूरपश्चिमको स्वास्थ्य पूर्वाधार बढ्छ्, जनशक्ति उत्पादन हुन्छ, सबै जिल्लामा स्वास्थ्य सेवा विस्तार हुन्छ ।’
साँसद भट्टले विश्वविद्यालय अन्र्तगत सुदूरपश्चिमका सबै जिल्लामा विभिन्न संकाय सञ्चालन गर्न सकिने बताए । ‘चिकित्सा विश्वविद्यालय बनेपछि विभिन्न विधाका विभाग हुन्छन्, देशभरका प्रोफेसर आउँछन्’ उनले भने,‘स्वास्थ्य सेवा त सहज पाइन्छ नै दक्ष जनशक्ति पनि उत्पादन हुन्छ ।’
समितिलाई अनुगमनका क्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्तले मेडिकल कलेजका लागि देशभरमै सबैभन्दा बढी र आधुनिक संरचना निर्माण भएकाले विश्वविद्यालय बनाउन पर्ने सुझाव दिएका थिए ।
गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि सरकारलाई दबाब दिन अत्तरियामा गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने यहाँका नागरिकको माग रहेको बताएका थिए ।
‘मेडिकल विश्वविद्यालय बाहेक अन्य कुरा स्वीकार्य हुँदैन,’ पाण्डेयको भनाई थियो, ‘अन्यत्र मेडिकल कलेज, प्रतिष्ठान छन् तर सुदूरपश्चिमका नागरिकलाई राज्यले अहिलेसम्म उपेक्षा गरेको छ ।’
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्ट कैलालीको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयालपाटा अस्पताल र डडेल्धुराको संघीय अस्पताल लगायत सबैलाई विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकिने बताउँछन् ।
सुदूरपश्चिममा हालसम्म चिकित्सा विद्यालय, महाविद्यालय वा प्रतिष्ठान नभएपछि नेपालको पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालयका लागि साँसद भट्टले अभियान सञ्चालन गरेका हुन् ।