–डा. पदमराज कलौनी
नेपाली समाज श्रुति र स्मृतिका आधारमा चलिआएकोले ईश्वरवादमा आधारित छ । स्मृतिग्रन्थहरु देशकाल परिस्थिति अनुसार परिवर्तन एवं परिमार्जन हुन नसक्दा सामाजिक व्यवस्था यथास्थितिमा छ । पुरातनवादमा जकडिएको समाजिक मूल्य र मान्यताहरु परिवर्तनमा तगारो बनिरहेको छन् ।ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद कमैले पढेका होलान् । ब्रह्म सुत्र, उपनिषद, पूराण, महाभारत र रामायणको मनचाही अर्थ अर्थ्याएर वृति गर्नेको संख्या उल्लेख्य छ । हिन्दू धर्मका मूलसिद्धान्तहरु व्यवहारमा कम देखिन्छन् । ब्रह्म नै सत्य हो भन्ने तर ब्रह्मको गुड अर्थमा जान नसक्दा बेलाबखत अनेकन विवाद जन्मन्छन् । वेदमा ब्रह्माण्ड शक्तिलाई ब्रह्म भनिएको छ । ब्रह्मलाई मानिले ईश्वर, परमात्मा, परमेश्वर, प्रभु, सच्चिदानन्द, विश्वारत्मा, सर्वशक्तिमान, सर्वव्यापक, शिव आदि अनेकन नामले बुझे । ब्रह्मको अर्थ बढ्नु, फैलिनु, विस्तृत हुनु हो । ब्रह्मद्वारा नै सम्पूर्ण विश्व उत्पन्न भएको मानिन्छ । श्रीमदभावत गीता (१८÷४२) मा ब्राह्मणलाई मनको निर्मल, आत्मसंयम, तप गर्ने, आचरण र विचारमा शुद्धता, धैर्य वा सहनशील, सरल, निष्कपट वा ईमानदार, ज्ञान–विज्ञान र जीवन–धर्ममा श्रद्धा राख्नेलाई ब्राह्मण भनिएको छ । यसरी ब्राह्मणलाई ईश्वरवादी, वेदपाठी, ब्रह्मगामी, सरल, एकान्तप्रिय, सत्यवादी, बुद्धिमा दृढ र वेदसम्मत आचरण भएको मान्न सकिन्छ ।
बेलाबखतमा क्षेत्र विशेषमा सामाजिक जातिय द्वन्द्व सृजना हुने गरेका छन् ।कञ्चनपुरमा सामूहिक उत्सव भैरहेको स्थानमा दलितलाई पूजापाठबाट वञ्चित गरियो भनेर अदालतमा मुद्दा परेको छ । जजमानी गर्नेहरुले“ब्राह्मण समाज”को नामले आफु माथि डलरवादीले षडयन्त्र गरे भन्दै सडक प्रदर्शन गरे । छुवाछुतका कारण सामाजिक सदभाव विथोलिने बिकराल रुप सृजना नभए पनि यस घटनाले प्रोहितलाई सच्चिने र दलितलाई भेदभावबाट मुक्ति पाउने अवसर दिएको छ ।
सभ्य समाजमा संस्कार लिनु र दिनु सभ्यताको परिचायक हो । हिन्दूहरुमा गरिने सोह्र संस्कार अहिलेको परिस्थितिमा आवश्यक होलान् नहोलान् तर कसैले संस्कार गर्न चाहेमा उसको अधिकार सुरक्षित हुनु पर्छ । इच्छुकलाई संस्कार दिनु गुरुहरुको परमकर्तव्य हो । ब्राह्मण समाज गठन गरिएको सन्दर्भलाई सबेले सकरात्मक कदमका लिनु जरुरी छ । एउटा ब्राह्मण वा प्रोहितले समाज परिवर्तनमा भूमिका खेले पनि आफ्ना समूदायबाट बहिस्करणमा पर्ने खतरा रहन्छ । अब समाजको कार्यदिशा, लक्ष्य र योजनामा सामाजिककलङ्कको रुपमा स्थापित छुवाछुत, अन्धविश्वास, कुरुति, कुप्रथालाई हटाउन सामूहिक छलफलद्वारा कार्यान्वयन गर्ने अभिभारा लिनु पर्छ । अछुत भनिने दलितलाईउपयुक्त धर्मसंगत संस्कार गरी अछुतबाट मुक्त गर्ने उपायका बारेमा सोच्नु पर्छ भन्ने आशय पङ्तिकारको हो । सायद ब्राह्मणहरु संगठित भएको पहिलो घटना हो । यसलाई दीगो रुप दिएर हिन्दू धर्ममा स्थापित रहेका अनेकन कुप्रथालाई हटाउने प्रयास गरिनु आवश्यक छ । अनि मात्र ब्राह्मण समाजको औचित्य सावित हुन्छ । हिन्दू धर्ममा अछुत मानिने जातक, सुतक, महिवारी आदिबाट मुक्त हुन संस्कार गरिन्छन् भने दलितलाई छोइछिटोबाट मुक्ति दिने धार्मिक विधि, प्रविधि र उपायको खोजि गरौं । भूगोल विशेषका वृति गर्ने ब्राह्मण समूदायको भेला आव्हान गरी अविलम्ब व्यवहारिक रुप दिनु आवश्यक छ ।सामाजिक कलङ्कलाई मेटाउने दिशामा समाजले प्रगतिशील निर्णय गरोस् । निर्वाचनलाई मध्यनजर गरी धमिलो पानीमा माछा मार्ने प्रयासलाई गरुहरुले निस्तेज गर्नु जरुरी छ । समस्यालाई समास्याको रुपमा थाँती राख्नु भन्दा समाधान गर्ने पहल गरौं । संस्कृतिको स्थानान्तरण, पुस्तान्तरण र सामाजीकरणमा गुरुको भूमिकालाई समय सापेक्ष बनाउनु जरुरी छ ।
सामाजिक दृष्ट्रिकोणले संस्कृतिका दुईवटा शाखा (भौतिक र अभौतिक) मध्ये सबैभन्दा व्यवहारगत समस्या उत्पन्न अभौतिकमा छ । भौतिक संस्कृतिले तीब्रत्तम एवं चमत्कारिकविकासको फल छुत–अछुत सबैले पाएका छन् । अभौतिक संस्कृति मानव सभ्यताभन्दा धेरै पछाडि घस्रिदै आइरहेको छ । सामाजिक अन्धविश्वास र रूढीवादमा अल्झेको अभौतिक संस्कृतिले अनेकन भेदभाद विद्यमान छन, जसलाई हटाउन सकिन्छ । हिन्दू समाजलाई परिचालन गर्न, व्याख्या विश्लेषण गर्ने अधिकार पण्डित वा गुरुहरुमा सीमित निहित भए पनि सामाजिक व्यवस्थामा देखापरेको बाधाअडकाउ फुकाउने उपायको खोजि गर्न सकिन्छ ।
छुवाछुत गर्नु हुन्न सबैको मुखबाट सुनिन्छ र पनि छुवाछुत कायम छ । कानुन बनाइएको छ छुवाछुत यथावत छ । जबसम्म सांस्कृतिक रुपमा अछुतलाई संस्कारमा सहभागिता गराइदैन तबसम्म छुवाछुत मेटिन सक्दैन् । अछुतलाई सम्बोधन गर्न अहिले पनि नयाँ–नयाँ शब्दहरु प्रयोग भइरहेका छन् । एशियामा दलित र यूरोपमा कैगोट्सहरु अहिले पनि अछुतका शिकार भएका छन् । भारतमा छुवाछुत मेटाउन अनेकन आन्दोलन भएका थिए । सामाजिक आन्दोलनको नेतृत्व विनोबा भावे, बी.आर. अम्बेडकर र महात्मा गान्धीले गरेका थिए । भारतमा पनि समस्या जीवन्त छ । समाजमा स्थापित रहेका सामाजिक कलङ्कहरु सती प्रथाबाहेक बहुविवाह, बाल विवाह, छुवाछुत, देउकी प्रथा (अवशेष बाँकी)र अशिक्षा अहिलेसम्म जीवन्त छ । जातिय भेदभावका बिरुद्ध भीमदत्त पन्तले गरेको सामाजिक आन्दोलनबाट प्रेरणा लिनु आवश्यक छ । दलितहरुले जति कराए पनि जबसम्म ब्राह्मण, क्षत्री र वैश्यले छुवाछुत हटाउने अठोट गर्दैनन् तबसम्म कलङ्क मेटिदैन् । हिन्दू धार्मिक र सामाजिक मान्यता अनुसार ब्राह्मणले पूजापाठ गर्ने, गुरुको भूमिका निभाउने, विद्वानको रुपमा स्थान पाउने लगायत कर्मकाण्ड (वृति)मा संलग्न हुँदै आएको नाताले सामाजिक भेदभाव एवं बिकृतिका बिरुद्ध नेतृत्व लिनु पर्दछ ।
हिन्दू धर्ममा संस्कारको महत्व– सनातन धर्ममा संस्कारको विशेष महत्व छ । संस्कारले शरीर, मन र मस्तिष्कको शुद्धिकरण गर्दछ भन्ने मान्यता छ । संस्कारितलाई शक्तिशाली मानिन्छ । कार्य–व्यवहार, आचरणले मानिसको संस्कार देखिन्छ । संस्कारको अभावमा मानिस समाजमा अपूर्ण मानिन्छ । जन्मभन्दा पहिले हुने संस्कार–गर्भाधान, पुंसवन (भ्रुणको रक्षार्थ गरिने प्रतिज्ञा) र सीमंतोनयन (गर्भको शुद्धिकरण) संस्कार अहिले गरिदैन् । संस्कारहरु भौगोलिक आधारमा फरक–फरक हुन सक्छन् । दलितलाई अपूर्णतामा राखेर हिन्दू धर्म कसरी पूर्ण हुन सक्छ ? मनन चिन्तन गरौं । चारपाङ्ग्रे रथको एउटा पाङ्ग्रो खोलेर फालेर सिङ्गो हिन्दू अगाडि बढ्न सक्दैन् ।
हिन्दू वर्ण व्यवस्था– हिन्दू धर्ममा आधारित जात व्यवस्था (ब्राह्मण, क्षत्री, वैश्य र शूद्र) मा ब्राह्मणलाई गुरुको स्थान दिएको छ । व्यवहारमा ब्राह्मणले अछुतको सोह्र संस्कार गर्ने अधिकारबाट वञ्चित गरिएको देखिन्छ । अहिले सनातनी परम्परागत धार्मिक राज्य नभए पनि समस्या यथावत छ । हिन्दू धर्मको नाममा गरिएको बाध्यात्मक व्यवस्थाले दलितलाई शारीरिक र मानसिक दास बनाएको छ । आधुनिक युग दासताबाट मुक्तिको युग हो । हिन्दू धर्म भित्र दासताको जीवन बाँच्नु भन्दा स्वतन्त्रतापूर्वक धर्म परिवर्तन (धर्मान्तरण) गर्ने गरेका उदाहरण प्रसस्त छन् । आफ्नै धर्मको क्षयीकरण हुँदा हिन्दूवादी कसरी रमाई रहेका छन् ? धर्म सनातनी हुँदा–हुँदै अवसर अनुसार मनपरी व्याख्या गर्नाले धर्मलाई अमानवीय बनाइदै छ । हिन्दूवादी संघसंगठन र हिन्दूका गुरुहरुले समयमा सोच्नु आवश्यक छ । सबै जातजाति स्वाभीमानीपूर्वक आफ्ना पूर्वजको सनातन धर्ममा बाँच्न पाउने अधिकार सुरक्षित गर्नु पर्दछ ।
धर्म परिवर्तनको पीडा– सदियौंदेखि पैतृक धर्म र समाजमा बसेका दलित बाध्य भएर आत्मसम्मान, सुसंस्कृत मानव बन्न, समूहमा बस्न, सुरक्षित हुन, धार्मिक स्वतन्त्रताको उपभोग गर्दै धर्म परिवर्तन गरिरहेका छन् । दलितहरुका अनुसार धर्म परिवर्तन बाध्यता भएको स्वीकार्छन् । धर्म संस्कृतिसँग गाँसिएको हुँदा मातृभाषा र मातृधर्मको पहिचान समेत गुम्न थालेकोमा चिन्ता गर्छन् । धर्म परिवर्तनलाई आर्थिक प्रलोभनको दृष्ट्रिले पनि हेरिन्छ । जे होस धर्म परिवर्तनको प्रमुखकारण सामाजिक विभेद हो । हिन्दू भएर पनि दलितले सार्वजनिक संस्कारमा सहभागि हुन पाउदैनन् ।
हिन्दू धर्ममा गुरुको महत्व– गुरुको महिमा सबै धर्ममा हुन्छ । हिन्दू धर्मलेगुरुलाई भगवानको दर्जा दिएको छ । गुरुलाई सबैले सम्मान गर्छन् । व्यक्तिको पहिलो गुरु आमा–बुवा हुन्छन् । दोस्रो गुरु शिक्षक मानिन्छ । जीवन निर्वाहको क्रममा अनेकन गुरु आउछन्–जान्छन् । गुरु संरक्षक, मार्गदर्शक, विशेषज्ञ, परामर्शदाता आदिको भूमिका निभाउछ । गुरुलाईअन्धकार हटाएर उज्यालो ल्याउने व्यक्ति मानिन्छ । गुरुले शिष्यको अन्धकारमय जीवनलाई प्रकाशतर्फ लैजाने शक्ति प्रदान गर्छ । गुरुले दिएको ज्ञानको आधारमा जीवन निर्वाह हुन्छ । गुरु मन्त्रले संघर्ष गर्न सिकाउछ । गुरुआध्यात्मिक जीवनमा मात्र होइनन् गृहस्थ जीवनलाई पनि मार्गदर्शन गर्छन् । राम्रो नराम्रो छुट्याउने शक्ति प्रदान गर्छन् ।हिन्दू धर्ममा गुरुलाई साक्षत ब्रह्मा, विष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ ।गुरुलाई सामान्य जनमानस भन्दा माथिल्लो श्रेणीको मानव सम्झेर श्रद्धा र भक्तिले सम्मान गरिन्छ । अतः गुरुवर्गबाट जातिय विभेद गर्नु उचित नभएकोले चाँडो भन्दा चाँडो ब्राह्मण समाजले आवश्यक कदम चालोस् ।
हिन्दू धर्ममा कर्मको महत्व– श्रीमद्भागत गीतामा “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” भनिएको छ । कर्ममा निरन्तर लागिरहन प्रेरणा दिइएको छ । हिन्दू धर्ममा कर्मको अवधारणा अन्तर्गत कर्मलाई हितकर र हानिकारक गरी दुई भागमा विभक्त गरिएको पाइन्छ । कार्य–कारण सिद्धान्त भौतिक संसारमा मात्र लागु नभएर मानिसको विचार, शब्द र कार्यमा लागु हुन्छ । पुनर्जन्ममा विश्वास राख्ने हुँदा असल कर्म गर्ने प्रेरणा पाइन्छ । मानिसले गर्ने कर्मलाई चार भागमा विभक्त गरिएको छ । विचारको माध्यम, शब्दको माध्यम, क्रियाको माध्यमले व्यक्ति स्वयंले गर्ने र क्रियाको माध्यमले अर्काको निर्देशनमा गरिने कार्य ।
प्राचीनकालमा जो सुकै जात र समाजका मानिस ब्राह्मण हुन सक्थे । ब्राह्मण हुने अधिकार अहिले पनि छ । ब्राह्मण हुनकेही नियमको पालना गर्नु पर्ने हुन्छ । अहिले ब्राह्मण कर्म छोडेर अन्य कर्म अपनाउदा पनि ब्राह्मण भइरहेका छन् । हिन्दू शास्त्रमा कर्मको फललाई तीन प्रकारले विभाजित गरिएको पाइन्छ । पहिलो वर्गमा संचित कर्म पर्दछ । संचित कर्मलाई अनुभव गर्न नसकिने भएकोले फलको आशा गरिदैन् । दोस्रोमा प्रारब्धको फल पर्दछ । यसलाई संचित कर्मको हिस्सा मानिन्छ । यसले मानिसको जीवनमा विशेष समस्या प्रकट गर्दछ । तेस्रोमा क्रियमाण पर्दछ । वर्तमानमा गरिने कर्मलाई क्रियमाण भनिन्छ । यसले मानिसको जीवनलाईप्रवाहित गर्ने भएकोले भविष्यको आकार ग्रहण गर्दछ । वर्तमानमा जे गर्छौ त्यसको फल भविष्यमा पाइन्छ । वर्तमानको कर्मले भावी जीवनलाई तय गर्दछ ।
गुरुको कर्तब्य– गुरु सामाजिक अभियन्ता पनि हुन् । समाजका प्रवक्ता र भविष्यद्रष्टा हुन् । समाजलाई उन्नति र प्रगति तर्फ डोर्यााउने नेतृत्व प्रदान गर्छन् । साधना सिक्नु साधकहरुको कर्म हो भने सिकाउनु गुरुको कर्तब्य हो । अनि मात्र समाज र राष्ट्रको रक्षा हुन्छ । समाजलाई जागृत गराउनु गुरुको कर्तब्य हुन्छ । हिन्दूहरुका आर्य चाणक्य, समर्थ रामदास स्वामी आदिको आदर्शलाई अहिलेसम्म उदाहरणको रुपमा लिइन्छ । समयको आवश्यकतालाई बुझेर आफ्नो कर्तब्यलाई हिन्दूका प्रवर्तक (गुरु) ले नेपाली समाज र राष्ट्रको विकासमा केन्द्रित गर्नु पर्दछ । कट्टरपन्थी अबुझ हिन्दूवादीका कारणले समाज बिखन्डनकारी हुने खतरा बढेको छ । गुरुहरुको भूमिका द्वन्द्वको समाधान गरी सकरात्मक दिशाउन्मुख हुनु आवश्यक छ ।
आधुनिक युगमा चाणक्य, राम, कृष्ण आदिको उदाहरण दिएर समाजको मुख बन्द गर्न सकिदैन् । समाजले तथ्य र प्रमाण खोज्छ । भौतिकवादका कट्टर महान नेता भनिनेहरुले धर्मलाई“अफिम” भनेर सिकाए पनि राजकीय सत्ता प्राप्तिमा हिन्दू परम्पराअनुसार राजकाजको शुभारम्भ गर्नाले पनि धर्म छोड्न नसकिदो रहेछ भन्ने पुष्टि गरेको छ । नेपाली हिन्दू समाजमा राजनीतिक संक्रमणले पनि धेरै बिकृति जन्माएको छ । बिकृतिका जनक नेता पनि हुन् । जजमानी गर्ने गुरु भनिनेहरु वृत्तिमा लिप्त छन् । वृतिको सम्बन्ध कहीँ न कहीँ सामूदायिक सरोकारसँग हुन्छ । जीवननिर्वाहको क्रममा वृति पूर्व निश्चित व्यवसाय भएकोले परम्परागत चलिआएको स्थायी सम्बन्धका बिरुद्ध कसरी जाने भन्ने द्विविधा हुन सक्छ, त्यसकारणले माथि भनिएझैँ ब्राह्मण समाजको आडमा भेला आयोजन गरी दलितलाई संस्कारयुक्त बनाएर छुतबाट दोषमुक्त गर्ने अभिभारा बहन गरौं । सामाजिक पारस्परिक सम्बन्धलाई कायम गर्न कर्तब्यबोध र अधिकारको प्रयोग गरौं ।
निष्कर्ष– छुवाछुत र जाति व्यवस्थालाई हटाउन जनताले लामो राजनीतिक संघर्ष गरेका छन् । फलस्वरुप संघीय गणतन्त्रको स्थापना भएको छ । अतीतको तुलनामा विभिन्न रूपहरु प्रबल रुपमा फेरिदै छन् । कानुनी प्रावधान भन्दा भेदभाव हटाउन सामाजिक अभ्यास अनिवार्य हुन्छ । संघीय लोकतन्त्रले आरक्षणको व्यवस्था, निःशुल्क शिक्षा, सरकारी नोकरीमा आरक्षण, सरकारका तीनैअङ्गमा प्रतिनिधित्व सुनिश्चित गरे पनि विभेदको अन्त्य भएको छैन् । जातिय विभेद हटाउने पथमा हालसालै कञ्चनपुरमा घटेको घटनाबाट पाठ सिकेर दलितलाई हिन्दू संस्कार दिई सहिष्णुता र त्यागको परिचय दिनु आवश्यक छ । कानूनको दृष्ट्रिमा कोही साना ठूला हुँदैनन् तर पनि व्यवहारमा गरिने ठूलो सानो, छुत–अछुतको व्यवहारलाई हटाउनु आवश्यक छ । सामाजिक समानताका लागि व्यक्तिगत होइन कि ब्राह्मण समाजले विशेष भेलाको आयोजना गरी दलितलाई यथोचित संस्कार गरिनु पर्छ । प्रत्येक किसिमका नस्ल, रङ्ग, जाति र भौतिक सुविधाको आधारमा हुने गरेका भेदभाव र प्रभुत्व हटाउनु समाजको योगदान आवश्यक छ । समयको गतिलाई बुझेर भावी दिनमा निम्तिने जटील समस्याबाट समयमै समाजले संवेदनशीलहुनु पर्छ । छुवाछुतको मुद्दालाई उदारतापूर्वक समाधान गरिनु पर्छ । समाजलाई शान्तिपूर्ण, एकताबद्ध र सद्भावका साथ विविधतामा एकता कायम गर्दै शक्तिशाली समाजको निर्माणमा समाजका सदस्यहरु एकाकार हुन सकुन् शुभकामना ।