महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ र ३ मा काँग्रेसका भाग परेपछि नेता दिवान सिह विष्ट मौनता देखाएका छन् । उनी कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि लबिङ्ग गर्न काठमाडौंमा बसेका छन् ।
काँग्रेस क्षेत्रीय समितिबाट एकल सिफारिश भएर जिल्ला हुँदै प्रदेशबाट काँग्रेस केन्द्रीय समितिमा नाम पुगेका विष्टले अझै टिकट पाउने आश राखेका छन् । सत्तारुढ गठबन्धनको भागबण्डाको औपचारिक निर्णय बाहिर नआएकाले उनी अझै आफूले टिकट पाउनेमा आशावादी छन् ।
‘त्यो भागबण्डाको निर्णय गरिएको बाहिर आएको छैन, अझै पनि केही भन्न यही हुन्छ भनेर भन्न सकिदैन’ उनले भने,‘भागबण्डाको निर्णय बाहिर आएपछि मात्रै म बोल्छु, त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय लिन्छु ।’
काँग्रेस नेता विष्टले प्रतिनिधि सभा सदस्यको टिकटका लागि काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवासम्म भेटेर दबाव दिएका छन् । देउवाले भने उनलाई प्रदेश सभा सदस्य चुनाव लड्न सुझाव दिएको काँग्रेसका नेताहरु बताउँछन् ।
नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले विष्टलाई फकाउन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउनेसम्म आश्वासन दिएका छन् । काँग्रेस संस्थापन इतरका भएकाले उनी देउवाको आश्वासनमा ढुक्क हुन सकेका छैनन् ।
प्रधानमन्त्री देउवालाई भेटेपछि भने नेता विष्ट मौन बसेको नेताहरुको भनाई छ । त्यस अघि भने देउवाले निर्वाचन क्षेत्र नं. १ कुनै पनि हालतमा अन्य दललाई नदिने अडान राख्दै आएका थिए । काठमाडौं जान अघि उनले काँग्रेस क्षेत्रीय समितिबाट गठबन्धन नगर्ने निर्णय गराएका थिए ।
सत्तारुढ गठबन्धनमा निर्वाचन क्षेत्र नं. १ माओवादी केन्दलाई दिएर अन्य दुई क्षेत्र काँग्रेसले लिएको छ । निर्वाचन क्षेत्र नं. १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर फेरि साँसदको उम्मेदवार भएकी छन् । मगर यस अघि २०७४ मा विष्टलाई हराउँदै साँसद निर्वाचित भएकी हुन् ।
त्यस अघि २०७० मा भने विष्टले मगरलाई हराएका थिए । साँसद मगर त्यति बेला तेस्रो भएकी थिइन । २०७४ मा एमालेसित गठबन्धन भएपछि उनी विष्टलाई दोब्बर मतले पराजित गरी निर्वाचित भएकी हुन् ।
विष्ट यस पटक अघिल्लो चुनावको हारको बदला लिन विनालाई रोक्न अन्तिमसम्म प्रयासमा छन् । काँग्रेस सभापति देउवाले साथ नदिएपछि उनी हच्किएका छन् । उनीसित प्रदेश सभा सदस्य उम्मेदवार भएर चुनाव लड्ने, चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउने वा विद्रोह गरी उम्मेदवारी दिने मात्रै विकल्प बचेका छन् ।
काँग्रेस नेताहरु नेता विष्ट ती सबै विकल्पमा नगएर प्रदेश सभा सदस्य निर्वाचन लड्ने मनस्थितिमा पुगेको बताउँछन् । माओवादी केन्द्रकी नेता मगर पनि आफूलाई सुरक्षित बनाउन दुबै प्रदेशमा काँग्रेसका उम्मेदवार लडाउन पार्टीलाई दबाव दिएकी छन् ।
दुबै प्रदेशमा काँग्रेस उम्मेदवार नभए आफूलाई अप्ठेरो पर्ने मगरको आशंका छ । माओवादीका अधिकाँश नेता कार्यकर्ताले साथ छाडेका र नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तारका कारण उनी असुरक्षित महसुस गर्न थालेकी छन् ।
अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय रुपमा लागेका धेरै नेताहरु अहिले उनी विरुद्ध लाग्ने भएका छन् । केही नेता मगर विरुद्ध चुनावी मैदानमा हुने सम्भावना पनि देखिएको छ ।
काँग्रेस नेता विष्टलाई प्रदेश सभा ख र क मा आदिवासी जनजाति समुदायका नेतालाई चुनाव लडाउने काँग्रेसको रणनीति पनि छ ।
सत्तारुढ गठबन्धनमा २०७४ को चुनाव जितेका क्षेत्र सम्बन्धित दलले लिने सहमति गरी सीट बाँडफाँट गरिएको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश रावललाई नदिने हल्ला बाहिर आएपछि विष्ट थप आशावादी पनि भएका छन् ।
‘२०७४ मा जुन दलले जहाँ जितेको थियो, त्यहीं दिने भन्ने हो, ती रावलजीको त्यस्तो हल्ला आएपछि १ नम्बरमा पनि फेरिन सक्छ’ उनले भने ।
काँग्रेसमा विष्ट निर्वाचन क्षेत्र नं. १ मा बलिया पकड भएका नेता हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी काँग्रेस संस्थापनको एनपी साउँद समूहसित मिलेका थिए । कञ्चनपुरमा काँग्रेस संस्थापनका एनपी साउँद र रमेश लेखक समूह छन् ।