महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्र प्रकाश रावल र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार सत्तारुढ गठबन्धनबाट आगामी चुनाव लड्न नपाउने भएका छन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचित उनीहरु दुबै यस पटक पनि आ–आफ्नो क्षेत्रमा बलियो दाबेदारका रुपमा हेरिएका छन् । सत्तारुढ गठबन्धनमा सीट बाँडफाँट सहमति हुन नसकेर समाजवादी बाहिरिएपछि उनीहरु दुबैले चुनाव लड्ने सम्भावना सकिएको छ ।
सत्तारुढ गठबन्धनमा समाजवादीको निर्वाचन क्षेत्र नं. ३ क र नेकपा माओवादी केन्द्रले ३ ख मा दावी थियो । गठबन्धनमा ३ क माओवादी र ख काँग्रेसलाई दिने सहमति भएपछि दुबै जना चुनाव लड्न नसक्ने अवस्थामा पुगेका हुन् । यस अघि उनीहरु दुबैले टिकट पाउने निश्चित भएको भन्दै प्रचार गरिएको थियो ।
सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका रमेश लेखकलाई दिएर प्रदेशमा समाजवादी र माओवादी चुनाव लड्न सहमति भएको बाहिर आएको थियो । प्रदेश सभा सदस्यमा रावल र सुनारलाई उम्मेदवार बनाउन लेखक पनि सहमति भएको नेताहरुको भनाई थियो ।
प्रदेश सभा ३ क मा माओवादी नेता टिकेन्द्र प्रसाद भट्टले अन्तिमसम्म दावी नछाडेपछि सत्तारुढ गठबन्धनमा समाजवादी बाहिरिने अवस्था आएको हो । समाजवादीले ३ क नपाउनेभएपछि गठबन्धन छाडेर बाहिरिएको छ । समाजवादीका नेताहरुले गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने बताई सकेका छन् ।
प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवार लेखकले प्रदेश सभामा माओवादी र समाजवादीका उम्मेदवार लडाउन सहमत भएपछि नेता कार्यकर्ताले उनलाई असहज हुने भएकाले त्यसमा पुनःविचार गर्न दबाव दिएका थिए ।
दुबै प्रदेश सभामा काँग्रेसका उम्मेदवार नहुँदा लेखकलाई जित्न अप्ठेरो उनीहरुको सुझाव थियो । त्यसका लागि काँग्रेसभित्र लेखकका किचन क्याबिनेटका नेताहरुले निरन्तर दबाव दिएका थिए । अघिल्लो निर्वाचनमा उच्च आत्म विश्वासका कारण हारेपछि लेखकले अहिले नेता कार्यकर्ताको सल्लाहलाई गम्भीर रुपमा लिने गरेका छन् ।
त्यस अनुसार उनी प्रदेश सभा सदस्य ख मा काँग्रेसका नेता बेल बहादुर रानालाई उम्मेदवार बनाएका छन् । लेखक काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला नेतामा पर्छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख मा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार हुने भएपछि काँग्रेस नेता लेखक थप दबावमा परेका छन् ।
काँग्रेसका महाधिवेश प्रतिनिधि राना अघिल्लो निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुनारसित पराजित भएका थिए ।
पञ्चायतकालदेखिका राजनीतिक सहयात्री राना र सुनार २०६४ पछि अलग भएका हुन् । सुनार २०६४ मा काँग्रेस छाडेर माओवादी भएका थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला नेताका रुपमा हेरिएको छ । प्रचण्डसित सम्बन्धका कारण सुनारले टिकट पाउने सम्भावना बलियो थियो ।
समाजवादी बाहिरिएपछि प्रतिनिधि सभा र प्रदेश सभाका सबै ९ सीटमा सत्तारुढ काँग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भागबण्डा गरी चुनाव लड्न लागेका छन् ।
नेकपा एकीकृत समाजवादीका कञ्चनपुर उप सचिव राजेन्द्र पाण्डेयले सत्तारुढ गठबन्धनमा सीट बाँडफाँटको अन्तिम निर्णय बाहिर नआएकाले औपचारिक रुपमा समाजवादी बाहिरिएको भन्न नमिल्ने बताए । ‘हिजोसम्म एक खालको कुरा थियो, आज अर्कै भाको छ, परिस्थिति यही हुन्छ भन्न सकिने अवस्था छैन’ उनले भने,‘बाहिर आए जस्तो पनि हुन सक्छ, त्यसो भए सबै क्षेत्रमा उम्मेदवार खडा गर्छौ ।’
सत्तारुढ गठबन्धनमा यस अघि प्रतिनिधि सभा र प्रदेश सभाका ९ सीटमध्ये ५ काँग्रेसलाई दिएर अन्य चारमा समाजवादी र माओवादीलाई दिने सहमति भएको थियो । ती दलबीच समाजवादीलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क दिनेमा नेताहरु अन्तिसम्म सहमत भएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता लोकराज जोशीले सत्तारुढ गठबन्धनमा काँग्रेस र माओवादीबीच तालमेल गरी चुनाव लड्ने गरी सीट भागबण्डा भएको बताए । ‘अब प्रतिनिधि सभाका तीनमध्ये क्षेत्र नं. १ मा माओवादी लड्छ, प्रदेश सभाका तीन सीटमा माओवादी लड्छ’ उनले भने ।
स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि अन्तिमसम्म प्रयास गरिएका थिए । काँग्रेससित सीट बाँडफाँटमा सहमति हुन सनेकपछि माओवादी र समाजवादी तालमेल गरी चुनाव लडेका थिए । अहिले संसदीय निर्वाचनमा समाजवादीलाई बाहिर राखेर काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् ।