पाँच वर्षमा केही गर्न नसकेको भन्दै प्रतिस्पर्धीको निशानामा परिन् पूर्व मन्त्री मगर, एमाले उम्मेदवार तामाङ्ग भन्छन्– अघिल्लो घोषणा पत्र अनुसार एउटा काम पनि काम हुन सकेन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका सत्ता गठबन्धनका उम्मेदवार विना मगर केही गर्न नसकेको भन्दै प्रतिस्पर्धीको निशानामा परेकी छन् । अघिल्लो निर्वाचनमा संसद निर्वाचित भएकी उनी फेरि चुनावी मैदानमा आएपछि पाँच वर्षमा कुनै पनि काम गर्न नसकेको भन्दै आलोचनामा परेकी छन् ।

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तारालामा तामाङ्गले अघिल्लो निर्वाचनको चुनावी घोषणा पत्र अनुसार मगरले कुनै पनि काम गर्न नसकेको बताए । ‘अघिल्लो चुनावको घोषणा पत्र हेर्नु होला, एउटा पनि काम हुन सकेको छैन’ बेलौरी नगरपालिका ६ भुराकोटमा आयोजित एमालेको चुनावी कार्यक्रममा उनले भने,‘झन त्यति बेला तीन ओटै सरकार नेकपाको थियो, काम गरे त सकिन्थ्यो नि ।’

janjyoti campus

अघिल्लो निर्वाचनमा सत्ता गठबन्धकी उम्मेदवार मगर तत्कालिन वाम गठबन्धनबाट संसदमा निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रका नेता मगर संसदमा निर्वाचित भएपछि साढे तीन वर्ष खानेपानी तथा सरसफाई मन्त्री भएकी थिइन् ।

एमाले उम्मेदवार तामाङ्गले मन्त्री भएर पनि दक्षिणी क्षेत्रको विकासका लागि केही गर्न नसकेको आरोप लगाए । ‘वहाँ साढे तीन वर्ष मन्त्री भएर बस्नु भयो, यो ठाउँका लागि हेर्दा केही गरेन, बजेट पनि बढी नै थियो, प्रदेशमा २५ अर्ब थियो, वहाँको मन्त्रालयमा ४३ अर्ब थियो, गर्न चाहेको भए त हुन्थ्यो’ उनले भने,‘फेरि पनि वहाँले नै जित्यो भने हामी यो क्षेत्र नै पछि पर्छ ।’

मन्त्री भएर पदमा हुँदा भन्सार कार्यालय सञ्चालनमा ल्याउन नसकेकी उनले फेरि चुनावमा त्यसैलाई एजेण्डा बनाएर भोट माग्न थालेकोमा तामाङ्गले असन्तुष्टि पोखे । ‘अहिले फेरि भन्सार चलाउने कुरा गर्दै हुनु हुन्छ, साँसद र मन्त्री हुँदा बनाउन सक्नु भएन’ उनले भने,‘पदमा हुँदा बनाउन नसक्नेले अब कसरी बनाउन सक्नु हुन्छ, अब बनाउने के ।’

सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्री हुँदा आफूले दक्षिणी क्षेत्रमा २३ अर्ब विकास बजेट विनियोजन गरी योजना सञ्चालन गरेको उल्लेख गर्दै बेलौरी भन्सार सञ्चालनका लागि सक्रिय रुपमा पहल गर्नेमा जोड दिए ।

तामाङ्गले आफू निर्वाचित भएपछि दक्षिणी क्षेत्रका समस्या समाधानका लागि सक्रिय रुपमा लाग्ने प्रतिवद्धता गरी दोधारा नदी नियन्त्रण र उपचार नपाएर अकाल ज्यान गुमाउनु पर्ने अवस्था अन्त्यको एजेण्डा लिएर चुनावी मैदानमा आएको बताए ।

‘यस क्षेत्रमा धेरै समस्या छ, विकास निर्माणका कार्य गर्नु पर्ने छन्, त्यसमा पनि म दोदा नदीको ठूलो समस्या छ, उपचार नपाएर अकाल मृत्यु हुनु पर्ने अवस्था छ’ उनले भने,‘यस अवस्था अन्त्यका लागि केही न केही काम गर्छु ।’

चुनावी अभियानमा जनताले आफूसित पूर्व मन्त्री मगरले फोन समेत रिसिभ नगरेको दुखेसो पोखेको उल्लेख गर्दै पदमा हुँदा चुपचाप बसेर अन्याय गरेको बताए ।

‘फोन उठाएन भन्नु हुन्छ, काम गरेर फोन नउठाँदा पनि ठिकै थियो, फोन नउठाएर नि काम त केही भएन’ उनले भने,‘पद भएर चुपचाप बस्ने, पद गुमेपछि यो गर्छौ, त्यो गर्छौ भनेर केही हुन्छ र ?’

एमाले उम्मेदवार तामाङ्गले क्षेत्र नं. १ बाट मगर चुनाव हारे यस क्षेत्रमा बस्न नबस्ने टुङ्गो नभएको बताए । ‘यस क्षेत्रबाट जितेर त यस्तो गर्नु भयो, हारेपछि त यहाँ बस्नु हुन्छ कि हुन्न, यही नै टुङ्गो छैन’ उनले भने ।

यस्तो थियो मगरको अघिल्लो निर्वाचनको घोषणा पत्र

आदरणीय जनसमुदाय,
नेपाली जनताका प्रतिनिधिहरुद्वारा आफ्नो संविधान आफै बनाएर संक्रमणकालको अन्त्यसँगै समृद्धिको बाटोमा अघि बढ्ने प्रक्रिया अन्तर्गत हामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको संघारमा छौं । यो ऐतिहासिक अवसरमा यहाँहरु सबैको सक्रिय सहभागिता भई महान परिवर्तनको अवसरको स्वामित्व ग्रहण गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।
निर्वाचनपछि नेपाल नयाँ युगमा प्रवेश गर्ने हामी सबैको आकांक्षा र अपेक्षा रहेको छ । सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माणसँगै संविधानले दिशाबोध गरेको समाजावादउन्मुख राज्यव्यवस्थाको निर्माणतर्फ मुलुक अघि बढेको छ । यही मूल मर्मलाई आत्मसात गरेर मुलुकका सबै वामपन्थी शक्तिहरु एउटै मियोमा समाहित भएका छन् । यो हाम्रा लागि झन गर्वको कुरा हो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही सपना पुरा गर्न शुरु भएको एकताको प्रकिया र चुनावी तालमेल अगाडि बढेको यहाँलाई अवगत नै छ । यही तालमेल अन्तर्गत कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ बाट राजनीतिक जीवन शुरु गरी आम जनताको जीविकोपार्जन र रुपान्तरणको कठोर संघर्ष गर्दै अघि बढ्नुभएकी कमरेड बिना मगर हाम्रो साझा उम्मेद्वारका रुपमा रहनु भएको छ ।
संविधान सभाको निर्वाचन २०७० मा झिनो मतले पराजित हुनुभएपनि यस क्षेत्रको समग्र विकासका लागि बिना मगर निरन्तर समर्पित रहँदै आउनु भएको छ । प्रतिकूल परिस्थितिमा पनि कञ्चनपुर जिल्ला र क्षेत्र नं. १ का सबै गाउँ बस्ती, वडा, टोल, नगरक्षेत्र र जनताको समृद्धि र विकासका लागि वहाँले खेलेको भूमिका कसैभन्दा कम्ती नभएको यहाँहरुले मूल्यांकन गरिसक्नु भएको छ ।
आदरणीय जनसमुदाय,
पार्टीगत र व्यक्तिगत पहलबाट भए गरेका यी कामहरु यो क्षेत्रको समग्र विकासका लागि केही पनि होइनन् । हाम्रो पार्टीले कञ्चनपुर जिल्लाको यो क्षेत्रलाई एउटा नमूना औद्यौगिक क्षेत्रका रुपमा विकास गर्नु जरुरी छ । यस क्षेत्रको समृद्धिका लागि दीर्घकालिन र दीगो प्रकृतिका कार्यक्रम तथा योजनाहरु आवश्यक छन् ।
अहिले हामी फेरी निर्वाचनको संघारमा छौं । निर्वाचनमा हाम्रो पार्टी विजय भएपनि या नभएपनि हामीले यो क्षेत्रको विकासका लागि विगतमा झैं निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । हामीले यो क्षेत्रका बारेमा अगाडि सारेका योजना तथा समृद्धिको खाका यहाँ प्रस्तुत गर्न चाहन्छौं ।
(क) सीमा व्यवस्थापन र सुरक्षाको प्रत्याभूति
१. हामी भारतसँग जोडिएको सीमाक्षेत्रका कारण बारम्बार असुरक्षा झेल्दै आएका छौं । गत वर्ष पुनर्वासको आनन्द बजारमा हामीले क. गोविन्द गौतमलाई गुमाउनु पर्यो । सीमाको समस्या समाधान गर्न केन्द्रीय र जिल्लास्तरबाट घनिभूत पहलको आवश्यकता रहेकोले यस विषयमा गम्भीर ढंगले पहल गरिने छ । नेपाली जनताले निर्वाधरुपमा आफ्नो घरबस्तीमा बाँच्न पाउने अवस्था सिर्जना गर्न सीमावर्ती भारतीय क्षेत्रका राजनीीतक पार्टी, सांसद, राजनीतिज्ञ र परराष्ट्र मन्त्रालयमार्फत स्थायी हल खोज्न पहल गरिने छ ।
(ख) औद्यौगिक क्षेत्रको विकास र रोजगारी सिर्जना
२. भारतसँग सीमाना जोडिएको छोटी नाका भन्सार बेलौरी र पुनर्वासमा खोलिने छ । यसका साथै यस क्षेत्रमा सुक्खा बन्दरगाह (ड्राई पोर्ट) निर्माणको सम्भाव्यता अध्ययन गरी केन्द्रीयस्तरबाट आवश्यक पहल गरिने छ ।
३. क्षेत्र नं. १ का स्थानीय तहहरुमा सम्भाव्यता अध्ययन गरी विशेष औद्यौगिक क्षेत्रको निर्माणका लागि गुरुयोजना तयार पारिने छ । उक्त गुरुयोजनाका आधारमा औद्यौगिक क्षेत्र निर्माणका लागि पहल गरिने छ ।
४. यस औद्यौगिक क्षेत्रमा कृषिजन्य उत्पादनहरु (उखु, खाद्यान्न, पशु, नगदेबाली, तरकारीलगायत), निर्माण, फलाम, कच्चा पदार्थको उत्पादन, काठ उद्योग, यातायात आदि उद्योगहरुको विकास गरिने छ । यसबाट यो क्षेत्रमा आगामी १० वर्षमा कम्तिमा २० हजार जनताले प्रत्यक्ष रोजगारी पाउने अवसरको सिर्जना गरिने छ ।
४. स्थानीय थारु तथा राना समुदायले परम्परागत सीप र ज्ञान प्रयोग गर्दै आएका बिभिन्न उत्पादनहरुको संगठित र औद्यौगिक उत्पादनका लागि सीप तथा क्षमता अभिवृद्धि गर्ने र लघु उद्यमहरुको विकास गर्ने विशेष योजना निर्माण गरी लागु गरिने छ । यसका लागि केन्द्रीय तहबाट राष्ट्रिय योजना तथा कार्यक्रम निर्माणका लागि पहल गरिने छ ।
५. हाल सञ्चालित उद्योग तथा कार्यरत मजदूरहरुले भोग्नु परेका समस्याहरुलाई दीर्घकालिन ढंगले समाधान गर्न विशेष पहल गरिने छ ।
(ग) प्राविधिक शिक्षा र सामुदायिक शिक्षाको केन्द्र
६. क्षेत्र नं. मा कृषि तथा बाली विज्ञानको अद्यापनका लागि कृषि क्याम्पसको स्थापना गरिने छ ।
७. क्षेत्र नं. १ अन्तर्गत स्थानीय तहहरुसँग समन्वय गरी यस क्षेत्रबाट प्राविधिक जनशक्ति उत्पादन गर्न नर्सिङ, इन्जिनियरिङ, नापीलगायतका विषय पढाउन सक्ने गरी सामुदायिक शिक्षालयको स्थापनाका लागि पहल गरिने छ ।
८. हाल रहेका सबै सामुदायिक विद्यालयहरुको थप स्तरोन्नती, शिक्षकहरुको व्यवस्थापन तथा पाठ्य सामग्रीको समस्या अन्त्य गर्न स्थानीय तहहरुसँग समन्वय गरी पहल गरिने छ । सबै सामुदायिक स्कूलहरुमा कम्प्यूटर ल्याबको स्थापना गरिने छ ।
९. नीजि तथा सामुदायिक विद्यालयहरुबीच शिक्षाको गुणस्तरामा देखिएको अन्तर अन्त्य गर्न सामुदायिक विद्यालयहरुको स्तर बृद्धि गरिने छ । सबै स्कूलहरुमा नेपाली र अंग्रेजी दुबै भाषामा पठनपाठन गराइने व्यवस्था गरिने छ ।
१०. क्षेत्र नं. १ का ४ वटा स्थानीय तहबाट एक एक विद्यालयको छनौट गरी नमूना विद्यालय बनाइने छ ।
११. गरीब, जेहेन्दार तथा सीमांतीकृत, शहीद, अपाङग, घाइते परिवारबाट उच्च शिक्षा पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि कोष स्थापना गरिने छ ।
(घ) गुणस्तरीय स्वास्थ्य केन्द्रको रुपमा क्षेत्र नं. १ लाई विकास गरिने
१२. क्षेत्र नं. १ का जनतालाई प्रत्यक्ष लाभ हुने गरी बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य उपचार केन्द्रलाई विशेषज्ञ चिकित्सक सेवासहितको अस्पतालमा रुपान्तरण गरिने छ ।
१३. सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा दक्ष चिकित्सक, एक्सरे मेसिन, रगत परीक्षण, बिभिन्न रोगहरुको परीक्षण (पाठेघरको क्यान्सर, थाइराइड, सिकलेस आदिको पहिचान परीक्षण)को सुविधालगायका सेवा पुर्याइने छ ।
१४. क्यान्सर, स्पाइनल, पाठेघर खस्नेलगायतका विशेष प्रकृतिका रोगहरुको उपचारका लागि आर्थिक अभाव हुन नदिन स्थानीय तहसँग समन्वय गरी एकीकृत स्वास्थ्य उपचार कोषको स्थापना गरिने छ ।
१५. आमा शिशुको स्वास्थ्यमा गुणस्तरीय सुधार गर्न आमा समूहहरुको परिचालनमार्फत विशेष योजना अगाडि सारी कार्यक्रम लागु गरिने छ ।
(ङ) महिला, विपन्न, असहाय, किसान, गरीब, सीमान्तीकृत जनताका लागि विशेष योजना
१६. बिभिन्न वडा र टोलमा आमा समूहको गठन गरी उनीहरुमार्फत एकीकृत वित्तिय सहकारीको सञ्चालन गरी आर्थिक तथा जीविकोपार्जनमा टेवा पुग्ने योजना बनाइने छ । यस्ता समूहलाई राज्य र अन्य निकायबाट सहयोगका लागि पहल गरिने छ ।
१७. गरीब, असहाय, अशक्तहरुको जीविकोपार्जनका लागि स्थानीय तहसँग पहल गरी आवश्यक सहयोग गरिने छ । वर्षौैंदेखि आफ्नो जमिनको भोगचलन गर्दै आएपनि जग्गाको कानुनी स्वामित्व (लालपुर्जा) नभएर समस्या झेलिरहेका किसानहरुको समस्यालाई कानुनीरुपमा हल गर्न पहल गरिने छ ।
गरीब तथा सुकुम्बासी जनताका लागि एकीकृत आवास योजना विकास गरी घर र बस्ती निर्माण गरिने छ ।
(च) पर्यटनको विकास, आर्थिक समृद्धिको आधार
१८. बेलौरीको बन्दा ताललाई ‘फिसिङ हब’ का रुपमा निर्माण गरि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने । यसबाट ५ सय बढीलाई रोजगारी दिने गरी निर्माण गर्ने । यसका साथै प्यारा ताल, पुरैना ताल, शोभा ताल, झिलमिला ताल, तलैयाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यी क्षेत्रहरुलाई केन्द्रीय पर्यटन कार्यक्रमसँग जोडिने छ ।
१९. स्थानीय डंगौरा थारु तथा राना समुदायको संस्कृति तथा कलाको संरक्षणका लागि सांस्कृतिक केन्द्र र पुरातात्विक संग्रहालयको निर्माण गरी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ ।
२०. लालझाडी तथा अन्य सम्भाव्य क्षेत्रहरुको पहिचान गरी स्थानीय तहहरुसँगको समन्वयमा जंगल सफारीलगायतका अन्य योजनाहरु लागु गरिने छ ।
(छ) सीमसार क्षेत्रको व्यवस्थापन
२१. सिमसार क्षेत्रको संरक्षण लागि राष्ट्रिय सिमसार क्षेत्रसँग सम्बन्धित कार्यक्रम अन्तर्गत यस क्षेत्रका सबै सिमसारहरुलाई अन्तर्सम्बन्धित गरिने छ ।
२२. सिमसार क्षेत्रलाई यस क्षेत्रका जनताको जीविकोपार्जन उकास्ने किसिमले कार्यक्रमहरु केन्द्रीय तहबाटै सञ्चालन गरिने छ । र, स्थानीय तहका कार्यक्रमहरुपमा सहयोग पुर्याइने छ ।
(ज) कृषि उत्पादन र उपजको व्यवस्थापन
२३. नेपाल सरकारको दीर्घकालिन कृषि योजना तथा कृषि कार्यक्रम अन्तर्गत क्षेत्र नं. १ का सम्भावित क्षेत्रहरुलाई नमूना कृषि क्षेत्र (सुपर जोन)का रुपमा विकास गर्न विशेष पहल गरिने छ ।
२४. कृषि खाद्य डिपोको स्थापनाका लागि राज्य सरकार र केन्द्रीय कृषि कार्यक्रम अन्तर्गत पहल गरिने छ ।
२५. क्षेत्र नं. १ को कृषि उपजहरुको बजार प्रबद्र्धनका लागि क्षेत्रीयस्तरको कृषि उपज शीत भंडार (कोल्ड स्टोर)को स्थापना उपयुक्त स्थानमा निर्माण गरिने छ । यस क्षेत्रको कृषि उत्पादनलाई अन्य जिल्लामा समेत लैजान आवश्यक पहलकदमीका लागि प्रदेश सरकार र केन्द्र सरकारमार्फत पहल गरिने छ ।
२६. कृषियोग्य जमिनको सामूहिक उपयोगका लागि कृषिको सहकारीकरण तथा बजारीकरण गर्ने राष्ट्रिय नीति निर्माण र कृषक, कृषि सहकारी तथा कृषि व्यवसायीहरुलाई मल, बीउबिजन, करलगायतका क्षेत्रमा अनुदान (सब्सिडी) दिन नीतिगत व्यवस्थाका लागि पहल गरिने छ ।
२७. एकीकृत सिंचाई परियोजनाका लागि केन्द्रीय परियोजना निर्माणका लागि पहल गरिने छ । स्थानीय तह र प्रदेश सरकारबाट भूमिगत सिँचाई परियोजनाका लागि विशेष पहल गरिने छ ।
(झ) स्मार्ट सिटी, स्मार्ट जनताः सुन्दर शहरदेखि स्टेडियमसम्म
२८. बेलौरी, बेल्डाँडी, पुनर्वास र लाल्झाडीमा स्मार्ट सिटी निर्माण गरिने छ । यसका लागि रिङरोडको निर्माणदेखि शहर क्षेत्रभित्र अत्यावश्यक सबै पूर्वाधारको विकासका लागि केन्द्र र स्थानीय तहबाट पहल गरिने छ ।
२९. क्षेत्रीय र राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिताहरु समेत सञ्चालन हुन सक्ने गरी एउटा खेलकूद स्टेडियमको स्थापना गरिने छ । यसका साथै खेल प्रशिक्षण शालाको स्थापना हुने छ ।
३०. स्थानीय तहले अघि सारेका योजना तथा कार्यक्रमहरुलाई लागु गर्न केन्द्रबाट विशेष पहल र सहयोग गरिने छ ।
(ञ) नदी कटानको स्थायी व्यवस्थापन
३१. दोदा र चौधरा नदीको आतंकले हामीले पाएको दुख वर्णन गरी साध्य छैन । हालसम्म ४ हजार विगाहा भन्दा बढी जमिन नदी कटान भइसकेको छ । त्यसैले नदी कटानका लागि दुबै तर्फ स्थायी प्रकृतिको वाल निर्माण गरी नदीलाई प्राकृतिक बहावमा लैजान भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि केन्द्रीयस्तरको योजना अगाडि बढाइने छ ।
३२. बाढीको समस्या झेल्नुपर्ने क्षेत्रमा एकीकृत बस्ती विकास योजनाका लागि पहल गरिने छ ।

ghar sansar
सम्बन्धित
Loading...