महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यका लागि एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट चुनावी मैदानमा होमिएका छन् । अघिल्लो निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर जितेका उनी यस पटक प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् ।
एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनी आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष भएका छन् । विष्ट ३२ वर्षदेखि एमाले राजनीतिमा छन् । अहिले उनी एमाले जिल्ला अध्यक्ष र नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य छन् ।
बैतडीको तल्लो स्वराडको शर्मालीमा २०३० मा जन्मिएका उनी २०४६ को पहिलो जन आन्दोलनबाट राजनीतिमा आएका आएका हुन् । २०४७ मा अनेरास्ववियु प्रारम्भिक कमिटी सह सचिव भएर राजनीतिमा आएका उनी एमालेमा प्रष्ट वक्ता, नेतृत्व क्षमता, हक्की स्वभाव र सहनशील नेताका रुपमा परिचित छन् ।
समाज शास्त्रमा स्नातकोत्तर उनले पार्टी राजनीतिसंगै विभिन्न आन्दोलन र सामाजिक संघ संस्थामा जिम्मेवारी वहन गरेका छन् । २०५४ मा टनकपुर सन्धिका विरुद्धको आन्दोलन र पुर्णागिरी मार्चमा सहभागी भएका उनले सुदूरुपश्चिमाञ्चल विश्वविद्यालय स्थापना र ३३ प्रतिशत विद्यार्थी सहुलियत आन्दोलनको विष्टले नेतृत्व गरेका छन् ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना संघर्ष समितिको सह संयोजक भएर उनी आन्दोलनमा सक्रिय भएका थिए । उनी क्याम्पस सञ्चलक समितिको अध्यक्ष भइ सकेका छन् । लोकतन्त्र र दिगो शान्तिका लागि नागरिक आन्दोलनको संयोजक भएर विष्टले २०६२÷०६३ को जन आन्दोलन नेतृत्व गरेका थिए ।
विष्टले विभिन्न सामाजिक संघ संस्था र मानव अधिकारवादी संस्थामा जिम्मेवारी निर्वाह गरेका छन् । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्ष भएका उनी सुदूरपश्चिम प्रदेश इन्चार्ज हुँदै केन्द्रीय सदस्यसम्म भएका छन् ।
मानव अधिकार अनुगमन समिति, मानव अधिकार संरक्षण मञ्च र मानव अधिकार एलाइन्समा आवद्ध भएर उनले मानव अधिकारका क्षेत्रमा काम गरेका छन् । उनी मानव अधिकार समिति सदस्य, मञ्चका केन्द्रीय सदस्य र मानव अधिकार एलाइन्समा सचिव भएका छन् ।
भीमदत्त स्मृति कोषमा सचिव भएका उनी दक्षिण एसिया अध्ययन तथा विकास केन्द्र—महासचिव भएका छन् । सहकारी आन्दोलन लागेर उनी सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष भएका छन् । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समिति र तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष भएका छन् ।
महाकाली नदी तथा सीमा सरोकार समूहका सदस्य, सामुदायिक विद्यालय संघ सदस्य र नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य र महाकाली संयोजक भएर जिम्मेवारी वहन गरेका छन् । तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अखिलको प्रारम्भिक कमिटी सह सचिव भएका उनी २०५३ मा स्ववियु सभापति भएका थिए । त्यस अघि २०४९ मा अनेरास्ववियु क्याम्पस कमिटी सचिव भएर स्ववियुको सचिवमा चुनाव लडेका थिए ।
२०५४ स्ववियु काउन्सिलको केन्द्रीय सदस्य र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य भएर सुदूरपश्चिम ब्युरो प्रमुख र विभाग प्रमुख भएका विष्टले तत्कालिन नेकपा मालेको जिल्ला कमिटी सदस्य भएका थिए । अनेरास्ववियुको चौथो जिल्ला सम्मेलनबाट जिल्ला सचिव र पाँचौं जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक भएर उनी महाकाली अञ्चलको प्रथम सम्मेलनबाट आयोजक कमिटी सदस्य भएका थिए ।
विष्टले एमालेको युवा संगठन राष्ट्रिय युवा संघमा पनि नतेृत्व गरेका छन् । तत्कालिन युवा संघमा उनी जिल्ला कमिटी सचिव भएर संयोजकसम्म भएका छन् । एमालेको भीमदत्त नगर कमिटी सदस्य भएर पार्टी राजनीतिमा आएका उनी २०६३ मा एमाले जिल्ला कमिटी सदस्य भएका हुन् ।
एमालेको छैठौं जिल्ला अधिवेशनबाट उप सचिव भएका उनी त्यसपछि सचिव हुँदै आठौंबाट अध्यक्ष भएका छन् । उनले उप सचिव, सचिव र अध्यक्ष चुनाव लडेर जितेका छन् । २०६६ मा उप सचिव भएका उनले तीन वर्षपछि सचिव भएर संगठन विभाग प्रमुख भइ सकेका छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा भीमदत्तको मेयर भएपछि उनी एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका थिए । उनी मेयर भएपछि सुदूरपश्चिम विश्वविद्यालय सभा सदस्य भएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचनमा विष्टले भीमदत्तको पाँच वर्षे उपलब्धिलाई पनि मतदातासम्म लगेका छन् । विष्टले आफ्नो कार्यकालमा भीमदत्तमा ८३ किलोमिटर चक्रपथ बनाएका छन् । उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग बनाएका छन् । जैविक मार्ग र पर्यटन मार्ग दुबैमा कालोपत्रे निर्माण कार्य अघि बढेको छ ।
प्रदेश सभा सदस्यका उम्मेदवार भएपछि विष्टले शुक्लाफाँटा पर्यटन मार्गलाई दोधारा चाँदनी नगरपालिकाको कुतियाकरवसम्म पुगाउने योजना अघि सारेका छन् । मेयर विष्टले सुदूरपश्चिम प्रदेशमा नगरपालिकाको आफ््नै लगानीमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गरेका छन् । सरकारी शुल्कमा विद्यार्थीले अध्ययन गर्न पाएका छन् । प्राविधिक शिक्षालयमा पहिलो वर्षमा अध्ययन गर्नका लागि कोटा भन्दा बढी विद्यार्थी आएका थिए ।
विष्टले आफ्नो पाँच वर्षे कार्यकालमा १७ किलोमिटर नयाँ बाटो खोलेका छन् । स्थानीय तह निर्वाचन अघि कालोपत्रे बाटो नपुगेको भीनपा १९ बागफाँटामा उनी मेयर भएपछि सडक कालोपत्रे गरिएको थियो । नगरपालिकाका सबै वडामा ४८ किलोमिटर सडक विष्टको कार्यकालमा कालोपत्रे गरिएको छ । २ सय ४८ किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।
भीमदत्तको सबैभन्दा दुर्गम वस्ती खल्ला मुसेट्टीमा विष्टले विद्युत र टेलिफोन टावर पुगाएका छन् । विष्टको पहलमा खल्लामा करोडौ लगानीको खानेपानी योजना निर्माण हुन लागेको छ । उनी निर्वाचित भएपछि खल्लासम्म सार्वजनिक सवारी सञ्चालन गरिएको थियो ।
उम्मेदवारी दर्तापछि संयुक्त पत्रकार सम्मेलनमा निवर्तमान मेयर विष्टले आफूलाई खल्ला र कुतियाकवर दुबैको पीडा दुख्ने गरेको बताएका थिए । उनले खैरभट्टी र कुतियावर जोड्न आफू प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा आएको बताएका थिए ।
प्रदेश सभा सदस्य ख मा भीमदत्त नगरपालिका ७ र दोधारा चाँदनी नगरपालिकाका १० वडा पर्छन् । अहिले उनी आफ्नो प्रदेश सभा सदस्य क्षेत्रमा चुनावी प्रचारमा होमिएका छन् । उनले आफ्नो भीमदत्तको पाँच वर्षे उपलब्धिलाई तथ्यले सत्य बोल्छ भन्दै मतदातासम्म पुगाएका छन् ।
भन्छन्, ‘चुनाव प्रचारमा सबैको साथ र सहयोग पाएका छौ, समृद्धि र राष्ट्र निर्माणका लागि सबै जनाबाट आर्शिवाद पाउनेमा ढुक्क छौ ।’