महेन्द्रनगर । भीमदत्त नगरपालिका उत्तरी क्षेत्र घाँडीघाँचका वासिन्दालाई छोराको विवाह गर्ने उमेर पुगेपछि चिन्ता सुरु हुने गथ्र्याे । बाटोघाटो र खानेपानी सुविधा नभएकाले बुहारी भित्र्याउन अप्ठेरो थियो । घाँडीघाँच क्षेत्रले पिछडिएको दुर्गम भनेर सधैं अपमान खेपेर बस्न बाध्य भयो ।
अघिल्लो पटकको स्थानीय तह निर्वाचनपछि भने घाँडीघाँच क्षेत्र दुर्गम पहिचान मेटाएर सुगम वस्तीका रुपमा चिनिन थालेको छ । रौटेलादेखि ब्रह्मदेबसम्म बनेको जैविक धार्मिक पर्यटकीय मार्गबाट दुर्गम पहिचान फेरिएको छ । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले घाँडीघाँचका आधा दर्जन वडा जोडिने गरी मार्ग बनाएका हुन् । १५ किलोमिटर लम्बाईको यो मार्ग १८ देखि २२ मिटरसम्म चौडा छ ।
‘घाँडीघाँचमा यो मार्ग जनताका लागि वरदान जस्तै भएको छ, पहिलाको घाँडीघाँच र अहिलेको घाँडीघाँचमा आकाश पातालको फरक छ’ भीमदत्त नगरपालिका ८ का राजेन्द्र विष्ट भन्छन्,‘सानातिना बाटो समेत नभएका ठाउँमा यति ठूलो मार्ग हुन हामी सबैका लागि खुसीको कुरा हो ।’
स्थानीयलाई यातायात सुविधा, चुरे संरक्षण, स्थानीय र वन्यजन्तुवीच द्वन्द्व न्यूनीकरण र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएर निवर्तमान मेयर विष्टले यो मार्ग बनाएका छन् । जैविक धार्मिक पर्यटकीय मार्गबाट रौटेलादेखि ब्रह्मदेबसम्मका सबै धार्मिक पर्यटकीय स्थल जोडिएका छन् । रौटेला मन्दिर, विष्णु मन्दिर धाम, भम्केनी धाम र ब्रह्मदेबको सिद्धनाथ मन्दिर मार्गबाट जोडिएका छन् ।
रौटेलामा भीमदत्तका सबै १९ वडाको प्रतिनिधित्व हुने गरी १९ फिट लामो त्रिशुल स्थापना गरिएको छ । यस मार्गबाट भीनपाका १, ३, ७, ८, ९ र १० नम्बर वडा जोडिएका छन् । ‘पहिला त साइकल या हिँडेर जानु पर्ने बाध्यता थियो, यो मार्ग बनेपछि सजिलो भयो’ भीनपा १ बाराकुण्डाका रबिन्द्र कुँबरले भने,‘यहीं बाटो बनेपछि त बैंकमा पुर्जा राखेर ऋण पनि पाएका छौ ।’
निवर्तमान मेयर विष्टले गरपालिकाको स्रोत र साधनबाट छोटो समयमा बाटो बनाएका थिए । स्थानीय तह निर्वाचनमा गरिएका वाचा अनुसार निर्वाचित भएपछि मार्ग बनाउन सुरु गरिएको थियो ।
रौटेलादेखि बह्मदेवसम्म धार्मिक मार्गको ट्र¥याक खोलेर ग्राभेलिङको काम सम्पन्न गरिएकोमा अहिले कालोपत्रे अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यसलाई कर्णालीसम्म पुगाउने लक्ष्य लिएर पहिलो आर्थिक वर्षमा नीति तथा कार्यक्रममा समावेश गरेको थियो । प्रदेश सरकारले चार लेनको पक्की सडक बनाउने लक्ष्य राखेर निर्माण कार्य अघि बढाएको छ ।
एमाले कञ्चनपुरका अध्यक्ष विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित भएका हुन् । उनी अहिले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । प्रदेश सभा ख मा दोधारा चाँदनी नगरपालिका १० र भीमदत्त नगरपालिका ७ गरी १७ वडा छन् । प्रदेश सभा सदस्य उम्मेदवार भएका उनले खैरभट्टी कुतियावकर विकासबाट जोड्ने घोषणा गरेका छन् ।
विष्टको पाँच वर्षे कार्यकालका प्रमुख उपलब्धिमा जैविक धार्मिक पर्यटकीय मार्गलाई समावेश गरिएको छ । विष्टले घाँडीघाँचमा जैविक धार्मिक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग बनाएका
छन् ।
ती दुबै मार्गलाई जोडेर चक्रपथ बनाउने कार्य विष्टको कार्यकालमा अघि बढेको थियो । भीमदत्तमा ८३ किलोमिटर लम्बाईको बाह्य र २२ किलोमिटर लम्बाईको भित्री चक्रपथ बनाउने गरी कार्य अघि बढेको छ ।
भीमदत्तमा चक्रपथ निर्माण गरी नगर वस सञ्चालन गर्ने विष्टको योजना थियो । कोभिड महामारीका कारण कार्य रोकिएपछि नगर वस सञ्चालन गर्न नपाउँदै उनको कार्यकाल सकिएको छ । गत जेठ ५ गते विष्टको कार्यकाल सकिएको थियो ।