महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीमा महाकाली कोरिडोरको काम रोकिएपछि स्थानीय आक्रोशित भएका छन् । चुरे वन क्षेत्रका कारण रोकिएको कोरिडोरको ब्रह्मदेब कौवानी खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन(इआए) हुन नसकेर वर्षौदेखि काम रोकिएको थियो ।
ब्रह्मदेबदेखि डडेल्धुराको सीमा क्षेत्र कौवानीसम्म १५ किलोमिटर क्षेत्रमा अघिल्लो इआए प्रतिवेदन तयार गरिएपछि रुख कटानका लागि छपान भएर ठेक्कापट्टा गरिएको थियो ।
कोरिडोरको काम रोकिएपछि स्थानीय असन्तुष्ट भएका छन् । उनीहरुले खल्ला मुसेट्टीका वासिन्दाले चुनावमा यसको बदला लिने मनस्थिति बनाएका छन् ।
‘पाँच वर्ष अघिसम्म बाटाघाटो सञ्चार, यातायात, विद्युत सबैको समस्या थियो, भीमदत्तमा सुरेन्द्र विष्ट आएपछि यहाँ के भयो, सबै छर्लङ्ग नै छ’ स्थानीय रुपसिह प्वालीले भने,‘त्यस अघि गरिएका काम पनि छर्लङ्ग नै छन्, हिजोसम्म यी काम सम्भव छैन भनिएको थियो, ती सबै गरि दिए, कोरिडोरको काम अघि बढ्यो, अहिले रोकिएको छ, यसको बदला चुनाव जित्छौ ।’
स्थानीय प्वालीले महाकाली कोरिडोर बनेपछि खल्ला मुसेट्टी पर्यटकीय नगरीका रुपमा विकास हुने विश्वास गरे । ‘यो बाटो बनेपछि हिजोको दुर्गम खल्ला मुसेट्टी सुगम बन्छ, पर्यटकीय नगर बन्छ’ उनले भने ।
महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्डमा २०६६ मा काम सुरु भएपछि ब्रह्मदेबका स्थानीयको अवरोका कारण रोकिएको थियो । चुरे क्षेत्रमा इआए नभएपछि ब्रह्मदेब कौवानी खण्डमा काम बन्द गरी अन्य क्षेत्रमा निरन्तरता दिइएको थियो ।
एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले २०७४ मा चुनाव जितेपछि चुरे क्षेत्रमा इआए प्रतिवेदन बनाउन सुरुदेखि पहल गरेका थिए । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले साथ दिएका थिए । विष्ट भीमदत्त नगरपालिकाका निवर्तमान मेयर हुन् ।
दुई वर्ष अघि इआए प्रतिवेदन तयार भएपछि झण्डै ६ करोडमा दिवा शनिदेब निर्माण कम्पनीसित ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले सुरु गरेको काम गत असारदेखि रोकिएको हो ।
वन मन्त्रालयबाट कटान आदेश नआएपछि निर्माण कार्य रोकिएको छ । ‘ठेक्का सम्झौतापछि अलि अलि काम भयो, रुख नकाटिएपछि काम रोकियो’ निर्माण कम्पनीका दिवा दिवा शनिदेव जेभीका सञ्चालक देबीदत्त भट्टले भने,‘रुख कटान भएपछि मात्रै काम अघि बढ्छ ।’
एमालेका निवर्तमान साँसद भट्टले ठेक्कापट्टा सम्झौता भएर सुरु गरिएको काम रोकिनु दुःखद भएको बताए । ‘रुखमा टाँका लगाएर काम सुरु गरिएको थियो, अहिले रुख कटान हुन नसकेर काम रोकिएको छ’ उनले भने,‘यो एकदमै दुःखद छ, जनताको हितमा छैन ।’
साँसद भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले महाकाली कोरिडोरलाई बहुवर्षिय ठेक्कामा राखेर बजेट बजेट विनियोजन गरी सबै जिल्लामा काम अघि बढाएको बताए । बजेट अभाव झेल्दै आएको आयोजनाका लागि पहिलो पटक ९० करोड बजेट विनियोजन गरिएको थियो ।
एमालेका निवर्तमान साँसद भट्ट र भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्टले कोरिडोरलाई दोधारा चाँदनीसम्म पुगाउन पहल गरेका छन् । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण अघि बढेपछि कोरिडोरलाई दोधारा चाँदनीसम्म पुगाउन पहल गरिएको हो ।
भीमदत्तका निवर्तमान मेयर विष्टले एमाले नेतृत्वको सरकार फेरिएपछि कोरिडोर निर्माण कार्य रोकि दिएको बताए । ‘अहिले केही मान्छे त्रिदेशीय नाकाका कुरा गरि रहेका छन्, हामीले कोरिडोर अघि बढायौ’ उनले भने,‘हाम्रो नेतृत्वको सरकार ढलेपछि काम रोकिएको छ, अहिले उपकरण फिर्ता गरिएका छन्, ती उपकरण फिर्ता गर्नेहरु नै त्रिदेशीय नाका कुरा गरि रहेका छन् ।’
कोरिडोरको ब्रह्मदेब कौवानी १५ किलोमिटर खण्डमा कटानका लागि पोल र विरुवा गरी एक हजार ८ सय रुख छपान गरिएका छन् । डिभिजन वन कार्यालयले छपान गरी कटान आदेशका लागि ६ महिना अघि मन्त्रालयमा फाइल पठाएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पठाएको फाइल संघीय वन मन्त्रालयमा गएर अड्किएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले कटान आदेश नआएकाले रुख नकाटिएको बताए । ‘कटान आदेशका लागि मन्त्रालयमा फाइल पठाएका छौ, आदेश आएको छैन’ उनले भने, ‘आदेश आएपछि कटान गर्छौ ।’
रुख कटान भएर काम रोकिएपछि निर्माण व्यवसायी समयमा काम गर्न नसकिने अवस्था आउने चिन्तामा परेका छन् । ३० महिनाका काम पूरा गर्ने ठेक्का सम्झौता गरिएको छ ।
महाकालीका चार जिल्लाका साँसदले तत्कालिन प्रधानमन्त्री ओलीलाई दबाव दिएपछि महाकाली करिडोर बहुवर्षिय ठेक्कामा राखिएको थियो ।
कञ्चनपुरको ब्रम्हदेवबाट डडेल्लधुरा, बैतडी हँुदै दार्चुलाको तिंकरसम्मको ४ सय २५ किलोमिटर सडक लम्बाई रहेको छ । करिडोर अन्तर्गत व्यास गाउँपालिका वडा नम्वर २ को कोठेधार देखि तिंकरसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
त्यसअघि दार्चुला तिंकर सडक खण्डको ४३ किलोमिटर सडकको ट्याक खुलाइएको छ । २०६५÷२०६६ मा दार्चुलाको खलंगाबाट तिङ्कर जोड्न सडक निर्माणको काम सुरु भएको थियो । त्यसपछि २०७२÷२०७३ मा कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला खलंगासम्मको २९१ किलोमिटर सर्भे भएर काम सुरु भएको थियो ।
११ मिटर चौडाईको करिडोरमा अहिलेसम्म एक अर्ब ४४ करोड रुपियाँ खर्च भएको छ । भारत र चीनसँगको व्यापार विस्तारका लागि यो सडकलाई पछिल्लो पटक दोधारा चाँदनीसम्म पुगाउन पहल गरिएको हो ।