महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका र रमेश लेखक र एमाले उम्मेदवार निरुदेवी पाल अन्तिम चुनावी प्रचारमा होमिएका छन् । उनीहरु दुबै जना अघिल्ला निर्वाचनका हार फर्काउने आशमा अन्तिम प्रचारमा लागेका छन् ।
यस पटक सत्ता गठबन्धनका लेखक अघिल्लो निर्वाचन र एमालेका पाल संविधान सभा सदस्य उप निर्वाचनको हार फर्काउने आशमा छन् । उम्मेदवारी दर्तापछि दुबै जना चुनावी मैदानमा होमिएका हुन् । काँग्रेस केन्द्रीय सदस्य लेखकलाई सत्ता साभेदार माओवादी केन्द्र र एमालेलाई राप्रपाको साथ छ । अघिल्लो निर्वाचनमा एमालेलाई माओवादी र काँग्रेसलाई राप्रपाको साथ थियो ।
काँग्रेसका केन्द्रीय सदस्य लेखक यस निर्वाचन क्षेत्रबाट दुई निर्वाचित र एक पटक समानुपातिक गरी तीन पटक साँसद भई सकेका छन् । उनी साँसद निर्वाचित भएपछि तीन पटक मन्त्री भएका छन् । २०७४ मा एमालेका डा. दिपक प्रकाश भट्टसित पराजित भएका उनी २०७० र २०५६ मा साँसद निर्वाचित भएका थिए ।
लेखक २०६४ मा संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार हुँदा एमालेकी पाल उप निर्वाचन लडेकी थिइन् । उनी २०७४ मा प्रत्यक्ष सिफारिश गरिएकी उनी पछि समानुपातिक साँसद भएकी थिइन् ।
लेखक र पाल दुबै आफ्ना पार्टीको शीर्ष नेतृत्व नजिकका नेता हुन् । लेखक प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला नेता हुन् । देउवाले काँग्रेस विभाजन गर्दा पनि लेखकले उनलाई साथ दिएका थिए । एमालेकी पाल अध्यक्ष ओलीकै पक्षमा लागेकी नेता हुन् । एमालेमा माधव नेपाल समूहको दबदबा हुँदा पनि पालले ओलीलाई नै साथ दिएकी थिइन् ।
शिक्षण पेशा छाडेर एमालेको वडा कमिटीबाट राजनीतिमा आएकी उनी एमालेको पोलिटब्युरो सदस्य भएर कञ्चनपुर इन्चार्ज भएर पार्टी हाँकेकी छन् । एमालेमा नवौ र दशां महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनले एमालेको युवा संघको नेतृत्व गरि सकेकी छन् । महिला संगठन पनि पालले जिम्मेवारी वहन गरि सकेकी छन् ।
कानुन व्यवसाय र पत्रकारिता पृष्ठभूमिका लेखक काँग्रेस कञ्चनपुरका सदस्य, सचिव भएर केन्द्रीय सदस्य भएका छन् । उनले यस पटक चुनावलाई आफ्नो अन्तिम भन्दै मतदातासित मत समेत मागेका छन् ।
चौथो पटक चुनावी मैदानमा भएका लेखक यस पटक काँग्रेसका बागीले असहज अवस्थामा पुगेका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह, शारदा चन्द, पिताम्बर जोशी लेखकका लागि चुनौती बनेका छन् । काँग्रेस छाडेर काँग्रेस विपीमा गएका नेता कार्यकर्ताका कारण पनि उनी अप्ठेरामा छन् । काँग्रेस विपीबाट प्रदेश सभा ख मा धन बहादुर शाही उम्मेदवार नै भएका छन् ।
एमालेका पाल काँग्रेसका बागी र आन्तरिक असन्तुष्टि दुबैका कारण चुनाव जित्नेमा आशावादी देखिएकी छन् । प्रदेश सभा सदस्यमा दुबैतिर बलिया नेता उम्मेदवार भएकाले पनि उनी चुनाव जितिनेमा आशावादी छन् । प्रदेश सभा सदस्य ख मा एमालेका सुरेन्द्र विष्ट र ख मा राप्रपाका धर्मराज जोशी उम्मेदवार छन् । उनीहरु दुबै पार्टी संगठन र जनमत बलियो भएका नेता हुन् ।
२०७४ सालको संसदीय निर्वाचनमा भने उनलाई एमालेका डा. दीपक प्रकाश भट्टले पराजित गरेका थिए । भट्टले २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार १०१ मतमात्रै ल्याए ।
कञ्चनपुर–३ मा भीमदत्त नगरपालिकाका १९ वटै वडा, महाकाली पारीका गाउँ भनेर चिनिने दोधारा चाँदनी नगरपालिकाका १० वडा र भीमदत्तसँग जोडिएको बेदकोट नगरपालिकाको एक वडा गरी ३० वडा छन् । यी ३० वडामा भीमदत्तका काँग्रेस र दोधारा चाँदनीमा एमाले बलियो हो । अघिल्लो दोधारा चाँदनीमा १ सय ५० मतले अग्रता लिएका लेखक भीमदत्तमा पछाडि परेका थिए ।
कञ्चनपुर ३ मा २०४८ पछि काँग्रेस, एमाले र माओवादी सबैले चुनाव जिति सकेका छन् । अहिलेसम्म यस क्षेत्रमा तीन पटक काँग्रेस र दुई पटक एमालेले जितेको छ । २०६५ को संविधान सदस्य निर्वाचन माओवादीले जितेको थियो ।
२०५१ सालको निर्वाचनमा एनपी साउदलाई पराजित गरी एमालेका उर्वादत्त पन्तले कञ्चनपुर ३ जितेका थिए । एमालेले त्यसपछि २०७४ मा यस क्षेत्रमा चुनाव जितेको थियो । एमालेकी पाल अघिल्लो निर्वाचनको विरासत जोगाउन जोगाउन कस्सिएकी छन्।
‘मैल समानुपातिक सांसद हुँदा कञ्चनपुर ३ मा धेरै काम गरेकी छु। अझ केही अधुरा कामहरु छन्। जनताले विकास गर्ने पार्टी नेकपा एमाले हो भनेर बुझिसकेका छन्। त्यसैले म जित्छु,’ पालले भनिन्।
उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको मजगाउँ विमानस्थल पक्की गर्न एमालेको पालामा बजेट विनियोज नगरेको, त्यहाँसम्म जाने सडकमा बजेटन हाल्न लगाएको दाबी गरिन्। ‘अहिले चुनाव एकातिर चलिरहेको छ। महेन्द्रनगर बजारमा नयाँ सडक बन्न धमाधम काम भइरहेको छ। केपी ओलीको पालामा आएको सघन सहरी विकास आयोजनाले कति धेरै सडक कालोपत्रे भएका छन्,’ पालले भनिन् ।
‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, त्यहाँसम्मको साढे ७ किलोमिटर चार लेनको सडक, महाकालीमा चार लेनको पक्की पुलहरु सबै एमालेको पालामा बजेट आएर निर्माण भइरहेका छन्,’ उनले थपिन्।
काँग्रेसका उम्मेदवार लेखक संघीयता र लोकतन्त्र जोगाउन खेलेको भूमिका नै आफ्नो जित्ने आधार बताउँछन् । ‘विकासलाई समृद्धिसँग जोड्ने सत्ता गठबन्धनको लक्ष्य छ । संविधान र लोकतन्त्र धरापमा परेका बेला यस मोर्चाले त्यो दुर्घटना जोगाएको छ । अधिकांस जनता गठबन्धनको पक्षमा छन्’ उनले भने ।
लेखकले दावी गरे पनि कञ्चनपुर ३ मा सत्ता गठबन्धनभित्र असन्तुष्टि छ । सत्ता साभेदार माओवादी केन्द्रका धेरै नेता पार्टी छाडेर बाहिरिएका छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी गठबन्धन विरुद्ध चुनावी मैदानमा छ ।
काँग्रेस एमाले जिल्ला स्तरका नेता पनि आफ्नो प्रतिस्पर्धा कसैसंगै नभएको दावी गर्छन् । काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले प्रतिस्पर्धा नभएको बताए ।
‘हाम्रो उम्मेदवारको प्रतिस्पर्धा कसैसँग छैन । २०७० मा कांग्रेसले चुनाव जित्दा भएको विकास र ०७४ मा एमालेले चुनाव जित्दा भएको विकासको तुलना गरेर जनताले कांग्रेसलाई भोट हाल्छन्’ उनले भने ।
एमाले कञ्चनपुरका जिल्ला सह–सचिव कर्ण चन्द पनि पालको प्रतिस्पर्धी कोही नभएको दाबी गर्छन्। ‘यस प्रदेशमा एमालेको प्रतिस्पर्धी नै छैन । गठबन्धनभित्र चिराचिरा छन्। त्यसैले एमाले जित्छ,’ उनले भने ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्न संकायका डीन प्रा. डा. मुकुन्द कलौनी मतदाताले परिवर्तन खोज्ने भएकाले जनमत स्थिर नहुने बताए ।
‘केही छाडेर धेरैमा जनमत फेरिएको देखन्छ, ३ नम्बरमा पनि त्यस्तो देखिन्छ’ उनले भने,‘मतदातामा नयाँलाई अवसर दिँदा केही हुन्छ कि भन्ने आश हुन्छ ।’