महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको बताएका छन् ।
एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको एक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन् । अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन परिचालित रहेको भण्डारीले दाबी गरे ।
उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ । अहिले अन्तैबाट कोही आउने एकैपटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरसः पालना गर्ने प्रवृत्ति देखिएको छ । उताबाट आदेश आउँछ, यता दशदलीय गठबन्धन आदेश पालना गर्छ । आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ । यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ ।’
यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए ।