ghar sansar

गोर्‌को नालिबेली

 

–डा. पदमराज कलौनी

नेपालीमा गाई मानसी भाषामा गोर्‌ भन्दछन् । गोर् भनेको “गोरू” होइन् । गोर्‌लाई गोरूको अर्थमा अर्थ्याउनेको कमी छैन् । कसैलाई घोचपेच गर्नु परेमा “यसले गोरूले दूध खान्छ” भनेर ठट्यौली गरिन्छ । यस्तै प्रसङ्ग पङ्तिकारसँग भएको छ । हाँस्य कलाकार मनोज गजुरेलसँग राष्ट्रिय सभागृहमा परिचय हुँदै गर्दा “बैतडी” भन्ने बित्तिकै वहाँले “हाम्रा त गोरूले दूध दियाको खान्या हुन्‌” भन्नु भएको सम्झन्छु । वहाँले बैतडीका केही अण्य प्रसङ्गमा व्यंग गर्नु भएको थियो । जसमध्ये गोर्‌का बारेमा चर्चा गर्ने जमर्को गरिएको छ । वहाँले आफ्ना पुस्ता पनि बैतडी गाजरीबाट आएकाले “गजुरेल” भएको बताउनु भयो । बैतडीमा चलनचल्तिमा “गोरू” शब्दको प्रयोग हुँदैन् । साँडे (बहर)लाई बधियाँ गरेपछि “बल्ल” भनिन्छ ।

lotus institite

“गो” शव्द देवभाषाबाट आएको हो । गोर्‌ “गो” हो । गो शब्द स्त्रीलिङ्गी र पूलिङ्ग समान अर्थमा प्रयोग हुन्छ । पूलिङ्गमा “गो” माने बल्ल/गोरू, सूर्य, किरण हुन्छ भने स्त्रीलिङ्गीमा गाई, पृथ्वी र वाणी हुन्छ । “गो” अपभ्रंस हुँदै “गोर्‌” भएको हो । गोर्‌लाई नेपालीमा गाई, अङ्ग्रेजीमा काउ, हिन्दीमा गाय, जापनिजमा ग्यु भनिन्छ । गोको उत्त्पत्ति मानिससँगै भएको मानिन्छ । मानिसले परापूर्वकालमा (कृषि युग भन्दा अगाडि) दूध दिने कारणले गाईलाई पाल्न थालेको पाइन्छ ।

अथर्ववेदमा मित्र ईक्षमाण आवृत आनंद:युज्यमानों । वैश्वदेवोयुक्त: प्रजापति विर्मुक्त: सर्पम्‌ । एतद्वैविश्वरूपं सर्वरूपं गौरूपम्‌ उपैनंविश्वरूपा: । सर्वरूपा: पशवस्तिष्ठन्ति य एवम् वेद । अर्थात्‌ देख्ने समयमा गौ मित्र देवता हो । पीठ फर्काएपछि आनन्द हो । हलगोरू जोत्दा विश्वदेव हो । गाईको विश्वरूप र सर्वरूप हुन्छ । जसलाई समग्रमा गौरूप भनिन्छ । गाईले विश्व ज्ञान दिन्छ । गाईलाई विश्वमाता (गावो विश्वस्य मातर) भनिएको छ । “गौ प्राणी” भनिनुले गोर्‌को बानी ब्यहोराको जानकारी पाइन्छ । प्राचीन समयमा गाईपालक पशुपालकलाई “गोप” भनिन्थ्यो । नेपाल राज्यका संस्थापकमा गोपाल वंशको नाम अग्रपङ्तिमा आउँछ । काठमाण्डौको पानी चोभार डाँडाबाट निखारेपछि बनेको घाँसे मैदानमा गाई चराउन थालिएको ऐतिहासिक तथ्य छ । जसको प्रसङ्ग कैलीगाई, ने मुनी र गोपालसँग जोडिएको छ ।

प्राचीनकालमा धेरै गाई पाल्नेलाई “गोपति” भनिन्थ्यो । गोर्‌पालक पूरूषलाई “गोपाल” र स्त्रीलाई “गोपा” भनिन्थ्यो । द्वापर युगमा श्रीकृष्ण सम्बन्धी अनेकन प्रसङ्गहरू गोर्‌सँगै जोडिएका पाइन्छन् । कृष्णलाई पनि गोपाल भनिन्थ्यो । कृष्णसँगै गाईवस्तुका हेराला जाने कन्ये कुमारीलाई गोपिनी भनिन्थ्यो । गौसँग जोडिएका कयौं प्रसङ्गले गौ वा गो शब्दबाट अपभ्रंस भएर गोर्‌ भएको हो । गोर्‌को मललाई गोबर र गोर्‌/गाईदान गर्नु परेमा “गोदान” भनिन्छ । गोर्‌ जनाउने धेरै शव्दको प्रयोग बैतडेली र दार्चुलेली जनजिब्रोमा अहिलेसम्म जीवन्त प्रयोग भइरहेका छन् । जसलाई निम्न बमोजिम राख्‌न सकिन्छ:

गाजी ═ पालिएका गौवस्तुको अवस्थालाई जनाउँछ ।

गोधन ═ गोर्‌को सम्पत्ति वा गोर्‌को दूध वा दुग्धजन्य पदार्थबाट आर्जित धनलाई बुझिन्छ ।

गोठ/गोशाला ═ गोर्‌ पालिएको स्थान, गोर्‌ बाँध्ने गोठ ।

गोरक्षक═ गोर्‌को हेरचाह गर्ने मानिस ।

गोठालो ═ गोर्‌को हेचाह गर्ने वा चराउने पूरूष व्यक्ति ।

गोठाल्नी ═ गोर्‌को हेचाह गर्ने वा चराउने महिला ।

गोग्रास ═ गोर्‌लाई खुवाउन राखिएको अन्न ।

गोदान/गौदान ═ शास्त्रीय विधिले गोर्‌दान गरी ब्राह्मण वा छोरीचेलीलाई सुम्पिने कार्य ।

ग्वानेक═ पितृको श्राद्ध गरेपछि गोर्‌लाई खुवाइने भातको पिण्ड ।

गौपुजा ═  गोर्‌को पूजा गर्नु । विभिन्न चाडपर्व, संस्कारमा गरिने पूजा ।

गोवर्द्धन पूजा═ तिहारमा गरिने बल्ल/बौड/साँडेको पूजा ।

गोहत्या ═ गाई मार्नु वा गाईको हत्यालाई गोहत्या भनिन्छ ।

गोचर ═ गाईवस्तु चराउने भूमिलाई भनिन्छ ।

daimond public

गोमुखि ═ गाईको जस्तो मुख भएकोलाई भनिन्छ ।

गोलोचन ═ गाईको मुखबाट ओकेलिँदा निस्कने रौँको गोलो गुजुल्टोलाई भनिन्छ ।

गोचर्म ═ गाईको छालालाई भनिन्छ ।

गोबर═ गाईको दिशा वा मल ।

गुइँठा ═ गाईवस्तुको सुकेको गोबर । जसलाई ईन्धनको रूपमा प्रयोग गर्न सकिन्छ ।

गोबरगणेश═ गोबरबाट निर्माण गरिएको गणेशको स्थापना वा शुद्धिबुद्धि नभएको मानिस ।

गोमुत्र ═ गाईको मूत वा गउँतलाई भनिन्छ ।

गोरस ═ गाईको दुग्धजन्य पदार्थ जस्तै: दूध, दही, मही, घिउ आदिलाई जनाउछ ।

गोलोक ═ गाईको संसार हो । गोलोकमा श्रीकृष्ण र राधाको शाश्वत सर्वोच्च निवास थियो ।

गौमाता ═ गाई आमा हुन् ।

ग्वाल्लेक= गाईवस्तु चराउने लेक ।

हिन्दूहरूले आमाको रूपमा गौमातालाई मान्दछन् । यसरी हेर्दा आमाको रुपमा हामी जन्म दिने आमा, गोमाता, भूमाता र जगत्माता परमेश्वरी भगवतीलाई आमाको रूपमा पूज्य मान्दछौ ।

बैतडी जिल्लाको सदरमुकाम (साहिलेक, गढी र गोठालापानी) मध्ये गोठलापानीले गोसँग सम्बन्धित छ । गोठला+पानी अर्थात्‌ गोठालाहरुले “गो”लाई पानी खुवाउने स्थान बुझिन्छ । आजभोलि बजारको रूपमा स्थापित गोठालापानी पुरानो गोचरनको इतिहास बनेको छ । साठी वर्ष पहिले गाईवस्तु चराउन गोठालापानी र चम्खाली प्रख्यात स्थान थियो । सदरमुकाम हुनुले गोठालापानी बजारमा परिणत भैसकेको छ । गौचरन किंवदन्तीमा कैद हुँदै गइरहेको छ । गाईवस्तु चराएपछि गोठालापानी, चम्खाली र सुन्दरखाली (पोखरी)मा गाईवस्तुलाई पानी पियाउथे । गोठालापानी, चम्खाली र सुन्दरखाली अर्थात् “खाली” बुझिन्छ । मानसी भाषामा “खाली” भनेको पोखरी हो । बढ्दो सहरीकरणसँगै ताल-तलैयाहरु अतिक्रमित भएका छन् । चम्खाली र सुन्दरखाली वि. सं. २०४५/४६ सम्म तालको अस्तित्व कायम थियो । गो अपभ्रंस भएर गोर्‌ भएको तर्फ बुद्धिजीवीको ध्यान नजानु र नयाँ पुस्ताले गोर्‌लाई “गोरू”को रुपमा बुझ्नु लज्जाबोधको शब्द भएको छ । नेपाली भाषाको उदगमस्थल “सिञ्जा” भनिए पनि वास्तविक भाषाको इतिहास उत्खनन् भएको छैन् । नेपालको एकीकरणसँगै देवभाषा सरकारी कामकाजको नहुनु र “मानसी”लाई “सिञ्जाली” भनिनुले नेपाली भाषाको ऐतिहासिक तथ्य लुकी बसेको छ । भाषाको खोज अनुसन्धान गर्न भाषा विज्ञहरु सिञ्जा बाहिर जान नसक्नुले ऐतिहासिक गूढ तथ्य लुकेको छ ।

सन्दर्भ अहिले गोर्‌कै जोडौं । दार्चुलाको गोकुलेश्वरको प्रसङ्गसँग पनि गोर्‌सँग जोडिएको छ । चौलानीको तटमा रहेको गोकुलेश्वर गाउँ प्राचीनकालदेखि कृषि र पशुपालनका दृष्टिकोणले उत्पादनमूलक रही आएको छ । कृषि उत्पादनका लागि उत्तम भूमि भन्नु गाईवस्तुका लागि पनि उत्तकै महत्वपूर्ण हुन्छ । चौलानीको तटमा अवस्थित गोकुलेश्वर भारतको यमुनाको तटमा स्थापित प्रसिद्ध तीर्थाटन गोकुलको झझल्को दिन्छ । गोकुलेश्वरलाई छोटकरीमा “गोकुले” भनिन्छ । गोकुलेश्वर (गोकुले स्वर) अर्थात गाईको बथानबाट निस्कने स्वर वा ध्वनि वा आवाजलाई बुझाउछ । गाईको वथानबाट निस्कने “स्वर”लाई “गोकुलेश्वर” भनिएको अर्थ स्पष्ट जनाउँछ । गोकुल अर्थात गो (गाई)+कुल (वंश) पाइने स्थानलाई गोकुले भनिएको हो । रैथाने गाई खैला पाइने प्रमुख स्थान मध्ये गोकुले पनि एक हो ।

कञ्चनपुर जिल्लाको बेलौरीमा गोकुलपुर गाउँ छ । आजभन्दा चालिसवर्ष अगाडिसम्म थारुसमूदायले गौडी (गाई जाति) पाल्दथे । गौडी भनेको गाईका सन्तान हुन् । कृषि कर्म र गोबरमल उत्पादन गर्न बथानको रुपमा गाईवस्तु पाल्ने प्रचलन थियो । जति ठूलो जिम्दार उतिकै संख्यामा गाई पालिन्थे । थारू भाषामा गौडी भनेको गाइवस्तुको समूहलाई भनिन्छ । सयौंको संख्यामा रहेका गाईवस्तु दिनभर चराएर बेलुका गोठमा हुल्ने गर्थे । गोकुलपुर नामकरणका पछाडि गोपालन प्रमाणिक नाम हो ।

गाईको आर्थिक, धार्मिक, सामाजिक महत्व रहेको छ । हिन्दू संस्कारमा गाईको दूध, दही, धिउ र गहुँत जन्मदेखि मृत्युसम्मको संस्कारमा आवश्यक हुन्छ । पुजाआजा गर्ने स्थान वा पवित्र भुइँ बनाउनु परेमा गोबरले लिपपोत गरिन्छ । पञ्च गव्यमा (गाईको दूध, दही, घीउ, गोमूत्र र गोबर) अनिवार्य मानिन्छ । गाईको दूध स्वास्थबर्द्धक एवं पौष्टिक हुन्छ । गाईको आर्थिक महत्त्व हुनुमा दूध र दुग्घजन्य पदार्थ एवं गोबर मल नै हो । दूधको उपभोगले मानव शरीरलाई चाहिने आवश्यक तत्त्व प्राप्त हुन्छन् । हिन्दूहरूले वैदिककालदेखि गाईको विशेष महत्त्वका साथ उपयोग गर्दै आएका छन् । गाईले मानिसको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । हिन्दू धार्मिक दृष्टिकोणले गाई पवित्र मानिन्छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो । गाईको गोबर (मल), मूत्र कृषि कार्यमा प्रयोग हुन्छ । हिन्दू धर्ममा गाईलाई आमा र लक्ष्मीको रूपमा श्रद्धाभावपूर्वक सम्मान र पूजा गरिन्छ ।

गौका रूपहरूलाई संस्कृतमा निम्न अनुसार राख्न सकिन्छ:

विभक्ति एकवचन द्विवचन वहवचन
प्रथमा गौ: गावौ गाव:
द्वित्तीया गाम् गावौ गा:
तृत्तीया गवा गोभ्याम् गोभि:
चतुर्थी गवे गोभ्याम् गोभ्य:
पंचमी गो: गोभ्याम् गेभ्य:
षष्ठी गो: गवो: गवाम्
सप्तमी गवि गवो: गोषु
सम्वोधन हे गौ: ! हे गावौ ! हे गाव: !

माथिका विभिन्न प्रमाणले पनि मानसी जनजीब्रोमा रहेको “गोर्‌” शव्द “गौ”को अपभ्रंस हुँदै चलनचल्तिमा आएको हो भन्ने प्रमाणित हुन्छ । भाषागत दृष्टिकोणले गाई भन्दा उत्तम शब्द गोर्‌ हो । गौवंश मानिसको जीवन, संस्कृति र इतिहाससँग जोडिएको छ । सृष्टिको उत्पत्तिसँगै गौको इतिहास पाइन्छ । आदिकालमा रत्‌नस्वरूपा कामधेनु गाईले मनोकामना, संकल्प र आवश्यकता पूर्ण गर्न सक्षम भएको कुरा धार्मिक ग्रन्थमा पाइन्छ । सर्वसुख प्रदायनी गौको विषयमा सृष्टिको प्रारम्भमा ब्रह्माले मनुलाई सृष्टि रचना गर्ने आदेश दिए अनुसार मानिसको रचना भएको थियो । मनुको नाम पर्थु थियो उनले गौमाताको स्तुति गर्दै गौकृपा भएर गौदोहन गरेका थिए । विस्तारै पृथ्वीमा कृषिकर्म प्रारम्भ भए पछि पर्थु (मनु) नामले पृथ्वीको नामकरण भएको मानिन्छ ।

तुलसीदासले रामचरित मानसमा “विप्र धेनु सुर संत हित लीन्ह मनुज अवतार, निज इच्छा निर्मित तनु माया गुन गोपार” भन्नु भएको छ । वहाँले सनातन सत्य गौमातामा समस्त तीर्थ, गोपाल, गीता, गायत्री तथा गङ्गा आदिको आधार बताउनु भएको छ । उनले गौमातालाई सर्वोपरि महत्व दिएका छन् । औषधी जन्मदाता धनवन्तरीले गौभक्ति र गौसेवा गरी गौ दुग्ध, गौ घी, गौदधि, गौमूत्र र गोबरको मिश्रणले पञ्चगव्य निर्माण गरेका थिए । बैदिककालमा गाईलाई विप्र बेद, सती, अध्न्या, इज्या, रोहिणी, माहेन्द्री, कल्याणी, भद्रा, अच्र्या, ज्योति, पावनी, बहुला, अदिति, जगती, कामदुधा, बिश्रुता, चन्द्रा, वदन, पर्जन्यपत्नि, आतिथेयी, यज्ञपदी, विश्वायू, साबित्री, सरस्वती आदि विभिन्न नामले सम्बोधन गरिन्थ्यो । अतएव दूध दिने गोर्‌ छ भन्दा गौरव गरौं । जीब्रो टोक्ने काम नगरौं । ग्रामीण भेकका जनजीब्रोमा जीवन्त शब्दको अर्थ खोजेर नेपाली भाषालाई समृद्ध बनाउने प्रयास गरौं । विडम्बना भन्नु पर्छ मानस संस्कृति र सभ्यतासँग जोडिएको गौबास सडक बनेको छ । नेपाली अर्थव्यवस्थाको बलियो आधार निर्माण गर्न गोर्‌लाई गोठमा पुनर्स्थापना गर्नु अपरिहार्य छ ।

Himal dental
सम्बन्धित
Loading...