![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
–डा. पदमराज कलौनी
बिसुपर्व शीतकालको समाप्ति र ग्रीष्मकालको प्रारम्भ हो । वसन्त ऋतुमा मनाइने बिसु पर्व मानसखण्डको पहाडी क्षेत्रको विशिष्ठ पर्व मानिन्छ । नववर्ष प्रारम्भलाई तिहारको रुपमा हर्षोल्लासले मनाउछन् । विदेशिएका परिवारजन आ-आफ्नो घर फर्कन्छन् । नववर्षको स्वागतमा चैत्र महिनाभर घर, मठ र मन्दिर तर्छने/लिपपोत गर्ने गरिन्छ । वसन्त ऋतु पुष्प सुज्जित ऋतु हो । वनपाखामा अनेक थरिका फूलहरु फूलेका हुन्छन् । हिमाली भागमा हिउँ पग्लिन थाल्दछ । नदी नालामा पानीको बहाव हुने हुँदा वसन्त ऋतुमा फुस्रा डाँडाकाँडामा समेत हरिया उपस्थित हुन्छ ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
भूगोल अनुसार बिसु, बिसपति, मेष सङ्क्रान्ति, विषवत सङ्क्रान्ति आदि नाम रहेका छन् । शारीरिक वा प्राकृतिक रुपमा हुने “विष वा विकार”लाई परिहार/परित्याग गर्नुलाई बिसु भनिन्छ । नयाँ वर्षको शुभारम्भमा गतवर्षका रोगब्याधी, अवगुण, आलस्य, बिकार, दोष, अनिष्ट नयाँ वर्षमा नजाउन भनेर वैशाख सङ्क्रान्तिका दिन विहानै नुहाउने परम्परा छ । नुहाउदा “विष बग्यो, फूल चढ्यो” भन्दै टाउको र काँधमा फूल राखेर नुहाइन्छ । विष हटाउने विधि मनोवैज्ञानमा आधारित छ । तन र मनमा भएका दोष, अवगुण र विकारलाई छाड्ने प्रयास पर्वको विशेषता हो । लोक प्रचलन अनुसार विष हटाउने अर्को विधि सिस्नो लगाउनु हो । जसलाई आधुनिक अक्कुपञ्चर वा मर्मचिकित्सा विज्ञानको विधा मानिन्छ । लोकोक्ति अनुसार पहिला-पहिला बिसुका दिन स-साना केटाकेटीको नाइटो (फलामको डण्डा वा पनिउँ तताएर) डाम्ने (बाँचो हाल्ने) प्रचलन थियो । यसकार्यले विषबाट मुक्त भै शरीरमा रोगका बिरुद्ध लडने प्रतिरोधात्मक क्षमता हुन्छ भन्ने मान्यता थियो । आजभोलि यो क्रुर प्रचलन लोप भइसकेको छ ।
वैशाख १ गते पुरानो सालको विदाई र नयाँ सालको आगमनमा खुशीयाली मनाइदै साँटिन्छ । विहानै केटाकेटी, बृद्धबृद्धा लगायत सबैजना पवित्र नदी, तीर्थ, धारा, नउलो आदिमा नुहाउछन् । पारम्परिक धार्मिक स्नान गर्न भारतको हरिद्वार र ऋषिकेशमा लाग्ने धार्मिक स्नानमेला जान्छन् । यसदिन सूर्य मेष राशिमा संक्रमण गर्छ भन्ने लोकमान्यता भएकोले मेष संक्रान्ति वा बिसुवत संक्रान्ति भनिन्छ । पर्वलाई हिन्दू, बौद्ध र सिख आदि धर्मावलम्बीले धुमधामसँग मनाउछन् । वैशाखको पहिलो दिन नेपाल, भारत लगायत संसारका विभिन्न देशमा वसोवास गर्ने हिन्दू समूदायले बिसु पर्व मनाउछन् । सूर्य विषवत रेखामा जाने हुँदा बिसु भनिन्छ । बिसु सङ्क्रान्तिलाई “अपुछो दिन” अर्थात् साइत हेर्न नपर्ने दिनको रुपमा मानिने हुँदा शुभकार्य सम्पन्न गरिन्छन् । नयाँ वर्षको आगमनमा नयाँ कामको थालनी गरिन्छ । सकभर एकआपसमा बोल्दा शुभ र प्रिय वचनको प्रयोग गर्नु पर्छ भन्ने लोकमान्यता छ । ज्योतिष शास्त्रानुसार चैत्र शुक्ल प्रतिपदालाई नववर्ष आरम्भ भएको मानिन्छ ।
नेपालमा विक्रम सम्वत्मा आधारित सरकारी पञ्चाङ्ग भएकोले वैशाख १ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुन्छ । नेपालको राष्ट्रिय पात्रो हिन्दू पञ्चाङ्गमा आधारित छ । विक्रम सम्वत् नेपालमा मात्र नभएर भारतको उत्तराखण्ड, कर्नाटक, केरल राज्य र पञ्जाब आदिमा पनि सोही दिनलाई वैशाखी पर्वको रुपमा धुमधामसँग मनाइन्छ । विक्रम सम्वत् गुप्त वंशीय पराक्रमी राजा विक्रमादित्यले चलाएका थिए । विक्रम सम्वत् प्राचीन हिन्दू परम्परा एवं वैदिक समयाङ्कनमा आधारित छ । अङ्ग्रेजी सम्वत् (इस्वी सम्वत्) भन्दा विक्रम सम्वत् वर्ष ५६ वर्ष ८ महिना १५ दिन अगाडि मानिन्छ । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले ग्रह नक्षत्रसँग सम्बन्धित छ । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु पूर्व हिमवत्खण्डका राज्यहरूमा विक्रम सम्वत् प्रचलित थियो । उनले पनि एकीकरण पश्चात विक्रम सम्वत् नै चलाए ।
बैतडीमा लोक परम्पराः विहानै उठेर स्नान गर्ने, पूजापाठ गर्ने, दिनमा मिठो मसिनो भोजन गर्ने गर्दछन् । यसदिनमा जोखिम मोलेर काम गर्दैनन् । चोटपटक लागेमा वर्षभर दुःख पाइन्छ भन्ने मान्यता रहदै आएको छ । धेरै टाढा हिँड्नु परेमा वर्षभर हिँडि रहनु पर्छ भन्ने मनोविज्ञान हावी छ । शुभ दिन भएकोले साइत हेरिरहनु नपर्ने हुँदा अन्नप्रासन गर्ने, ब्रतबन्ध गर्ने, विवाह गर्ने, नयाँ घर निर्माण गर्ने, व्यापार व्यवसायको थालनी गर्ने लगायत नयाँ कार्यको शुभारम्भ गरिन्छ । कूल प्रोहित घरमा आएर सम्वत्सर सुनाउने र घरका सदस्यको राशीफल सुनाएर शुभ अशुभ भन्ने प्रचलन छ ।
अँसेली लगाउनेः समथर भाग वा नदीका किनार (सेरा) आदि स्थानमा गहुँ, जौं आदि बाली पाकिसकेका हुँदा सोही दिन अँसेली लगाउने (आँसीले काट्ने) प्रचलन छ । अँसेली भनेको बाली काट्न आँसीको सहायताले गहुँबाली काट्नुलाई भनिन्छ । अँसेली लगाउदा घरको मूलीद्वारा शुभारम्भ गरिन्छ । पहिला पहिला ग्रहदशा हेरी शुभ भएको मानिसले मात्र अँसेली लगाउथे ।
कलै लगाउनेः प्रायः खेतमा पाक्दै गरेको जौ कूल देवताको मन्दिर र घरको मूल ढोकामा गोबर थुम्का लगाएर जौ बाला लगाइन्छन् । कलै लगाउँदा नयाँ वा सफा वस्त्र लगाएर लगाइन्छ ।
स्नान गर्नुका पछाडिको रहस्यः हिन्दूहरुका अनुसार हजारौं वर्षअघि वैशाख सङ्क्रान्तिका दिन देवी गंगा पृथ्वीमा अवतरण भएको जनविश्वास छ । गङ्गाको सम्मानमा हिन्दूहरू गंगाको किनारमा परम्परागत पवित्र स्नान गर्न भेला भै पूजाआजा गरी उत्सवमय स्नान गर्दछन् । यसदिनमा नुहाएमा वर्षभर रोगब्याधी लाग्दैन् भन्ने लोकपरम्परा छ । नयाँ कार्यको शुभारम्भ गरे वर्ष भर सफल भइन्छ भन्ने जनविश्वास छ । गङ्गास्नान गर्न नसक्नेहरु विहानै उठेर नजिकको धारा, पँधेरो, नदीनाला आदि स्थानमा अनिवार्य स्नान गर्छन् । नुहाउनु अघि टाउकोमा वनगुलाब (कुची) फूल राखेर “फूल चढ्यो, विष बग्यो” भन्ने प्रचलन छ ।
दान दक्षिणा दिनेः सम्वत्सर सुनाउने ब्राह्मण, छोरीचेली, ज्वाइँ, भान्जाभान्जी आदिलाई मिठो मसिनो खुवाएर दक्षिणा दिइन्छ ।
सिस्नो लगाउने परम्पराः खाना खाएर दिनमा शुभकामना स्वरुप एकअर्काले विष (बिख) नलागोस भनेर सिस्नु लगाउने परम्परा छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजु बीच सिस्नु खोजी खोजी लगाउने गरिन्छ ।
खानाको परिकारः दिनमा दाल, भात, खीर, बटुक, छाचबटुक, तरकारी, अचार र बेलुका सेल, पुरी, लउन, तरकारी, अचार पुवा आदि घीपाको/तेलपाको/चिउरीको घीपाको पकाएर खान्छन् ।
सिस्नो लगाउने, मिठोमसिने खानेकुरा खाने, स्नान गर्ने, छोरीचेलीलाई र ब्राह्मणलाई दानदक्षिणा दिने आदिको प्रचलन सबैजसो स्थान र जिल्लामा भए पनि केही फरक चालचलनका बारेमा निम्न प्रकार देखिन्छः
डोटीको प्रचलन– विहानै नुहाइधुवाई गरी मिठोमसिनो खानेकुरा पकाएर खान्छन् । निरोगी भइयोस भनेर एकअर्कालाई सिस्नो लगाउने, दहीचिउरा खुवाउने र गाईगोरुमा रोगब्याधि नलागोस भनेर गोठालाले गाईगोरु खेद्ने लठ्ठी एक स्थानमा जम्मा गरी पूजा गरी सेलाउने । केही भागमा पुतलालाई घर पठाउने ।
अछाम– कूलदेवताको पूजा गर्ने प्रचलन छ । मिठोमसिनो खानेकुरामा बटुक, डुब्का, चुकानी, मांसाहार आदि पकाएर खाने । तीनदेखि सजाएर खेलमाल गरेकी पुतलालाई घर पठाउने आदि ।
बझाङ्गः विहानै तितेपातीले नुहाउने, खाना विशेषमा बटुक, डुब्का, चुकानी, मांसाहार, आचार आदि पकाएर खाने । बिसुका दिन घरमा भएका छोरा मान्छे जतिले एक एक घङारुका लट्ठी आफ्ना लागि र एउटा भगवानलाई थप एक गरी जम्मा दुईटा लट्ठी बनाई दहिचामलका अक्षता सहित गाउँका प्रत्येक घरवाट ल्याइ एउटै स्थानमा पूजा गरी सेलाउछन् । छोरीचेलीले कपडाका पुतली (राधा र कृष्णका डमी) बनाइ पूजा गरी जलाशयमा सेलाउछन् ।
दार्चुलाः दार्चुलामा पनि बैतडीको जस्तै प्रचलन छ । सोही दिन मार्माको गुल्जरमा बिसु जात्रा लाग्दछ ।
डडेल्धुरामाः विहानै नुहाइधुवाइ कूल देवताको पूजा गरिन्छ । बिसुको दिन विशेष खाना गतानी डुब्का, निसौसे, रोट, माणा पकाएर खाइन्छ । चेलीछोरी माइत आउछन् । देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजुले एकअर्लाई सिस्नु पानी छ्यापेर रमाइलो गर्छन् । प्रत्येक घरमा दही र चामल भिजाएर प्रसादको रुपमा छरछिमेकमा बाँडेर खाइन्छ ।
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
बाजुरामा विषु– हिमाली जिल्ला भएकोले प्रायः वैशाखमा भोकमरी/अनिकाल हुन्छ । रोगव्याधि र महामारीको सम्भावना बढ्छ । वैशाख १ गतेको विहानै (विषु) स्नान गर्ने, घरआँगन लिप्ने, सफा गर्ने, देवदेवताको दर्शन गर्न मन्दिर जाने, मिठोमसिनो पकाएर खाने, एकआपसमा भेटघाट गरी शुभकामना साटासाट गर्ने गरिन्छ । विष फाल्न सिस्नो लगाइन्छ । देवर भाउजुबीच सिस्नुपानी छ्यापिन्छ । बाघ खेल खेल्ने, लठ्ठी पुजेर रमाईलो गर्ने र लोकदेउडा खेलिन्छ ।
विदेशी घर फर्कनेः पहिले सञ्चारको पहुँच नभएको समयमा कामको सिलसिलामा देश र विदेश गएका सदस्यहरु अनिवार्य बिषुपर्वमा फर्कन्थे । यदि कोही बिषुमा घर फर्केनन भने अनिष्ट भएको अडकल गरिन्थ्यो । परलोक भएको अर्थ लगाइन्थ्यो । खबर आदान प्रदान गर्न सञ्चार साधनको अभावले बिसु पर्वमा घर फर्कनु जीउदो छ भन्ने प्रमाणका रुपमा लिइन्थ्यो ।
सिस्नु लगाउनुको औषधीय विश्वासः यस दिनमा सिस्नु लगाउदा वा छ्याप्दा शरीरमा भएको छालासम्बन्धी रोग, वाथ रोग निर्मूल हुने लोकविश्वास रहेको छ ।
विषोपचार पर्व: बिसुपर्व विष पखाल्ने पर्वको रुपमा मनाइन्छ । नुहाउदा र सिस्नो लगाउदा विष जान्छ भन्ने मान्यता छ ।
औषधीय दृष्टिकोणले सिस्नोको विविध प्रयोगः दुहुना गाईवस्तुलाई सिस्नोको खोले खुवाए दूध र घी हुन्छ भन्ने लोकविश्वास छ । सिस्नोको खोले खुवाउनाले दूध बढी दिने र घिउ लाग्ने हुन्छ । परम्परागत लोक उपचारमा मर्केको, कुकुले टोकेको र ढिकी कुट्दा काटिएको घाउमा सिस्नो लेप लगाइथ्न्यो । गर्भ नरोकिने गाईवस्तुमा भालेलाग्ने बित्तिकै योनीमा सिस्नो लगाएर गर्भ रोकिन्छ भन्ने मान्यता थियो । आधुनिक आयुर्वेदिक चिकित्सामा चिनी रोग, उच्च रक्तचापका बिरामीले सिस्नो खान्छन् । सिस्नोद्वारा बाथरोग र छालारोगीको उपचार गरिन्थ्यो । आजभोलि गरिने अकुपन्चरझैँ सिस्नोको माध्यमले उपचार गरिन्थ्यो । बाथले गढिएका बिरामीले दुःख्ने स्थानमा सिस्नो लगाउने गर्दछन् ।
प्राचीन कालमा सिस्नोको प्रयोगः अनिकाल परेको समयमा सिस्नो पकाएर खाने गरेको बुढापाका बताउछन् । सिस्नो जीवन निर्वाहको अन्तिम र वैकल्पित खाद्यपदार्थ थियो । सिस्नोको लोत/लोक्ता/रेसाबाट धागो बनाइन्छ । धागोबाट खस्रो तथा मोटो कपडा जस्तैः दरी, कोट, झोला, जुता, नेपाली कागज बनाउने आदि बनाइन्थ्यो । अहिले आधुनिक कपडाले सिस्नोलाई विस्थापित गरेको छ । आधुनिक चिकित्सा विज्ञानले पनि सिस्नोमा भिटामिन-इ, क्याल्सियम, आइरन, फोस्फोरस आदि पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउनेको रुपमा वर्णन गरेको पाइन्छ ।
नयाँ वर्ष मनाइने प्रचलनः वैशाख एक गते सरकारी विदा दिइन्छ । विक्रम सम्वत्को नयाँ वर्षको पहिलो दिन बनाउने परम्परा हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीमा पौराणिककालदेखि मनाइदै आइएको छ ।
आधुनिक परम्पराः सामाजिक सञ्जालमा चैत्र महिनाको अन्तिम सातादेखि नयाँवर्षको शुभकामना आदान प्रदान गर्ने गरिन्छ । एक गतेको दिन विभिन्न जिल्ला र स्थानमा साँस्कृतिक कार्यक्रम गरिन्छन् । सरकारी कार्यालयका प्रमुख, व्यापारी, राजनीतिज्ञ, उद्योगीले आदिले कार्ड छपाएर गन्यमान्य, आफन्त, बुद्धिजीवि, साथीभाइ आदिलाई शुभकामना कार्ड आदान-प्रदान गर्दछन् । पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सञ्चार माध्यमबाट शुभकामना सर्वसाधारणसम्म पुग्ने गरी प्रसारण गरिन्छ । आजभोलि पदीय, व्यापार व्यवसाय, उद्योग आदिको प्रचार प्रसार गरिने माध्यम नयाँ वर्ष भएको छ ।
विशु पर्वको महत्व: वसन्त ऋतुको आगमनले प्राकृतिक वातावरण उल्लासमय हुन्छ । बिसुपर्व प्राकृतिक, साँस्कृतिक र पौराणिक महत्वका साथ धुमधामले मनाइन्छ । धुमधाम र हर्षोल्लासका साथ मनाइने पर्वले सर्वसाधारण जनताका लागि निकै महत्वपूर्ण छ । पर्व मनाउन छोरीहरु माइत आउछन् । विदेशिएकाहरु घर फर्किन्छन् । ऋण काढेर पनि गरिबगुर्दाले मिठो मसिनो खाने अवसर प्राप्त गर्छन् । नयाँवर्षको आगमन हुने हुँदा घरघरमा नयाँ पात्रो र क्यालेन्डर राखिन्छ । मानिसमा सकरात्मक भाव जागृत हुन्छ । बिसु पर्वको दिन पवित्र र शुभ मानिन्छ ।
पौराणिक महत्वः पौराणिक कथा अनुसार भगवान श्रीकृष्णले नरकासुर राक्षसको वध गरेको जनविश्वास रहेको छ । यसदिनलाई दुष्टताको अन्त्य भएको खुशीयाली मनाइन्छ । भगवान विष्णु र कृष्णको पूजाआजा गरिन्छ । वैशाख १ गतेको दिन चोटपटक नलागोस, दुःख पीडाको खबर सुन्न नपरोस भनेर शुभकार्य मात्र गरिन्छ । घरायसी अप्ठेरो नपरुन्जेलसम्म गाह्रो काम गरिदैन् । यसदिनमा सकुसल भइयो भने वर्षभर सकुसल भै खुशीयाली, समृद्धि र निरोगी भइन्छ भन्ने आममान्यता छ ।
विक्रम सम्वत् देशको ठूलो उत्सव: नयाँ वर्षको उपलक्ष्यमा देशभर सार्वजनिक विदा हुन्छ । राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख लगायतले देशवासीका नाममा औपचारिक शुभकामना दिन्छन् । अनेकन साँस्कृतिक कार्यक्रम हुन्छन् । देशभर खुशीयालीको वातावरण हुन्छ । गाउँदेखि शहरसम्म दिपावली झैँ हुन्छ । शहरीयाहरू नयाँ वर्ष मनाउने क्रममा घुम्ने, वनभोज गर्ने, नाचगान गर्ने, भेटघाट गर्ने, मिठोमसिनो परिकार खाएर हर्षोल्लासले मनाउँछन् ।
बिसु पर्वको इतिहास: यसको इतिहास धेरै पुरानो देखिन्छ । चैत्र शुक्ल प्रतिपदामा नयाँ वर्षको शुभारम्भ भएको मानिन्छ । पर्वको सम्बन्ध कृषि कर्म (फसलसँग) पनि जोडिएकोले यसको जन्म कृषिसँगै भएको अनुमान गर्न सकिन्छ । प्राचीन कालदेखि मनाइदै आइएको पर्व कहिलेदेखि मनाइन थालिएको हो भन्ने विषयमा यकिन तिथिमिति भेटिदैन् । यसका पछाडि अनेकन धार्मिक प्रसङ्ग जोडिएका छन् जसका आधारमा ऐतिहासिक तथ्य पत्ता लगाउन सकिन्छ ।
नरकासुर वधको कथा: भगवान विष्णुका आठौं अवतार योगेश्वर श्रीकृष्णले नरकासुरको वध गरेको प्रसङ्गले छ । वैशाख सङ्क्रान्तिका दिन श्रीकृष्णले नरकासुरको वध गरेको खुशियालीमा विष्णु र श्रीकृष्णको पूजाआजा गरिन्छ । नरकासुरले आफ्नो तपस्याको बलमा अजेय ठानेका थिए । उसले शक्तिको अहंकारमा सर्वशक्तिमान स्वामी कहलिएका इन्द्र, वरुण, अग्नि, वायु आदि देवतालाई परास्त गरेको थियो । शक्तिको दुरूपयोग गर्दै ऋषिमुनी, सन्त महिला (सोह्र हजारको संख्यामा) बन्दी बनाएको थियो । उसले गरेको अन्याय अत्याचारबाट परेशान भएका सबै देवतागण र ऋषिमुनिले श्रीकृष्णसँग नरकासुरलाई मार्न सहयोग मागेका थिए । श्रीकृष्णले उनीहरूको सहयोगलाई स्वीकार गरी नरकासुर माथि सुदर्शन चक्र प्रहार गरी वध गरेका थिए । आम जनजीवनलाई प्रभावित हुनेगरी आतङ्क मचाइरहेको अत्याचारी, अहंकारी, दुष्ट तथा आततायी नरकासुरको अन्त भएको खुशियालीमा बिसुपर्व धुमधामसँग मनाइदै आएको ऐतिहासिक तथ्य देखिन्छ ।
भेटघाटको पर्व: विदेश गएका परिवारजन चैत्र मसान्तसम्म घर आइपुग्छन् । विवाहित चेलीहरू माइतमा बोलाइन्छन् । पुगेसम्म मिठोमसिनो खान्की पकाएर खाने प्रचलन छ । “मरुला भनेर बिसु खानु, बाँचे भनेर ओल्को खानु” भन्ने कथन प्रचलित छ ।
पहिला पहिला भारत रोजगारीमा गएकाहरु बिसु पर्वमा घर फर्कन्थे । सुख दु:खमा एकाकार भएर आर्थिक अवस्थाले भ्याएसम्म बिसु पर्वलाई जो कोहीले पनि धुमधामसँग मनाउने गर्छन् । शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बिसु पर्वको रौनक अधिक हुन्छ । बिसुपर्व ऐँचोपैँचो र ऋणदान गरेर पनि आवश्यक सरसामग्रीको खरिद गर्न सीमावर्ती भारतीय बजार झुलाघाट/जुलाघाट प्रचलन थियो । आजभोलि प्रत्येक सदरमुकामा यातायात साधन पुगेका हुँदा झुलाघाट जाने देखिदैनन् । किनबेचका लागि भारतीय बजार जानेको संख्या ह्वात्तै घटेको छ ।
मनोरञ्जनको पर्व: अछाम, बझाङ, डोटी, दार्चुला, बाजुरा लगायतका केही जिल्लामा डेउडा खेल्ने गरिन्छ । विशेषगरी अछाम, डोटी, बझाङ्ग आदी जिल्लामा बाघ खेल, देउडा खेल्ने, पुतला सेलाउने, चाली खेल्ने, गोडलौडी खेल्ने, काँकर (लिङ्गो) ठड्याउने र बिषुलौडा चलाउने आदि विविध कार्यक्रम गरी मनाइन्छ ।
सिस्नो पर्व: बैतडी, डोटी, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा र दार्चुलामा एकआपसमा सिस्नो लगाउने गरिन्छ । लोक मान्यता अनुसार यस दिनमा सिस्नो लगाउँदा वर्षभर रोगव्याधी लाग्दैन भनिन्छ । देवर-भाउजु, नन्द-भाउजु र साली-भिनाजु, साथीभाइका बीचमा सिस्नु लगाउँदा कहिलेकाहीँ प्रतिशोधको रुपमा झैझगडा हुने हुन्छ ।
अन्नादिको पर्व: बिसु पर्वको समयमा गहुँ, जौ, मुसुरो, तोरी, केराउ आदि फसल पाक्ने समय हुन्छ । दिउँसोको खानामा नयाँ अनाज (गहुँ वा जौ) लाई छुटाइ भात वा खीरमा मिसाएर न्वागी खाने गरिन्छ । दिउँसो गहुँको उमा (बाला सहित आगोमा पोलेर) र जौको कुमास (जौ छुटाएर कढाईमा उसिनेर ओखलमा कुटेर) खाने प्रचलन छ । उमा र कुमासलाई प्रसादका रुपमा वितरण गरिन्छ । शुभ दिनको शुभ साइतमा उपस्थित सबैलाई नयाँ अनाज खानाले पछि साइत हेर्न नपर्ने भनाइ छ ।
मानसी बिसु पर्वलाई प्रकृतिको पूजासँगै धर्म, कर्म, दान, तप, ब्रत, पुण्य, अन्नादी एवं पशुपालनको पर्वको रूपमा बहुआयामिक तवरले मनाइने गरिन्छ । बिसुले समूदायको भलाइ, एकता, प्रेम र सद्भावको सन्देश दिन्छ । बिसुपर्व सनातनदेखि चलिआएको सांस्कृतिक पर्व मध्ये एक हो । बिसुले सत्य र नैतिकताको मार्गदर्शन गरेको छ । मानसी संस्कृतिको गौरवमय इतिहासलाई संरक्षण र सम्वर्द्धन गरेको छ ।
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)