महेन्द्रनगर । कञ्चनपुरमा लम्पी स्निबाट हालसम्म एक सय बढी पशु चौपाया मरेका छन् । जिल्लाभर अढाई बढी पशु चौपाया संक्रमित भएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका अनुसार दोधारा चाँदनीमा सबैभन्दा बढी पशु चौपाया लम्पी स्किन संक्रमण देखिएको छ । केन्द्रका अनुसार हालसम्म दोधारा चाँदनीमा ५७ पशु चौपाया मरेका छन भने ७ सय १९ पशु चौपाया संक्रमित छन् ।
‘लम्पी स्किन संक्रमण फैलिन सुरु भएपछि हालसम्म सबै स्थानीय तहबाट प्राप्त जानकारीका आधारमा ११९ पशु चौपाया मरेका छन्, मर्नेमा गाई, गोरु र बाच्छा बाच्छी छन्’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख महेन्द्रराज पाण्डेयले भने,‘जिल्लाभर संक्रमण देखिएको छ, हालसम्म २६१५ पशु चौपाया संक्रमित छन् ।’
कञ्चनपुरमा तीन वर्ष अघि देखिएको लम्पी स्किन संक्रमण यस वर्ष गत महिनादेखि देखिएको हो । अहिले संक्रमण सबै ९ स्थानीय पालिकासम्म फैलिएको छ ।
लालझाडीमा सबैभन्दा कम १० चौपायामा संक्रमण देखिएको छ । लाझाडीमा एक पशु चौपाया मरेको छ । त्यसपछि शुक्लाफाँटामा दुई, बेलडाँडी गाउँपालिका ५, बेलौरी नगरपालिका ९ र बेदकोट नगरपालिकामा ५ चौपाया लम्पी संक्रमणबाट मरेका छन् । सबैभन्दा बढी दोधारा चाँदनीमा ५७ पशु मरेका छन् । भीमदत्त नगरपालिकामा २८ र पनुर्वास नगरपालिकामा १२ पशु मरेका छन् ।
कार्यालयका अनुसार भीमदत्तमा ६ सय १८ पशु चौपाया लम्पी स्किनबाट संक्रमित भएका छन् । शुक्लाफाँटा नगरपालिकामा ३ सय २९ पशु चौपाया संक्रमित छन् । यसैगरी कृष्णपुर नगरपालिका २ सय, पुनर्वास २ सय ६५, बेलडाँडी ९७, बेलौरी १ सय ५० र लालझाडी १० पशु चौपाया संक्रमित भएका छन् ।
पुनर्वांस क्षेत्रमा छाडा पशु चौपायामा पनि लम्पी संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पाण्डेयले बताए । ‘भीमदत्तमा खल्ला मुसेट्टीबाट संक्रमण देखिएको हो, दक्षिणतिर छाडा पशु चौपायामा देखिएको छ’ उनले भने ।
संक्रमित लामखुट्टे, झिंगाले पशुलाई टोकेर सर्ने लम्पी स्किनका लागि चाहिने खोप नभएपछि अहिलेसम्म संक्रमित पशु चौपायालाई औषधि खुवाउने गरिएको छ ।
‘भ्याक्सिन आएको छैन, त्यसका लागि पहल गरि रहेका छौ, अहिलेसम्म संक्रमित पशुलाई औषधि दिँदै आएका छौ’ कार्यालय प्रमुख पाण्डेयले भने,‘खोप आएपछि सबैलाई लगाउँछौ ।’
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यालयबाट सबै विवरण माग गरेपछि पठाइएको छ । कार्यालयले सबै पालिकासित समन्वय गरी मन्त्रालयलाई खोप लगाउनु पर्ने चौपायाको विवरण उपलब्ध गराएको छ । सबै पालिकाबाट आएका तथ्याङ्कका आधारमा लम्पी स्किन विरुद्ध एक लाख चौपायालाई खोप लगाउनु पर्ने देखिएको छ ।
कार्यालयमा हालसम्म अढाई सय बढी पशु चौपायाको उपचार गरिएको छ । ती सबै पशु चौपायाका लागि कार्यालयबाट औषधि दिइएको छ ।
सरकारी स्तरबाट खोप लगाउन ढिलो भएपछि निजी क्षेत्रका पशु स्वास्थ्यर्मीले तीन खोप लगाउन थालेका छन् । भीमदत्त, बेदको र शुक्लाफाँटामा प्याराभेटले खोप लगाउन सुरु गरेका छन् ।
‘उच्च ज्वरो आउने, शरिरमा खटिरा आउने लगायतका यसका लक्ष्मण छन्, यसलाई रोक्ने प्रमुख उपाय खोप हो’ उनले भने,‘औषधि खुवाउँदा निको पनि हुन सक्छन, नहुन सक्छन्, त्यसैले खोप अनिवार्य रुपमा लगाउनु पर्छ, आउने बित्तिक्कै सबै पालिकामा खोप लगाउँछौ ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेयले खोप र औषधि बाहेक संक्रमणबाट बच्न सरसफाई, लामखुट्टेको नियन्त्रण लगायतका जैविक सुरक्षाका उपायलाई ध्यान दिनु पर्ने बताए । लम्पकी संक्रमणका कारण दुध उत्पादन घट्ने भएकाले सबै किसानले भाईरसबाट जोगिन सुरक्षाका उपाय उपनाउनु आवश्यक भएको उनको भनाई छ ।
गाईभैसीँमा लाग्ने “लम्पी स्किन रोग“ बारे जानकारी
यो एक प्रकारको भाइरस ( पक्स समूहको काप्रीपोक्स भाइरस) बाट गाईभैँसीहरुमा लाग्ने रोग हो । यो रोग भैँसीहरुमा भन्दा गाईहरुमा बढी देखिन्छ ।
पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्व यूरोप, रसिया, काजकिस्तान हुदै बंगलादेश र भारतमा पनि सन् २०२२ को मध्यमा देखा परेको थियो ।
नेपालमा पूर्वी क्षेत्रको मोरङ जिल्लामा यस रोगको लक्षण देखाइ पहिलो रोगी पशु फेला परेको हो ।
हाल सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यस रोगको लक्षण देखाइ सयौँ गाईहरु बिरामी परेको जानकारी आइरहेको हुदा सतर्कता अपनाँऔ ।
रोग सर्ने मुख्य तरिका हरुः
लामखुट्टे, झिङ्गा, किर्ना आदिको टोकाईबाट ।
संक्रमित गाईभैँसीहरुको ओसारपसार र लसपसबाट ।
संक्रमित गाईभैँसी र स्वस्थ्य गाईभैँसीलाई उपचारको क्रममा एउटै सुई प्रयोग गरेमा ।
लम्पी स्किन रोगका लक्षणहरुः
शरिरका विभिन्न भागहरुमा विशेष गरि घाँटी, पछाडिको खुट्टाहरुमा, पेट र थुन वरिपरि सानादेखी ठुला गिर्खा ( दाना) देखिने ।
उच्च ज्वरो आउने (१०४º ँ भन्दा माथि) ।
आँखाबाट कचेरा निकाल्ने ,नाकबाट सिँगान बग्ने तथा मुखबाट धेरै फिँज निकाल्ने ।
संक्रमण दर ५ – ४५ प्रतिशत( %) र मृत्यु दर १० प्रतिशत (%) रहने ।
गर्भ तुहिने तथा थुनेलो को समस्या आउनसक्ने ।
दुहुने गाईभैसीमा दुध उत्पादन २५– ८० प्रतिशतले घट्न सक्ने ।
उपचार तथा रोकथामका उपायहरुः
यो रोग विषाणु ( भाईरस) का कारणले लाग्ने भएकाले ठोस उपचार नभएको र यस
रोगमा पशु चिकित्सक र पशु प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्ने ।
रोगि पशुहरुलाई छुट्टै ठाउमा राखी चाँडो भन्दा चाँडो उपचार गराउने ।
ज्वरो घटाउन मेलोक्सिक्याम, पारासिटामोल को सुइ वा ट्याबलेट दिने ।
छालामा आएका गिर्खाहरु फुटेमा घाउहरुलाई पोटास पानीले नियमित सफा गर्ने ।
रोगको शंका लागेका पशुहरुलाई खुल्ला तथा सार्वजनिक चरन क्षेत्रमा नछोड्ने ।
आफ्नो गोठ वा फार्ममा अनावश्यक व्यत्ति र पशुहरुको प्रवेशमा रोक लगाउने ।
जैविक सुरक्षाका मापदण्ड अपनाउने ।
गोठको नियमित सरसफाई गर्ने ।
गोठ वरिपरिको वातावरण सफा राख्ने ।
पशुको सन्तुलित आहारामा विशेष जोड दिने ।
यो रोगको विषाणु फर्मालिन १%, फिनेल २%, भिरकोन २% हरु संग अति संवेदनशील हुने हुदा यिनिहरुको नियमित प्रयोग गरी विषाणुलाई निष्क्रिय पार्ने ।