महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी किनारमा चार करोड खर्च गरी बनाएको अन्त्येष्टि घाट सञ्चालनमा नआउँदा दाहसंस्कारमा सास्ती खेप्नु परेको छ । बर्षा याम सुरु भएर महाकाली नदीमा पानी सतह बढेपछि स्थानीयलाई छलेर शव दाहसंस्कार गर्नु पर्ने अवस्था आएको छ ।
नदीको सतह बढेर नदी किनारमा शव दाहसंस्कार गर्दा स्थानीयले अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण शव दाहसंस्कार लागि महाकाली जाने सबैले सास्ती खेप्दै आएका छन् ।
बर्खा सुरु हुन अघि महाकाली नदीको बिचमा भाग लगेर शव दाहसंस्कार हुने गरेको थियो । अहिले नदीमा पानीको सतह बढेर शवलाई पूरानो ठाउँमा लैजान नसकिने अवस्था आएपछि किनारमा दाहसंस्कार गर्न पर्ने बाध्यता आएको हो ।
स्थानीयले शव जलाउँदा निस्केको गन्ध र फोहर घरसम्म आएर बस्न नसकिने अवस्था आएको भन्दै दाहसंस्कारमा अवरोध गर्दै आएका छन् । उनीहरु शव जलाउँदा निस्केको गन्धले घरभित्र बस्न नसकिन अवस्था आएको बताउँछन् । केही स्थानीयले कुकुर लगायतले शव जलाएपछि बचेका हड्डी घरभित्र ल्याएकोले जलाउन रोक्न बाहेक अरु विकल्प नभएको बताए ।
स्थानीयले दाहसंस्कार लागि शव पुगाएर बिसाएपछि अवरोध गरी धपाउने गरेका छन् । केही दिन अघि आफन्तको मलामी गएका भीमदत्त नगरपालिका ४ का नर सिह धामीले दाहसंस्कार गर्न निकै सास्ती परेको बताए ।
‘दाहसंस्कारका लागि शव बिसाएपछि स्थानीयले आएर यहाँ जलाउन पाउँदैन भन्यो, अर्को ठाउँमा लग्यौ, त्यहाँ पनि दिएन, यसरी विहान पुगाएको शव बोकेर दिनभरि लखेटियौ’ उनले भने,‘त्यसपछि अन्तिममा छलेर लुकेर जलाएर आयौ ।’
महाकाली नदीमा स्थानीयले दैनिक रुपमा शव दाहसंस्कारमा अवरोध गर्दैै आएको उनले बताए । ‘मरेको मान्छेले निर्वाध रुपमा जल्नु पाउनु पर्ने हो, यो त धेरै ठूलो समस्या भयो’ उनले भने,‘सम्बन्धित निकायले यसबारे गम्भीर बन्नु पर्छ ।’
महाकाली नदीको पूरानो शव दाहस्थल जाने बाटोमा पानीको निकास नभएर जान नसकिएको हो । धामीले बाटोमा पानीको निकास गरेर भए पनि नदीमा शव लगेर जलाउन सकिने अवस्था भएको बताए ।
भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले वडा कार्यालयले स्थानीयलाई पटक पटक सम्झाउँदा पनि उनीहरु आफूलाई परेको समस्याका कारण मान्न तयार नभएको बताए ।
‘शव जलाउँदा निस्केको गन्ध र त्यसबाट निस्कने फोहरले स्थानीय समस्यामा छन्, त्यस कारण वडा कार्यालयले जति सम्झाउँदा पनि मान्दैनन्’ उनले भने ।
वडा अध्यक्ष थापाले दाहसंस्कारका लागि बनाएको घाट सञ्चालनमा आए स्थानीयका समस्या समाधान नहुने बताए । उनले घाटमा पानीको व्यवस्था नभएकाले शव जलाउँदा निस्कने फोहरका कारण स्थानीयको समस्या हल नहुने बताए ।
भीमदत्त नगरपालिकाले सघन सहरी विकास कार्यक्रम अन्र्तगत बनाएको अन्तेष्टि घाट अहिलेसम्म नगरपालिकालाई हस्तान्तरण गरिएको छैन । शव जलाउँदा निस्कने फोहरको व्यवस्थापनका लागि व्यवस्था नभएकाले नगरपालिका घाट व्यवस्थापन जिम्मा लिन आनाकानी गर्दै आएको छ ।
‘भीमदत्तले जिम्मा लिए पनि शव जलाउँदा निस्केन फोहर बगाउने पानीको व्यवस्था नभई सञ्चालन हुन सक्दैन’ वडा अध्यक्ष थापाले भने,‘त्यसका लागि यो घाटमा ती फोहर बग्ने गरी ठूलो खोला बनाउन आवश्यक छ।’