महेन्द्रनगर । डेढ महिनादेखिको तालाबन्दीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयभित्र आन्तरिक असन्तुष्टि देखिन देखिन थालेको छ । विश्वविद्यालयमा तालाबन्दी जारी रहेका बेला विश्वविद्यालयभित्र शिक्षक कर्मचारी एक अर्का विरुद्ध देखिन थालेका छन् ।
विश्वविद्यालयको सिएसआइटीका विभागीय प्रमुख नियुक्त कर्णदेब भट्ट परीक्षा नियन्त्रकमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले परीक्षा नियन्त्रण कार्यालयको बेथितिको जड परीक्षा नियन्त्रक भएको उल्लेख गरेका छन् ।
विभागीय प्रमुख गत महिना विश्वद्यिालय कार्यकारी परिषद्बाट विभागीय प्रमुखमा नियुक्त गरिएका हुन् । उनले परीक्षा नियन्त्रण कार्यालयको बेथितिको प्रमाण आफूसित सुरक्षित भएको फेसबुकमा दावी गरेका छन् ।
विश्वविद्यालय कार्यकारी परिषद्ले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेलाई पुग्ने गरी विभागीय प्रमुख र क्याम्पस प्रमुख भागबण्डा गरी नियुक्त गरेको थियो ।
सत्ता गठबन्धनका माओवादी, काँग्रेस, एमालेले दुई÷दुई तथा एकीकृत समाजवादीले एउटा विभागको जिम्मेवारी दिइएको थियो । दुई विभागीय प्रमुख पाएको माओवादी केन्द्रको कोटाबाट भट्ट सिएसआइटीको प्रमुख भएका हुन् ।
दलीय भागबण्डामा गरिएको नियुक्ति खारेजीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले झण्डै डेढ महिनादेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले प्रश्नपत्र हुबहु दोहोरिएको भन्दै २५ दिन अघि परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो ।
तालाबन्दीका कारण केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालय दुबैमा कामकाज ठप्प हुन पुगेका छन् । ती दुबै कार्यालयका कर्मचारी घरमा बसि रहेका छन् ।
तालाबन्दी खोल्ने प्रयास नगरिएकोमा विश्वविद्यालय नेतृत्वमाथि आक्रोश पोख्न थालिएको छ । अहिले विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी र रजिष्ट्रार यज्ञराज पाठक आक्रोशको निशानामा परेका छन् । उनीहरुमाथि तालाबन्दीको समयमा निजी कलेजलाई आफू खुसी सम्बन्धन दिने तयारीमा लागेको गम्भीर आरोप लागेको छ ।
केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने कुनै प्रयास नगरी उपकुलपति जोशी र रजिष्ट्रार पाठकले भदौ १ गते सम्बन्धका लागि सूचना जारी गरेका छन् ।
उपकुलपति जोशीको तीन महिनापछि कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिन लाग्दा सम्बन्धनका लागि अघि बढेका हुन् ।
विश्वविद्यालय नेतृत्व तालाबन्दीले आलोचित हुन थालेपछि विश्वविद्यालयभित्र एक अर्कासित असन्तुष्टि पोख्न थालिएको एक अधिकारीले बताए ।
ती अधिकारीले विश्वविद्यालयभित्र एक अर्काको विरोधले संस्था कमजोर भएर धराशायी हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।