ghar sansar

समयमै ध्यान दिन नसके ब्रह्मदेबमा काल बन्न सक्छ सीमा नाकाको यो बाटो !

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजारमा कल्भर्टसित जोडिएको बाटो बिग्रिएपछि स्थानीयले आवागमन सास्ती खेप्नु परेको छ । एक साता अघि पानीले ब्रह्मदेब बजार पश्चिममा कल्भर्टसित जोडिएको बाटोको ग्राभेल बगाएको थियो ।

ग्राभेल बगेपछि धसिएको बाटोको सतह भन्दा कल्भर्ट अग्लो भएर सवारी चलाउन नसकिने अवस्था आएको हो । बाटो बिग्रिएपछि कल्भर्ट वारिपारी सवारी छाडेर नेपाल भारत दुबै देशका वासिन्दा आवागमन गर्न बाध्य छन् । यो बाटो दुबै देशका वासिन्दाले दैनिक प्रयोग गर्दै आएका छन् ।

lotus institite

ब्रह्मदेब बजारका व्यवसायीहरु बाटोको ग्राभेल बगेपछि सवारी साधन चलाएर आउजाउ गर्न समस्या भएको बताउँछन् । ‘कल्भर्टमा छेउमा बाटोको ग्राभेल बगाएपछि गाडी, मोटरसाइकल, साइकल कुनै सवारी त्यहाँ चलाउन सक्ने अवस्था छैन’ स्थानीय राजेन्द्र प्रसाद पनेरुले भने,‘हातले समातेर बल्लतल्ल कल्भर्टमा चढाएर वारपार गर्न पर्ने बाध्यता छ ।’

२०६४ मा नालामा कल्भर्ट बनाएपछि बाटोमा ग्राभेल हालिएको थियो । अहिले भारतीय अवरोध आउने आशंकामा बाटोमा ग्राभेल हाल्ने कार्य अहिलेसम्म हुन सकेको छैन । डेढ दशक अघि ग्राभेल गर्दा भारतीय अवरोध नभएको स्थानीय बताउँछन् ।

दैनिक आउजाउ हुने बाटो मर्मत नभए दुर्घटना भएर अप्रिय घट्ना हुन सक्ने पनेरुले बताए । ‘कति बेला बेला दुर्घटना भएर जे नि हुन सक्छ, हामी यहाँ बस्ने भन्दा बाहिरबाट आउने नयाँ मान्छे यसमा पर्न सक्छन्.’ उनले भने ।

बिग्रको बाटो बनाउन व्यवसायी स्थानीय सरकार, जनपद, सशस्त्र प्रहरी र प्रशासन कार्यालयसम्म पुगेका छन् । यी सबै ठाउँमा धाएका उनीहरु अहिलेसम्म बाटो नबनेपछि निराशा पोख्न थालेका छन् ।

‘धेरै ठाउँमा पुगि सक्यौ, यो धेरै ठूलो काम नै होइन, दुई चार कट्टा ग्राभेल हालेर बाटो सम्याई दिए हिँड्नलाई पुगि हाल्थ्यो, अरु त हामीले नि भनेका छैनौ’ स्थानीय पनेरुले भने,‘अहिले सात आठ दिन भो, हुन्छ भन्ने बाहेक केही पाएका छैनौ ।’

ब्रह्मदेब बजार व्यवस्थापन समितिका सचिव यज्ञराज भट्टले बाटोका लागि भेट्न कोही बाँकी नभएको बताए । ‘वडादेखि नगरपालिका र सशस्त्र जनपद, प्रशासन सबैसम्म पुगि सकेका छौ’ उनले भने,‘बाटो जस्तो छ, त्यस्तै छ, अहिलेसम्म केही भएको छैन ।’

व्यवसायी आफैंले पनि बाटोमा मर्मतका लागि अघि सरेका छन् । सशस्त्र प्रहरीको साथ नपाएपछि उनीहरु पछि मर्मत कार्यबाट पछि हटेको अवस्था आएको बताउँछन् । ब्रह्मदेबस्थित सशस्त्र प्रहरीको बिओपीले भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले रोक्ने र सशस्त्रलाई माथिको निर्देशन नभएको भन्दै मर्मत कार्य रोकेको थियो ।

व्यवसायीले सिमेन्ट, ग्राभेल लगायतका सामाग्री जुटाएर बाटो मर्मत गर्न खोजेका थिए । आइतबार नाकामा भेटिएका सशस्त्र प्रहरीले बाटो मर्मत थालेका स्थानीय आफैंले राति समान उठाएर लगेको आरोप लगाए ।

ब्रह्मदेब बजार व्यवस्थापन समितिका सचिव भट्ट नेपाली भूमिमा बाटो बनाउन भारतीय एसएसबीसित सल्लाह लिनु पर्ने कुनै आवश्यकता नभएको बताउँछन् ।

‘यो नेपाली भूमि हो, भारतले विवादित छ भन्दैमा हाम्रो भूमिमा बाटो भारतलाई सोध्नु पर्छ भन्ने कहाँ छ’ उनले भने,‘अब नेपालकै सुरक्षा निकाय प्रशासन, भारतले विवाद छ भनेर नबनाउ भन्छ भने यो त अचम्मको कुरा भो त ।’

नेपाली भूमि भएकाले भारतको कुरालाई वास्ता नगरी अघि बढ्नु पर्ने उनको भनाई छ । ‘भारतले के भन्छ, के गर्छ भनेर हेर्न त हाम्रो गल्ती हो’ उनले भने,‘पेलेर बाटो बनाउनु पर्छ ।’

भारतले यस अघि विवादित भूमि भन्दै बाटोमा कालोपत्रे कार्यमा अवरोध गरेको थियो । भीमदत्त नगरपालिकाले ठेक्का सम्झौता गरी निर्माण सुरु गरेपछि सडक कालोपत्रे निर्माण कार्य रोकिएको थियो । अहिलेसम्म सडक कालोपत्रे निर्माण अघि बढेको छैन ।

भारतले त्यसपछि सिद्धनाथ मन्दिर छेउ भएर आएको चक्रपथ निर्माण कार्यमा अवरोध गरेको थियो । भारतीय अवरोधका कारण कल्भर्ट नजिक नाला पछाडि कल्भर्ट बनाउने कार्य रोकिएको थियो ।

‘भारतले त्यो बेला पनि यो बजारसम्म सडक कालोपत्रे गर्न खोजेको थियो, हामीले हाम्रो भूमि हो, हामी गर्न दिँदैनौ भनेपछि पछि हटेको थियो’ स्थानीय पनेरुले भने,‘हामीले हाम्रो हो भनेर दिएनौ, अहिले यो बाटोमा ग्राभेल हाल्न हाम्रा सशस्त्रले एसएसबीले रोक्ने हो भनेर हाल्न दिएको छैन ।’

भारतले टनकपुर बाँधभित्र परेको सीमा स्तम्भ नंंं. ३ लाई देखाउँदै ब्रह्मदेबमा बर्सेनी विवाद झिक्दै आएको छ । त्यहीं विवादका कारण भारतले केही वर्ष अघि सिद्धनाथ सामुदायिक वनलाई वृक्षारोपणमा पनि अवरोध गरेको थियो ।

भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन सिह कार्कीले बाटो बिग्रिएपछि मर्मतका लागि प्रशासन कार्यालयसम्म पुगेको बताए । उनले यसबारे सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसित कुराकानी गरिएको बताए ।

ब्रह्मदेबस्थित सशस्त्र प्रहरीको बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रसाद पन्तले वर्षौैदेखि विवाद भएकाले दुई देशको सहमति विना बाटो बनाउन सकिने अवस्था नदेखिएको बताए ।

‘यसमा विवाद छ, यो पुरानो विवाद हो, दुई देशको सहमति भएपछि बनाउन सकिन्छ, हामीले माथि जानकारी गराई सकेका छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...