महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सिटी हल सञ्चालनका लागि गठित कार्यदलले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाएको छ । पाँच वर्ष अघि निर्माण सकिएको सिटी हल सञ्चालनका लागि असारमा भीमदत्तले कलक बहादुर सिहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले राजनीतिक दल, जनप्रतिनिधि, उद्यमी व्यवसायी लगायतका सरोकारवालासित गरिएका छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन तयारी गरी नगरपालिकालाई बुझाएको हो ।
भीमदत्त नगर विकास समितिका अध्यक्ष भीमदत्तका मेयर पदम बोगटीलाई बुझाएको प्रतिवेदनमा सिटी हल नगरपालिका आफैंले वा निजी क्षेत्रलाई दिएर सञ्चालन गर्न सकिने लगायतका विकल्प समावेश गरिएका छन् ।
कार्यदलका संयोजक सिहले सरोकारवालासित गरिएका छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन तयार गरी बुझाइएको बताए ।
‘सिटी के कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्यदल गठन गरिएको थियो, त्यस अनुसार सिटी हलसंग सरोकार राख्ने पक्षसित छलफल गरी प्रतिवेदन तयार गरिएको हो’ संयोजक सिहले भने,‘त्यो प्रतिवेदनमा ती सबैका सुझाव समटेर नगरपालिकालाई बुझाएका छौ ।’
कार्यदल संयोजक सिहका अनुसार प्रतिवेदनमा सिटी हल निजी क्षेत्र, नगरपालिका कार्यालय आफैं सञ्चालन गर्ने वा नगरपालिका र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सकिने विकल्प समावेश गरिएको छ ।
‘सिटी हल पूरै निजी क्षेत्रलाई दिने वा केही भाग दिने, नगरपालिकाले आफैले चलाउनु सक्ने, नगरपालिका र निजी क्षेत्र साझेदारीमा चलाउन सक्ने लगायतका ४÷५ ओटा विकल्प दिएर प्रतिवेदन तयार गरेका छौ’ उनले भने,‘त्यसमा हल बाहेक पार्किङ्ग छुट्टै ठेक्का दिएर सञ्चालन गर्न सकिने पनि सुझाव राखिएको छ ।’
कार्य दलको प्रतिवेदनका आधारमा नगरपालिकाले कार्यविधि बनाएर सिटी सञ्चालनका लागि अघि बढ्न सक्ने संयोजक सिहले बताए । ‘कार्यदलले यो यो गर्न सकिन्छ भनेर सुझाव दिएका छौ, अब कार्यविधि बनाएर नगरपालिकाले अघि बढ्नु पर्छ’ उनले भने ।
सिह नेतृत्वको कार्यदललमा कार्यपालिका सदस्य सीता भण्डारी, नगरपालिकाका अधिकृत नरेन्द्रदेव भट्ट, इन्जिनियर जयराज भट्ट र सव इन्जिनियरिङ्ग पवनचन्द्र लेखक सदस्य छन् ।
कार्य दलले देशका अन्य स्थानमा सञ्चालित तथा र निर्माणधिन सिटी हलहरुको स्थलगत अध्ययन गरेको थियो । उनीहरुले बुटबल, पोखरा सुर्खेतका सिटी हलको स्थलगत अध्ययन गरेका हुन् । तीमध्ये सुर्खेत बाहेक पोखरा र बुटवलमा सिटी हल सञ्चालनमा छन् । सुर्खेतको सिटी हल निर्माणाधिन भएकाले अझै सञ्चालन हुन सकेको छैन ।
कार्यदलका संयोजक सिहले स्थलगत अध्ययन गरिएकामध्ये बुटवलको सिटी हल व्यवस्थित रुपमा सञ्चालन भएको पाइएको बताए ।
सहरी विकास मन्त्रालयले यो सिटी हल सञ्चालन गरि रहेको छ । बुटवलमा ६ घण्टाका लागि एक लाख ४५ हजार भाडा तोकिएको छ । प्रतिवेदनमा सिटी हलको गुरु योजना नबिगार्ने गरी सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।
गुरु योजना अनुसार सिटी हल बाहेक दुई ओटा पार्किङ्ग, स्वीमिङ्ग पुल, अतिथि गृह निर्माणका सबै काम बाँकी छन् । तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सिटी हल बनाउन मात्रै ठेक्का दिएकाले गुरु योजना अनुसार अन्य काम हुन नसकेका हुन् ।
‘प्रतिवेदनमा यो गुरु योजना नबिगार्ने गरी सञ्चालन गर्न सकिने सुझाव दिइएको छ’ सिहले भने । गुरु योजनामा सिटी हल प्रवेशद्वार नजिक एउटा र स्वीमिङ्ग पुल नजिक अर्को पार्किङ्ग समावेश गरिएको छ ।
नगर विकास समितिले ८ करोड खर्च गरी पाँच वर्ष अघि सिटी हल निर्माण सकिएको थियो । सिटी सञ्चालनको मापदण्ड नहुँदा अहिलेसम्म सञ्चालन आउन नसकेको हो ।
२०६५ मा श्याम सुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाखमा लिएको ठेक्का पाँच पटक म्याद थप गरिएको थियो ।
साढे ५ बिघा जमिनमा निर्माण गरिएको सिटी हल एक हजार जना अटाउने क्षमताको छ । तीनतले सिटी हलभित्र चेन्जिङ रुम, अन्डरग्राउण्ड लगायतका संरचना बनाइएका छन् ।