–रनि विवश
कञ्चनपुर उद्यमी व्यवसायीले भारतीय सहर वनबासामा शोकका दिन सम्मान थापेर फर्किएको समाचार प्रकाशित भएको केही छिनमा महाकाली साहित्य सङ्गमका केन्द्रीय अध्यक्ष हरिशप्रसाद जोशीले मलाई फेसबुकमा सन्देश पठाउँदै भन्नु भयो, यो समाज, संस्कार कहाँ जाँदैछ, अब त हामी शोकमा पनि सम्मान थाप्ने भयो है ।
त्यसपछि मैले फेसबुकमा वहाँलाई सोधे–यो समाज शोकमा पनि यस्तो रमिते कसरी बन्न पुगेको होला भनेर जिज्ञासा राखे ? जवाफमा वहाँले धेरै कुरा भन्नु भएन, दुई शब्दको जवाफ दिनु भयो, यो दुःखद र चिन्ता मात्र भन्नु भयो ।
सुदूरपश्चिम प्रदेशको साहित्य संस्कृति संरक्षणमा धेरै वर्षदेखि निरन्तर योगदान पुगाउँदै आएको सङ्गमका अध्यक्ष जोशीले प्रगतिशिल साहित्यकार, संस्कृति संरक्षणका अभियन्ता र कुशल शिक्षकको पहिचान बनाएका छन् । बिहीबार साँझ शोकको खुसीयालीमा आएका समाचारले उनी दुःखी भए । संविधान निर्माणका नेतृत्वकर्ताको शोक विदाका दिन सम्मान थापेर खुसी साट्न मानवीय संवेदनाको खिल्ली उडाएकोमा जोशी चिन्तित भएका हुन् ।
संविधान निर्माणको नेतृत्वकर्ता संविधान सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङ्को निधनमा बिहीबार सरकारले शोक विदा मनाउन सार्वजनिक विदा दिएको थियो । तीन दिन अघि निधन भएका नेम्बाङ्को अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक विदा दिइएको हो । बिहीबार संविधान अध्यक्ष नेम्बाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
नेपालको संविधान २०७२ को निर्माणको नेतृत्वकर्ता नेम्बाङलाई राज्यले नै राजकीय सम्मान दिएर अन्त्येष्टि गर्ने गरी सार्वजनिक विदा दिएपछि सबै नेपाली नागरिकले स्वर्गिय नेम्बाङप्रति संवेदना जनाउनु पर्ने पहिलो कर्तव्य हो । नेम्बाङको मात्रै निधन त अरुको पनि किन नहोस, यो अत्यन्तै असह्य दुःखको अवस्था हो, त्यसैले अरुको निधनमा पनि खुसीयाली मनाउनु मानवीय संवदेनाका हिसाबले उचित हुँदैन । त्यसमा झन राष्ट्रको संविधान निर्माणको नेतृत्वकर्तालाई सम्मान हुने गरी शोक विदा मनाउन सबै नागरिकको साझा कर्तव्यका रुपमा स्वतः आइ हाल्छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक नेम्बाङ्को निधनको शोकका कारण आफ्ना सबै कार्यक्रम स्थगित गर्न लगाए । काँग्रेसको क्षेत्रीय सम्मेलन, गौरा महोत्सव समापन, कार्यकर्ता भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरी लेखकले स्वर्गिय नेम्बाङ्प्रति सम्मान व्यक्त गरे । जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको कार्यक्रममा सहभागी भएका उनले नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गरी उनको चामत्कारिक व्यक्तित्व र संविधान निर्माणमा खेलेको भूमिको प्रशंसा गरे । पार्टीगत रुपमा फरक विचारका लेखकले स्वर्गिय नेम्बाङको प्रशंसा गरेको सुनेर कार्यक्रममा सहभागीहरु एक आपशमा कानेखुसी गर्न थालेको सहभागीहरुले बताएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद लेखक उसो त नेताहरुमा मिठो बोलेर अरुलाई आफूतिर आकर्षित गर्ने र विपक्षीको उछितो धेरै नकाट्ने नेतामा पर्छन् । साँसद लेखकले स्वर्गिय नेम्बाङप्रति व्यक्त सम्मान उनको निर्वाचन क्षेत्रका वासिन्दाका लागि ग्रहण योग्य थियो । बिडम्बना, लेखकको निर्वाचनमा क्षेत्रमा बिहीबार शोक विदाका दिन खुसीयाली पूर्वक विभिन्न कार्यक्रम गरिए । उद्यमी व्यवसायीहरु त भारतीय सीमावर्ती सहर वनबासा गएर सम्मान थापेर फर्किए । त्यसमा स्वर्गिय नेम्बाङको पार्टी एमालेका नेता र सशस्त्र प्रहरीका अधिकारीहरु समेत सहभागी भए । संविधान निर्माणकर्ताको आर्यघाट अन्त्येष्टि भई रहँदा उद्यमी व्यवसायी वनबासामा गालामा खादा लगाउँदै थिए । नेपाल भारत सीमा क्षेत्रका समस्या समाधानका लागि भारतीय पक्षसित आग्रह गर्दै थिए । यता नेपालतिर पनि व्यवसायी, शिक्षक, क्बल, साहित्यकार लगायतका विभिन्न क्षेत्रले मुक्त गजल वाचन, सम्मान कार्यक्रम र खुला सरसफाईका कार्यक्रम गरे । यी सबै कार्यक्रमको परिदृष्य हेर्दा लाग्थ्यो, नेम्बाङको निधनमा सार्वजनिक विदा नदिएको भए यी कार्यक्रम हुने नै थिएनन् । नेम्बाङको विदाले सबैलाई यी कार्यक्रम गर्न फुर्सद मिलेको हो । अरु दिन बेफुर्सिदा भएर कार्यक्रम गर्न समय मिलाउन नसकिने अवस्था थियो कि ।
कार्यक्रम औचारिक हुन् अनौपचारिक हुन्, समाजमा त्यसको खास अर्थ हुँदैन । मानवीय संवेदनाको हिसाबले बिहीबार राष्ट्रिय शोकका दिन खुसी साटासाट र सम्मान गरिएका कार्यक्रमले समाज कुबाटोमा भासिने गम्भीर संकेत गरेको छ । यसले अहिलेको सभ्य र आधुनिक समाजका सामु ठूलो चुनौतीको पहाड तेर्सिएको देखाउँछ । सही र गलत छुट्याएर निर्णय लिन सक्ने क्षमताका कारण उत्कृष्ठ प्राणीका रुपमा दर्ज मान्छेसित खुसीमा रमाउने र दुःखमा संवेदना देखाउन सक्ने क्षमता रहेन भने संसार निर्जन हुन समय नै लाग्दैन ।
समाज र मान्छेमा शोक र दुःखमा पनि रमेमाउने प्रवृत्तिलाई भौतिक सुख उपभोग गर्ने लालसाले बढावा दिएको हो । भौतिक सुख सुविधाका लागि आफ्नो बिरानो चिन्न छाडिएको जस्तो देखिएको छ । विज्ञान प्रविधिले भौतिक सुविधा पाएर त मान्छे त विकेकी हुनु पर्ने हो तर अहिले ठिक त्यसको उल्टो दिशामा गएकोमा चिन्ता बढेको छ ।
शोकमा खुसी हुने मात्रै होइन, भौतिक सुख सुविधाका लागि झगडा, लडाई, युद्ध, काटमार लगायतका अमानवीय कर्म बढेका छन् । राज्यले यी सबैलाई अपराधका सूचीमा दर्ज गरी नियन्त्रणका लागि कानुनी व्यवस्था बनाएको छ । तर पनि यस्ता अपराध र समाजलाई विकृति बनाउने सोच लगायतका दुष्कर्म बढ्दै गएका छन् । यसले मानव जातिलाई आदिम युगभन्दा पनि अघिको युगमा फर्किन त लागेको होइन भन्ने अनुभूति हुन थालेको छ ।
मान्छेको गलत प्रवृत्ति हटाउन, सोच र चिन्तनलाई उन्नत बनाउने कार्य शिक्षाले गर्छ । त्यसमा नैतिक शिक्षाको खाँचो झनै देखिएको विभिन्न छलफलमा कुरा हुने गर्छन् । अहिले शिक्षालाई सर्वसुलभ र सहज ग्रहण गर्न प्रचार गरिए पनि मानवीय सोच र संस्कार बदल्न सकिएको छैन । आधुनिकता र भौतिक विकासको स्वादले मानिस अहिले अर्काको शोक र दुखमा पनि रमाउने बनेका छन् । त्यस कारण यस्ता विकृत मानसिकतालाई हतोत्साही नगरी अघि बढ्यौ भने समाज अधोगतितिर जान समय लाग्दैन । यस्ता कार्यले मानवीय संवेदना र सभ्यतामाथि कलंक लाग्ने भएकाले नैतिक शिक्षाका माध्यमबाट न्यूनीकरणका बाटा खोज्नु पर्छ । अन्यथा महाकाली साहित्य संगमका अध्यक्ष जोशीले भन्नु भएझै, यो चिन्ता र दुःखद अवस्था कुनै दिन सर्वश्रेष्ठ प्राणीको विशिष्टता पनि दन्त्यकथा नहोला भन्न सकिन्न ।