महेन्द्रनगर । आइतबारदेखि धनगढीमा सुरु हुने एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बन्द सत्र सकिएपछि प्रदेश अध्यक्ष दामोदर भण्डारी निवर्तमान हुने निश्चित भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बैतडीका भण्डारीले एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेश अध्यक्ष भएका हुन् । त्यस अघि एमाले केन्द्रीय सदस्य भएका उनले बैतडी एमालेको नेतृत्व गरि सकेका छन् ।
अध्यक्ष ओलीलाई २०५० को दशकदेखि सहयोग गर्दै आएका भण्डारीले बैतडीबाट तीन पटक चुनाव जितेका छन् । एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनी प्रदेश अधिवेशनमा उम्मेदवार बन्न नपाएर प्रदेश नेतृत्वबाट बाहिरिन लागेका छन् ।
एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नदिने विधि बनाइएको छ । त्यस विधिको मार प्रदेश अध्यक्ष भण्डारीले खेप्नु परेको छ । प्रदेश अध्यक्षबाट बाहिरिएपछि भण्डारी एमाले केही समयका लागि एमालेको पार्टी राजनीतिबाट बाहिर पुग्ने अवस्था आएको छ ।
प्रदेश अध्यक्षबाट बाहिरिन लाग्दा प्रदेश अध्यक्ष भण्डारी आफ्नै समूहको निशानामा परेका छन् । एमाले केन्द्रीय सचिव लेखराज भट्टको गृह नगर गोदावरीमा भण्डारी समर्थक सबै प्रदेश प्रतिनिधि फराकिलो मत अन्तरले पराजित भएका छन् । एमालेका पूर्व मन्त्री कृष्ण सुवेदी सहित उनले साथ दिएका सबै नेता प्रतिनिधि हारेका हुन् ।
एमाले गोदावरीको अध्यक्षमा केन्द्रीय सचिव भट्टको सहोदर भाई गोकर्ण भट्ट अध्यक्ष छन् । सुदूरपश्चिममा भण्डारी र भट्ट दुबै एकै समूहका हुन् । माओवादी केन्द्रबाट आएका भट्ट पनि पछिल्लो समय अध्यक्ष ओलीको विश्वासपात्र मानिएका छन् ।
एमाले अध्यक्ष ओलीका विश्वासपात्र दुबै नेताबीच प्रतिनिधि निर्वाचनपछि दुरी बढेको नेताहरु बताउँछन् । गोदावरीको प्रतिनिधिले भण्डारी र भट्टको समूहमा फेरबदल हुन सक्ने एमाले नेताहरुको आशंका छ ।
‘दामोदरजीलाई सिध्याउन जसरी वहाँका मान्छेलाई लज्जास्पद रुपमा प्रतिनिधिमा हराइएको छ, युसले अब यी दुई नेताबीच आगामी दिनमा पनि सम्बन्ध राम्रो हुन सक्दैन भन्ने देखिन्छ’ एमालेका एक नेताले भने,‘यो अहिलेका प्रदेश अधिवेशनमा पनि देखिन सक्छ ।’
गोदावरीबाट सबै १४ जना एमाले सचिव भट्टले समर्थन गरेका प्रतिनिधि निर्वाचित भएका छन् । गोदावरी अधिवेशनपछि प्रदेश अध्यक्ष भण्डारीले सर्वसम्मत नेतृत्वका लागि आन्तरिक छलफल अघि बढाएका छन् ।
भण्डारीका विश्वासिला एमाले प्रदेश कमिटीका सदस्य कृष्णराज सुवेदीले पत्रकार सम्मेलनमा निर्वाचनको समान्य विधि समेत वेवास्ता गरी प्रतिनिधि छनौट गरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
गोदावरीमा उम्मेदवारी दर्तापछि सर्वसम्मतका लागि गरिएका छलफल निष्कर्षमा नपुगेपछि निर्वाचन प्रक्रिया थालिएको थियो । नेताहरुका अनुसार केन्द्रीय सचिव भट्ट सहितले नेता सुवेदी सहित दुई जनालाई कुनै पनि हालतमा प्रतिनिधि बनाउन नसकिने अडान लिएपछि भण्डारी समूहका १६ उम्मेदवार बहिस्कार गरी बाहिरिएका थिए ।
एमाले विभाजनपछि प्रदेश अध्यक्ष भएका भण्डारी संसदीय निर्वाचनमा एमालेलाई अपेक्षित जित हासिल गराउन असमर्थ देखिए । बैतडीबाट आफू निर्वाचित भए पनि स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले अनपेक्षित नतिजा हात पारेको छ ।
स्थानीय तह निर्वाचनमा प्रदेश अध्यक्ष भण्डारी र केन्द्रीय सचिव भट्ट दुबैले कञ्चनपुरका उम्मेदवारको नामावली समेत अध्यक्ष ओलीसम्म पुगाएर टुङ्गो लगाएका थिए ।
प्रदेश अध्यक्ष भण्डारी र सचिव भट्टले एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा आफ्नो समूहका बीर बहादुर थापा अध्यक्षमा हारेपछि निर्वाचित जिल्ला कमिटी विघटन गर्न खोजेका थिए ।
एमालेका तत्कालिन सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट र भण्डारीले जिल्ला अधिवेशनको प्रतिशोध स्थानीय तह निर्वाचनको टिकट वितरणबाट पूरा गरेका थिए । एमाले जिल्ला कमिटीले सिफारिश नगरेका आफ्नो समूहका नेतालाई टिकट दिएका थिए ।
भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । उनी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्र बहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए । प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वको सरकारमा उनी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए ।
२०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य भएका थिए । त्यसपछि एमालेको पार्टी राजनीतिमा अघि बढ्दै गएका भण्डारी प्रदेश अधिवेशसम्म उम्मेदवार हुन नपाउने अवस्थामा पुगेका छन् ।