दामोदर भण्डारी : प्रदेशमा दमदार प्रवेश, कमजोर बर्हिगमन
कञ्चनपुर जिल्ला कमिटी विघटन गर्ने धोको भएन पूरा
महेन्द्रनगर । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले प्रदेश अधिवेशनबाट एकताबद्ध एमालेको सन्देश प्रवाह भएको दावी गरेका छन् । दुई वर्ष एमालेको सुदूरपश्चिम प्रदेश नेतृत्व हाँकेका भण्डारी प्रदेश अधिवेशनबाट पार्टीको पदीय जिम्मेवारीबाट समेत बाहिरिन पुगेका छन् ।
बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भण्डारीलाई एमाले जनप्रतिनिधिले पार्टीको कार्यकारी पद जिम्मेवारी नदिने निर्णय बाधक बन्यो । त्यही निर्णयका कारण प्रदेश नेतृत्व उम्मेदवार समेत हुन नपाउने अवस्थामा पुगेका दोहोरिने चाहना मनभित्र लुकाएर भण्डारी पार्टी जिम्मेवारीबाट बाहिरिएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विद्यार्थी राजनीतिबाट साथ दिएका भण्डारी २०७८ मा प्रदेश अध्यक्ष भएका थिए । त्यस अघि उनले एमालेको बैतडीको नेतृत्व र केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरि सकेका थिए ।
एमालेको तत्कालिन माधव नेपाल समूह पार्टी विभाजन गरी बाहिरिएपछि भण्डारीलाई प्रदेश नेतृत्वको मौका पाएका हुन् । भण्डारीले दुई वर्षे कार्यकाल अहिले प्रदेश अधिवेशनमा पदाधिकारी सर्वसम्मत बनाउन एमोलेको पार्टी राजनीत र संसदीय क्षेत्र दुबैमा उपलब्धि हासिल गर्न नसकेको एमाले नेताहरु बताउँछन् । निवर्तमान प्रदेश अध्यक्ष भण्डारीले विरोधी समूहलाई तहसनहस गर्ने गरी गुटबन्दी गरेको आरोप उनीमाथि लागेको छ ।
प्रदेश अधिवेशन सकिएपछि निवर्तमान भण्डारीले सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकबाट भनेका छन्,‘ मूलत हामीले अधिवेशन बाट अत्यन्तै सकारात्मक सन्देश दिएर पार्टी कार्यकर्ताको उच्चमनोबलका साथ आम जनतामा एकताबद्ध एमालेबाट राष्ट्रिय शक्ति निर्माणको अभियानमा एकजुट भएका छौ ।’
प्रदेश अधिवेशनका लागि पूर्व मन्त्री कृष्णराज सुवेदीलाई प्रतिनिधि बनाउन नसकेपछि भण्डारीले सर्वसम्मत नेतृत्वका लागि दौडधुप अघि बढाएका हुन् । एमाले केन्द्रीय सचिव लेखराज भट्टसित प्रतिनिधि चयनमा मतभेद भएपछि भण्डारीले पोलिटब्युरो सदस्य कर्ण र भीम रावल समूहसित छलफल गरी आफू निकट नेतालाई प्रदेश पदाधिकारी बनाउन सफल भएका छन् । एमाले प्रदेश सचिव रण बहादुर चन्दलाई सचिव बनाउन भण्डारीले अन्तिमसम्म अडान लिएका हुन् ।
बैतडीको मेलौली ३ का चन्दको पुख्र्यौली गाउँ भण्डारीको निर्वाचन क्षेत्रमा हो । भण्डारीको गृह नगर पाटन र मेलौलीको सीमा जोडिएको हो । चुनावबाट अप्ठेरो हुुने अवस्था आएपछि उनले सर्वसम्मतका लागि अन्तिमसम्म रटान लगाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखेरल दुबैसित तारन्तार सम्पर्क गरी भण्डारीले पाँच दिन अधिवशेन लम्ब्याएर चन्दलाई सचिव बनाएका हुन् ।
प्रदेश नेतृत्वबाट बाहिरिँदा भण्डारीले पार्टीको पदीय जिम्मेवारी मात्रै नभएर आफ्नो गुट समेत गुमाएका छन् । केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान अध्यक्ष भण्डारीले प्रदेश अधिवेशनमा छुट्टाछुट्टै गुट बनाएका हुन् ।
भण्डारीले प्रदेश अध्यक्षमा अछामका कमल तिमिल्सिना र भट्टले कञ्चनपुरका बचन बहादुर सिहँलाई अघि सारे । यस अघि सुदूरपश्चिममा भट्ट र भण्डारीले एक गुटको नेतृत्व गरेका थिए ।
एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले अर्काे गुटको नेतृत्व गरेका थिए । पूर्व उपाध्यक्ष भीम रावलका समर्थक नेता कार्यकर्ता यी दुबै गुटमा बाँडिएका थिए ।
प्रदेश अधिवेशनमा रावल समूह छुट्टै गुटको रुपमा प्रकट भएर पदाधिकारी बार्गेनिङ्ग गरी प्रदेश कमिटीमा जबरजस्त प्रवेश भएको छ । प्रदेशका दुई उप सचिव रावल समूहले पाएका छन् ।
निवर्तमान प्रदेश अध्यक्ष भण्डारी र केन्द्रीय सचिव भट्टको गुट बनेपछि रावल समूहलाई बार्गेनिङ्ग गर्ने मौका मिलेको हो । एमालेका केन्द्रीय सदस्य झपट रावलले त्यस समूहको नेतृत्व गरेका थिए ।
अध्यक्ष ओली र महासचिव पोखेललले भने रावल समूहलाई निषेध गरी अघि बढ्नु पर्ने निर्देशन दिएको नेताहरु बताउँछन् ।
एमाले विभाजनपछि अध्यक्ष ओलीका विश्वासिला थापा र भण्डारी दुबैले सुदूरपश्चिममा छुट्टाछुट्टै गुट बनाएका हुन् । अध्यक्ष ओलीसम्म भट्ट र भण्डारी दुबैको सिधा पहुँच भएपछि यो समूह पेलानमा थियो ।
जिल्ला अधिवेशन र स्थानीय तह निर्वाचनको टिकट वितरणमा यी दुई समूहबीच शत्रुतापूर्ण व्यवहार देखिएको थियो । दुई समूहमध्ये एकले अर्कोलाई सिद्धयाउन लागेका थिए ।
अध्यक्ष ओली र महासचिव पोखरेलसम्म पहुँच भएपछि थापा समूह प्रतिरक्षामा थियो । भट्ट भण्डारीको प्रभाव नभएसम्म आफ्नो समूह बलियो नहुने ठानेर थापाले केही समय अघि अध्यक्ष ओलीलाई संकेत गर्दै पार्टी नेतृत्व रुपान्तरणको कुरा अघि बढाएका थिए । त्यसपछि ओली उनीसित झन रुष्ट भएका थिए ।
एमालेका तत्कालिन सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट फेरिएपछि भने थापा समूहलाई केही सहज भएको नेताहरु बताउँछन् । प्रदेश अधिवेशनबाट भण्डारी जसरी पनि बाहिरिने भएपछि थापा समूह प्रदेशमा आफूलाई बलियो बनाउन आन्तरिक रुपमा खटिएको थियो ।
थापा समूहले त्यसका लागि सबै जिल्लामा प्रदेश प्रतिनिधि चयनमा ध्यान दियो । भट्ट भण्डारीबीच प्रतिनिधि चयनमा विवाद भएपछि थापा समूहसित बार्गेनिङ्ग गर्न पर्ने अवस्था आएको हो ।
चुनावमा भट्ट भण्डारी समूहको क्लिन स्वीप हुने अवस्था आएपछि पाँच दिनसम्म सहमति गराएर सर्वसम्मत पदाधिकारी बनाइएका हुन् । निर्वाचनबाट आफूले चाहको उम्मेदवार आउन नसकेपछि पार्टी राजनीतिमा कमजोर हुने डरले भण्डारीले सर्वसम्मतका लागि पाँच दिन लगाएका हुन् ।
भण्डारीले आफ्नो कार्यकाल सुदूरपश्चिममा एमालेका लागि प्रतिकूलता छिचोलेको लावी गरेका छन् । उनले उनले प्रदेश अधिवेशन राष्ट्रिय सहमति र मिसन ८४ को मूल अभिभारासंगै ओलीको सपनालाई सम्बोधन गरेको दाबी गरेका छन् ।
निवर्तमान प्रदेश अध्यक्ष भण्डारीको धारणा सार्वजनिक भएपछि एमाले नेता कार्यकर्ताले केही सपना पूरा नभएको कटाक्ष गर्न थालेका छन् ।
एमाले नेता कार्यकर्ताको कटाक्ष भण्डारीले एमाले कञ्चनपुरको आठांै जिल्ला अधिवशेनबाट निर्वाचित जिल्ला कमिटी विघटन गराउन नसकेपछि आएको हो ।
दुई वर्ष अघि एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष भण्डारी र केन्द्रीय सचिव भट्ट समूहले जिल्ला कमिटी विघटन गर्न पटक पटक धम्की दिएका थिए । प्रदेश अधिवेशनमा भट्ट भण्डारीका उम्मेदवार बीर बहादुर थापाको हारेपछि जिल्ला कमिटी विघटन गर्ने धम्की दिइएको थियो ।
माओवादी केन्द्रबाट आएका थापा विष्टसित फराकिलो मतले हार्नका साथै उनका प्यानलका पाँच प्रतिशत सदस्य मात्रै जितेका थिए । जिल्ला कमिटीमा आफ्नो गुट धेरै कमजोर भएपछि भट्ट भण्डारीले विष्टमाथि प्रतिशोध साँधेका थिए ।
स्थानीय तह निर्वाचनमा दुबैले जिल्ला कमिटी हारको बदला टिकट वितरणबाट पूर्ति गरे । एमालेको जिल्ला कमिटीले सिफारिश नगरेका उम्मेदवारलाई टिकट दिएर भट्ट भण्डारीले आफ्नो पार्टीमा आफ्नो वर्चश्व देखााएका थिए । कञ्चनपुरबाट यो समूहलाई पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्री्य सदस्य कमला बोहरा, राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिहँ लगायतका नेताको साथ थियो ।
एमाले जिल्ला कमिटी अधिवेशन सकिएपछि दैजीमा थापा समूहको बैठक बसेर विष्ट विरुद्ध जाने मौखिक सहमति गरिएको थियो । त्यसपछि एमालेका जिल्ला अध्यक्ष विष्टलाई पार्टीभित्र कमजोर बनाउन अध्यक्ष ओलीसम्म भण्डारीले लबिङ्ग गरेको नेताहरु बताउँछन् ।
भीमदत्त नगरपालिकाका पूर्व मेयर विष्टलाई प्रदेश सभा सदस्य निर्वाचनमा हराउन भट्ट भण्डारी समूह सक्रिय रुपमा लागेको ग्रास रुट मिसनका क्रममा कार्यकर्ताले रिपोर्टिङ्ग गरेका थिए । भीमदत्तमा प्रभाव बनाएका विष्ट प्रदेश सभा सदस्यमा फराकिलो मत अन्तरले पराजित भएपछि केही नेताले खुसीयाली मनाएको त्यस बेला बाहिर आएको थियो ।
विष्ट एमालेमा कुटनीति र साँगठनिक पकड राख्ने नेताका रुपमा परिचित छन् । विष्टलाई पार्टीभित्र कमजोर बनाउने गरी भण्डारीले उनी नेतृत्वको जिल्ला कमिटी विघटन गर्ने धम्की दिएका थिए ।
विष्ट एमाmलेका कर्ण थापा समूहमा थिए । एमाले जिल्ला कमिटीमा थापा समूहको बर्चश्व भएपछि विघटनको प्रयास गरिएको थियो । स्थानीय तह निर्वाचनमा प्रदेशले अध्यक्ष ओलीसम्म नामावली पुगाएर आफ्नो समूहलाई टिकट दिएको थियो । टिकट वितरणका कारण स्थानी तह निर्वाचनमा एमाले अनपेक्षित नतिजा हात पारेको थियो ।
गत वर्ष प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पनि एमालेले अनपेक्षित नतिजा हात पारेको हो । प्रतिनिधि सभामा सुदूरपश्चिममा भण्डारी र कञ्चनपुरका तारामाला तामाङ्ग मात्रै निर्वाचित भएका थिए । यसैगरी सुदूरपश्चिम प्रदेश सभामा एमालेका तीन साँसद निर्वाचित भए ।
भण्डारी आफ्नै गृह नगर पाटनमा दुई चुनावमा नेतृत्व पाउन असमर्थ भएका छन् । २०७४ र २०७९ को निर्वाचनमा एमालेले पाटमा मेयर उप मेयर दुबै गुमाएको छ । २०७९ को निर्वाचनमा भण्डारीले आफन्तलाई टिकट दिएर मेयर हारिएको एमाले नेताहरु बताउँछन् ।
बैतडीमा तीन पटक प्रतिनिधि सभा सदस्य जितेका भण्डारी दुई मन्त्री पटक मन्त्री भई सकेका छन् । एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनले २०५० मा एमालेको सदस्यता लिएर पार्टी राजनीति गरेका हुन् । त्यस अघि २०४८ मा एमाले अखिलको जिल्ला अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।
सुदूरपश्चिममा अध्यक्ष ओलीलाई सुरुदेखि साथ दिएर अहिलेसम्म निरन्तरता दिएका उनी अध्यक्ष ओलीको किचन क्याबिनेटका नेताका रुपमा परिचित छन् । अध्यक्ष ओलीसम्मको पहुँचले अध्यक्ष भएका उनले आफूलाई बलियो बनाउन अन्तिमसम्म कसरत गरेका छन् । त्यसका लागि प्रदेश सचिवमा चन्दलाई सर्वसम्मत गराएर बाहिरिएका छन् । चन्दलाई यस अघि कैलाली जिल्ला अधिवेशनमा केन्द्रीय सचिव भट्टले हराएका थिए ।