ghar sansar

कृषि ज्ञान केन्द्रका प्राविधिकले भाडामा जमिन लिएर फलाएको सयपत्री फूल बजारमा, अढाई क्विन्टल बिक्री हुने आश

Amity

महेन्द्रनगर । बझाङ्गका जनक सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक सहायक पदमा कार्यरत छन् । ज्ञान केन्द्रका कर्मचारी विदा भएपछि घरमा तिहार मनाइ रहेका छन् । कृषि प्राविधिक सहायक सिंह तिहारको भाई टिकाका लागि सयपत्री फूल बिक्री गर्न व्यस्त भएका छन् ।

कृषि ज्ञान केन्द्र नजिकको महेन्द्रनगर म्यूजियम आशपासमा सयपत्री फूल माला राखेर बिक्रीका लागि राखेर बसेका छन् । सोमबारदेखि उनी फूल र माला दुबैलाई चमनचोकमा पनि  लगेर बेच्ने तयारीमा छन् । ‘आज बेच्नका लागि यतै राखेका छौ, भोलि चमनचोकमा लग्छौ’ सिहले भने,‘त्यस अनुसार नर्सरीबाट फूल ल्याउने र माला बनाउने कार्य भई रहेको छ ।’

lotus institite

पाँच सय रुपैँया किलो मूल्य राखिएको सयपत्री यस वर्ष दुईदेखि अढाई क्विन्टल बिक्री हुने लक्ष्य राखिएको सिँहले बताए । यस वर्ष विगतको वर्ष जस्तो कारोबार नहुनेमा भने उनी ढुक्क देखिन्छन् । फूलको सिजनमा तिहार परेकाले फूल बिक्री कम हुनेमा उनको भनाई छ ।

यस वर्ष फूलको सिजनमा तिहार परेकाले गत वर्ष जस्तो कारोबार नहुने उनी बताउँछन् । ‘यस वर्ष गत साल जस्तो डिमान्ड नि छैन, तिहार नि फूलको सिजनमा नै आयो, अहिले त सबैका घर घरमा फूल फूलेका छन्, त्यसैले डिमान्ड कम छ’ उनले भने,‘त्यस कारण गत साल जस्तो मूल्य र कारोबार दुबै हुन सक्ने अवस्था छैन ।’

उनका अनुसार गत वर्ष सयपत्री फूल प्रतिकिलो ७ देखि ८ सय र माला डेढ सयदेखि दुई सय रुपैँयासम्म बिक्री भएको थियो । सिंहले सयपत्री आफैंले उत्पादन गरी बिक्रीका लागि बजारमा ल्याएका हुन् ।

भीमदत्त नगरपालिका ४ भगतपुरस्थित जानकी कन्या माध्यमिक विद्यालयको ५ कट्टा जमिन भाडामा लिएर उनले फूलखेती गरेका छन् । अहिले त्यहीबाट फूल ल्याएर बिक्रीका लागि म्युजियम नजिक राखिएको हो । 

सिह जानकी कन्याका पूर्व विद्यार्थी हुन् । उनले जानकी कन्याबाट आइएस्सी एजी गरेका हुन् । कृषि विषय पढेको विद्यालयको जमिन भाडामा लिएर फूल खेती गरेका उनको खेतबारी अहिले प्रशिक्षार्थी विद्यार्थीका लागि सिक्ने थलो पनि भएको छ । ज्ञान केन्द्रका प्रशिक्षार्थी विद्यार्थी अहिले त्यहीं गएर सिक्ने गर्दै आएका छन् । 

बझाङ्गबाट एसएलसी उत्तीर्ण भएर कृष्णपुर नगरपालिका गुलरियास्थित कृष्ण माध्यमिक विद्यालयमा जेटीए पढेपछि १३ वर्ष अघि उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । कृषि समूहको नायब प्रावधिक सहायकबाट जागिर सुरु गरेका उनले जागिरसंगै जानकी कन्याबाट आइएस्सी गरी बढुवा भएर प्राविधिक सहायक भएका हुन् ।

‘बझाङ्गबाट एसएलसी पास भएपछि गुलरिया आएर जेटीए पढे, त्यसपछि अछामबाट जागिर सुरु भयो, पछि सरुवा भएर महेन्द्रनगर आएपछि जानकी कन्याबाट आइएस्सी एजी पढे’ सिंहले सुनाए ।

कृषि ज्ञान केन्द्रमा ओजिटीका लागि आउने विद्यार्थीहरुले सयपत्री खेतीमा सहयोग गरि रहेका छन् । ‘ओजिटी आउने विद्यार्थीलाई सिक्नका लागि पनि सहयोग पुगेको छ’ उनी भन्छन ।

कृषि प्राविधिक सिह कञ्चनपुर आएपछि दशैं तिहार र अन्य समयमा पनि फूल सबै भारतबाट मात्रै आएको देखेर छक्क परे । त्यसपछि उनले नेपालमा फूल उत्पादन गर्ने सोच बनाए । भन्छन्, ‘म आफैं पनि प्राविधिक हो, आफैंले केही गर्न पर्छ भनेर यो फूल खेतीमा लागे ।’

तीन वर्ष अघि कृषि ज्ञान केन्द्रका चार प्राविधिकसित मिलेर फूल खेती गरी उत्पादन सुरु गरे । भीमदत्त नगरपालिका १० तिल्केनीमा उनीहरुले दुई बिगाहा जमिन भाडामा लिएर सयपत्री फूल लगाए । पहिलो वर्ष अपेक्षित उत्पादन नभएर २० प्रतिशत भएको थियो । अप सिजनमा उत्पादन भएकोले बजार माग अनुसार फूल आपूर्ति गर्न नसकेको उनको भनाई छ ।
तिल्केनी फूल खेतीका साझेदार कार्य व्यवस्ताका कारण निरन्तरता दिन नसक्ने बताएपछि सिंह एक्लैले सयत्रपत्री खेतीलाई अघि बढाएका छन् । तिल्केनी टाढा भएकाले उनले जानकी कन्यामा सयपत्री खेती गर्न थालेका छन् ।

‘यस अघिसम्म भारतबाट आउने फूल बढी थियो, अहिले छैन’ उनले भने,‘दशै तिहारमा बढी डिमान्ड आउँछ, अरु बेला नि फूल त बिक्री भई रहन्छ ।’

कृषि ज्ञान केन्द्रका अनुुसार तीन वर्षदेखि कञ्चनपुरमा व्यवसायिक रुपमा सयपत्रीको खेती हुन लागेको छ । कार्यालयका अनुसार कृृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा दुई बिगाहा बढी जमिनमा सयपत्रीको खेती हुने गरेको छ ।

सुदूरपश्चिममा कैलालीमा सबैभन्दा बढी सयपत्री फूलको खेती हुने गरेको छ । सुदूरपश्चिमका बझाङ्ग, डोटी र डडेल्धुरामा पनि फूल खेती थालिएको छ ।

नेपालमा चितवनमा सबैभन्दा पहिलो पटक सयपत्री फूलको खेती गरिएको थियो । भारतीय नागरिकले महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सयपत्री खेती गर्दै आएका छन् ।

स्थानीय सरकारले दशैं तिहारमा प्लाष्टिकका फूल माला बिक्रीमा रोक लगाएकाले किसानलाई राहत पुगेको प्राविधिक सिंहले बताए । कैलालीको धनगढी उप महानगर सहित कञ्चनपुरमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले प्लाष्टिकका फूलमाला बिक्रीमा रोक लगाएका छन् ।

‘यसले किसानलाई फाइदा नै गरेको छ , कृषि ज्ञान केन्द्र लगायतले सहयोग गर्दा अझै सयपत्री लगायतका फूलको उत्पादन ह्वात्तै बढ्छ’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...