राजेन्द्रप्रसाद पनेरु
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ४५ वर्षीय गणेश बहादुर साउद गाउँमा राजनीतिकर्मी रुपमा परिचित छन । राजनीति र समाजसेवासंगै उनी सफल किसानका पनि हुन् । साउदले स्वामित्वको १५ कट्टा जग्गामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् ।
उनको बारीमा गोलभेडा, हरियोसागपात, आलु, खुर्सानी, भाण्टा लगायतको तरकारी रोपिएको छ । बीउ, जोताई, मलखाद, बिषादी, सिचाई र मजदुरमा गरी तरकारी खेती रोप्दानै रु एक लाख जति खर्च लाग्ने गरेको उनी बताउँछन् ।
“तरकारी खेतीमा लागेको खर्च अनुरुप प्रति वर्ष प्रतिफल निकै राम्रो हुने गरेको छ” उनले भने, “वर्षमा खर्च कटाएर पाँच लाखदेखि सात लाख सम्म आम्दानी हुने गरेको छ ।”
गत वर्ष बारीमा रोपेको टिपिएस, खुमलटार रातो, कार्डिनल लगायत जातका आलु बिक्री गरी एक लाख ५० हजार साउदले आम्दानी गर्नु भएको थियो । अन्य तरकारी बिक्री गरी पाँच लाख जति आम्दानी भएको उनले बताए ।
उनी भन्छन्, समाजसेवामा लागेकाले घर खर्च पनि चाहिन्छ, गाउँका बासिन्दाको कार्यमा खटिनु पर्दा खर्च लाग्छ त्यो खर्च तरकारी खेतीबाट आएको पैशाबाट व्यहोर्ने गरेको छु ।”
साँझ विहानको समय तरकारी खेती गोडमेल गर्ने, टिपेर बजार सम्म लगेर बेच्ने कार्यमा उनी सक्रिय रुपमा लागेका छन् । दिउँसोको समय गाउँका कार्यक्रम, बैठक, स्थानिय बासिन्दालाई परेको अप्ठेरोमा सहयोग गर्दै आएका छन् ।
‘तरकारी खेती गरिए पछि आर्थिक अभाव हुँदैन ” उनले भने, “कसैसंग हात थाप्नु परेको छैन, बरु अप्ठेरो परेका बेला अरुलाई सहयोग गर्न पाउँदा सुखको अनुभूति हुन्छ ।”
गाउँको पर्वत कृषि सहकारी संस्थाका अध्यक्ष र नेकपा(माओवादी केन्द्र) का नगर सदस्य पनि हुन । सहकारीमा आवद्ध सदस्यहरुलाई तरकारी खेती, पशुपालन सम्बन्धी तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउनेमा उनी लागेका छन् ।
आफैंबाट स्वरोजगार हुनका लागि तरकारी खेती गर्न शुरु गरेपछि आवद्ध सदस्यहरु पनि व्यवसायीक कार्यमा संलग्न हुन थालेको उनको भनाई रहेको छ ।
उत्पादन भएको तरकारी बेच्नका लागि बजारको अभाव रहेको उनले बताए । ‘तरकारी उत्पादन गर्ने किसानले कुनै बेला लागत खर्चनै नउठने गरी तरकारी बेच्नु पर्छ” उनले भने, यो, “विचौलियाले सस्तोमा किसानबाट किनेको तरकारी व्यापारीलाई महंगोमा बेच्दा उपभोक्ताले चर्को मूल्यमा तरकारी उपभोग गर्नु पर्ने अवस्था छ ।” यसका लागि सिधै किसानबाट व्यापारीले तरकारी खरिद गर्ने वातावरण बनाईनु पर्ने उनी बताउँछन् ।
त्यसको अन्त्यका लागि स्थानिय तह देखि प्रदेश सम्मका सम्बन्धीत कार्यालय सम्म कुरा पुगाए पनि सुनवाई नै हुन नसकेको उनको गुनासो छ ।
९५ प्रतिशत बढी बासिन्दाको मुख्य आयको श्रोत कृषि र पशुपालन भएपनि नगरपालिकाले यी क्षेत्रलाई महत्व नदिदा किसानले नयाँ प्रविधि भित्राएर सहज रुपमा कार्य नपाएको उनको भनाई रहेको छ ।
“थोरै मात्रै बजेट विनियोजन हुदा अनुदानका कार्यक्रम सबै किसानसम्म पुग्न सकेको छैन” उनले भने, “आर्थिक समृद्धिको आधार कृषि भएपनि योजनावद्ध रुपमा काम हुन नसक्दा किसान निरुत्साहित भई अरु पेशामा आवद्ध हुने गरेका छन् ।”
साउदले तरकारी खेती गर्न अघि ब्र्रोइर कुखुरा पालनको कार्य पनि गर्दै आएका छन् । कोरोना महामारी फैलिएपछि बजार अभावमा कुखुरा पालनको कार्य भने उनले छाडेका छन् । बजार सहज भएपछि ब्रोइलर कुखुरा पाल्ने उनको योजना भने छ ।
गणेश संगै उनकी श्रीमती पशुपती साउदले तरकारी खेतीमा सहयोग पुरयाउँदै आएकी छन् । राजनीति र समाजसेवामा लागेका व्यक्तिहरुले स्वरोजगार हुनु आवश्यक भएको उनको भनाई छ ।
भन्छन्, ‘ “स्वरोजगार भए भ्रष्ट्राचार गर्नु पर्दैन” उनले भने, “भ्रष्ट्राचार नभए सुशासन कायम भई देशलाई समृद्ध बनाउने अभियानमा सघाउ पुग्छ, यसका लागि दृढ इच्छा शक्तिको आवश्यकता पर्दछ ।”