शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका चार सञ्चालकलाई अनुसन्धानका लागि कञ्चनपुर प्रहरी कार्यालय ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शिव शिखर सहकारीको महेन्द्रनगर,त्रिभुवनबस्ती र बेलौरी शाखाको निक्षेप हिनामिना गरी ठगि गरेको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई प्रहरी कार्यालय ल्याइएको जनाएको छ । शिव शिखरका बचतकर्ताले रकम ठगी गरेको जाहेरीका आधारमा उनीहरु सबै काठमाडौंबाट पक्राउ गरिएका हुन् । कञ्चनपुरमा पनि बचतकर्ताको ३१ करोड ९७ लाख बचत हिनामिना गरिएको भन्दै तीन हजार ६ सय ७१ बचतकर्ताले जाहेरी दिएका छन् ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले मात्र नभएर देशभरी यस्ता हजारौ सहकारीहरुले लाखौ जनताको करोडौ रकम ठगी गरेका समाचारहरु वर्षौ देखि आइरहेका छन् । सहकारी संस्था खोलेर सोझा सिधा सर्वसाधारण जनताहरूलाई झुक्याएर खुलेआम ठगी भइरहेका समाचारहरु आउने गरेका छन् । बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको संख्या दिन प्रतिदिन बढ्दै गइराखेको छ । दैनिकरुपमा आम जनताको बचत संकलन गरेर करोडौ जम्मा भए पछि सहकारी संस्था एक्कासि बन्द हुने, सञ्चालकहरु फरार हुने भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा पर्ने गरेका छन् । करोड रुपैया“ उठाएर सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका घटनाहरु दैनिक जसो सुन्नमा आउने गरेका छन् ।
केही सहकारीहरुले संकलित रकम लगेर फरार हुने गरेका छन् भने केही सहकारीले मनपरितन्त्र चलाउदै आएको पाइन्छ । केही सहकारीे जथाभाबी व्याज, सेवा शुल्क, हर्जाना लिएको, घरजग्गा लिलामी गर्ने, संस्थाबाट सिमित संचालकले फाइदा लिएको, सहकारीका सिद्धान्त र वित्तीय संस्थाका नम्स पालना नगरेको, सदस्यको बचत लिएर फरार भएको, संस्था समस्याग्रस्त हुने गरी जथाभाबी लगानी गरेका जस्ता दर्जनौं विकृतिहरूले सहकारी संस्थाहरु गाजिएका छन् । सहकारीहरु सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप संचालन भएका छैनन् । सहकारी संस्था बढी हुनु खुसीको कुरो हो । जती सहकारी संस्थाको विकास हुन्छ त्यति नै जनतालाई सहजता प्रदान हुन्छ ।
सहकारीहरुले मुलुकको विकासमा पनि टेवा पुग्ने खालका गतिविधि सञ्चालन गरेर समग्र मुलुकको विकासमा योगदान दिन सक्छन् । तर सहकारीको नाममा ठगी धन्दाले सिंगो सहकारी संस्थाहरुप्रति नकारात्मक भावना पैदा भएको छ । सहकारिताको विकास भए विपन्न वर्गका जनताको बहुआयामिक सशक्तीकरणमा सघाउ पुग्नुका साथै गरीबी निवारण तथा दिगो विकासको लक्ष्य हासिल गर्नमा प्रत्यक्ष योगदान पुग्न सक्छ । सहकारीका कारण बचत गर्ने बानीको विकास भएको, वित्तीय पहु“च बढेको, स्वरोजगारी बढेको, गरिबी निवारण भएको, महिला, दलित, जनजाति, पिछडिएका वर्गका आर्थिक सामाजिक विकास भएको जस्ता सफलताका विषय पनि छन् । तयसैले सरकारले सहकारी संस्थामा मौलाएको विकृति तथा विसंगति रोक्नु पर्छ र अनुगमन र निगरानी बढाएर सहकारीको शुद्धिकरण गर्नु पर्दछ ।