प्रधानाध्यापकले शिक्षकसित प्रतिशोध साँध्दा बैतडीको मेलौलीस्थित मणिलेक माविमा तीन महिनादेखि केमिस्ट्री पठनपाठन ठप्प
महेन्द्रनगर । बैतडीको मेलौली काँडास्थित मणिलेक माध्यमिक विद्यालयका प्रधानाध्यापकले शिक्षकसित व्यक्तिगत रिसिइबी फेर्दा तीन महिनादेखि रसायन शास्त्र(केमिस्ट्री) विषयको पठनपाठन ठप्प भएको छ ।
विद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले दुई दशकदेखि केमिस्ट्री पढाउँदै आएका शिक्षक राज सिह पुजारालाई पढाउन नदिएर पठनपाठन रोकिएको हो ।
शिक्षक पुजारा विद्यालयमा विज्ञान विषय पठनपाठन सुरु भएपछि सुरुवातदेखि केमिस्ट्री पढाउने आएका हुन् । विद्यालयका निमावि तहका शिक्षक पुजारालाई आन्तरिक स्रोतबाट केही रकम दिएर केमिस्ट्री पढाउने जिम्मेवारी दिइएको थियो ।
विद्यालयका प्रधानाध्यापक कलौनीले गत असोज तेस्रो शिक्षक पुजारालाई नियमानुसार नमिल्ने भनेर पढाउन बन्द गराएका थिए । पुजारालाई पढाउन नदिएपछि विद्यालयमा असोज ८ गतेदेखि पठनपाठन हुन सकेको छैन ।
प्रधानाध्यापक कलौनी शिक्षक पुजारासित शिक्षण सामाग्री खरिदको विषयमा विवाद भएपछि असन्तुष्ट भएर हटाउनसम्म पुगेका हुन् ।
प्रधानाध्यापक कलौनीले खरिद नभएका शिक्षण सामाग्रीको बिलमा शिक्षक पुजारालाई हस्ताक्षर गर्न दबाव दिएपछि उनीहरुबीच विवाद भएको थियो । शिक्षक पुजाराले नक्कली बिद हस्ताक्षरको विषयलाई व्यवस्थापन समिति र शिक्षक बैठकमा समेत राखेका थिए । त्यसले प्रधानाध्यापक कलौनी पुजारासित क्रुद्ध बनेको विद्यालयका विद्यालयका एक शिक्षकले बताए ।
कक्षा ११ र १२ तथा प्राविधिकधारतर्फ ओभरसियरमा केमिस्ट्री पठनपाठन हुँदै आएको छ । निमावि तहका शिक्षक पुजारालाई विद्यालयले आन्तरिक स्रोतबाट रकम थप गरी उनलाई पढाउने दिइएको थियो । विद्यालयका तत्कालिन प्रधानाध्यापक मेलौली नगरपालिकाका निवर्तमान मेयर कृष्ण सिह नायकको कार्यकालमा २०६० मा पुजारालाई केमिस्ट्री पढाउने जिम्मेवारी दिइएको थियो ।
शिक्षक पुजाराले दुई दशकपछि आफूलाई नियम अनुसार पढाउन नमिल्ने भनेर छुटाइएको बताए । ‘मैले स्थायी नियुक्ति भएर आएदेखि २०६० देखि केमिस्ट्री पढाउँदै आएको थिए, अहिले आएर मलाई व्यक्तिगत र जबरजस्ती पढाउनु दिएन’ उनले भने, ‘नियम अनुसार पाउनु हुन्न भन्यो, त्यसपछि पढाउनु दिएन ।’
शिक्षक पुजाराले आफूले धेरै पटक पढाउनलाई आग्रह गर्दा पनि वास्ता नगरिएको बताए । ‘मैले पनि रिक्वेष्ट गरे तर मानेन, तर पठनपाठन हुन सकेको छैन, मलाई नि यो देखेर दुःख लाग्छ’ शिक्षक पुजाराले भने ।
शिक्षक पुजाराले पनि प्रधानाध्यापक कलौनीसित व्यक्तिगत सम्बन्ध राम्रो भएको र प्रधानाध्यापकले आफूलाई पढाउन नदिएको कारणबारे आफू यकिन हुन नसकेको बताए ।
‘वहाँसित सम्बन्ध त राम्रो नै छ, तर किन के कारणले मलाई हटाउनु भो, थाह भएन’ उनले भने,‘केही गलत कुरामा म साथ कसैलाई नि साथ दिँदैन, यसमा केही भएको हुन सक्छ ।’
विद्यालयका शिक्षकहरुका अनुसार २०७० देखि विद्यालयमा शैक्षिक सामाग्री खरिद नभए पनि बिल भरपाई बनाएर रकम खर्च हुँदै आएको छ । शिक्षकहरुले यसबारे विद्यालय व्यवस्थापन समितिलाई पटक पटक जानकारी गराउँदै आए पनि सुनुवाई भएको छैन ।
केमिस्ट्री पठनपाठन बन्द भएपछि केही विद्यार्थी छाडेर अन्यत्र समेत गएका छन् । विद्यार्थीहरुले विद्यालयलाई पढाउन शिक्षक राख्न पटक पटक आग्रह गरे पनि छिटो राख्ने भन्ने जवाफ दिने गरिएको बताए ।
प्रधानाध्यापक कलौनीले शिक्षक पुजाराले आफैंले पढाउन छाडेपछि बन्द भएको बताए । ‘वहाँ निमावि शिक्षक हो, वहाँले सक्दैनौ भनेपछि बन्द भयो’ उनले भने,‘अर्को कुरा वहाँलाई हामी धेरै सेवा सुविधा दिन सक्दैनौ, प्लस टुको स्केल चाहियो भनेपछि पढाउनु छाडि दियो ।’
शिक्षक पुजारासित आफ्नो व्यक्तिगत रिसिइबी नभएको र आफूलाई पुजारालाई पढाउनका लागि अनुरोध गरेको बताए । ‘वहाँँसित केही छैन, व्यक्तिगत त केही छैन’ उनले भने, ‘पढाउन भनेर रिक्वेष्ट गरेको, वहाँ आफैं मसित नबोल्ने , के हो थाह भएन ।’
विद्यालयले केमिस्ट्री पढाउन नयाँ शिक्षक नियुक्तिको प्रक्रिया थालेकाले छिटो पठपाठन हुने प्रधानाध्यापक कलौनीले बताए । उनका अनुसार विद्यालयले त्यसका लागि प्रक्रिया थालि सकेको छ ।
विद्यालय स्रोतका अनुसार प्रधानाध्यापक कलौनी नातेदारलाई नियुक्ति दिने प्रयास गरि रहेका छन् । काठमाडौंमा भएका उनका नातेदारसित कुराकानी भएको उनीहरुको भनाई छ ।