राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिना सहित २० जनाको कार्यकाल सकिंदैछ । राष्ट्रपतिबाट मनोनित बाहेक १९ सिटमा ११ माघमा निर्वाचन तय भएको छ । अहिले राष्ट्रिय सभामा आफुलाई पठाइदिन भन्दै दलका कार्यकर्ताहरु नेताहरुको वारिपरि घुम्न थालेका छन् । राष्ट्रिय सभामा सत्ता साझेदार दलहरुकै उम्मेदवारको जितको सम्भावना बढी भएकाले नेपाली कांग्रेस र माओवादीका कार्यकर्ता आफुहरु राष्ट्रिय सभामा पुग्न ठूला नेताहरुको चाकडीमा व्यस्त देखिन्छन् । राष्ट्रिय सभा गठनको मर्म र भावनालाई लत्याउदै हिजो पनि नेताको आर्शिबादबाट जो कोहीले पनि राष्ट्रिय सभाको सदस्य बन्ने अवसर पाएकाले दलका कार्य कर्ताहरु नेता रिझाउनमा तल्लिन भएका हुन ।
प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेकोछ । संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेकोछ । सिमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य रहेको परिकल्पना गरेर बनाइएको भए पनि गठबन्धनको नाममा जोसुकैलाई हुल्ने र कार्यकर्ता भर्तिकेन्द्रको रुपमा राष्ट्रिय सभामा देखिएको छ । त्यसैले अहिले राष्ट्रिय सभाको औचित्य नभएकाले यसलाई खारेजी गर्नु पर्छ भन्ने आवाज उठन थालेको छ ।
राष्ट्रिय सभा प्रतिनिधि सभाको चुनावमा पराजित भएका, ठूलानेताका आफन्त, नेताहरुको वारिपरि घुम्नेहूको प्रवेश हुने गरेकोले राष्ट्रिय सभा जुन परिकल्पना गरेर बनाइएको हो त्यो हुन सकेको छैन । राष्ट्रिय सभा नेताको आसेपासेलाई हुल्न र उनीहरुलाई सेवा सुविधा खुवाउने उद्देश्यले नभएर मुलुकलाई दिशानिर्देश गर्न सक्ने क्षमतावान व्यक्तित्व, समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको तर कुनै स्थान नपाएर काम गर्ने अवसरबाट बन्चित हुन थालेको र सिमान्तकृत, लोपन्मुख समुदाय सबैको प्रतिनिधित्व हुन सकोस भन्ने उद्देश्यले परिकल्पना गरिएको हो । प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य हुन्छन् । तर गठबन्धनको नाममा यसरी कोटामा पर्नु पर्नेहरुको ठाउँमा अरु नै चुनिने गरेको पाइन्छ ।
माघ ११ आउन अझै धेरै दिन बाँकी भए पनि उम्मेवाको दावी गर्नेहरुले ठूला नेताको आशिर्वाद थाप्न दौडधुप सुरु गरि सकेका छन् । जुन उद्देश्यका लागि राष्ट्रिय सभाको परिकल्पना गरिएको हो त्यो उद्देश्य बमोजिम गठन हुदैन भने दलका कार्यकर्ताको भर्ति केन्द्रकै लागि मात्र किन राष्ट्रिय सभाको आवश्यकता र औचित्य छ । राष्ट्रिय सभा स्थायी प्रकृतिको भएकोले बेला बेलामा पदावधी समाप्त हुने र त्यसमा नयाँ अनुहार आउने हुन तर नयाँ पुरा जोसुकै अनुहार हेरे पनि उद्देश्य अनुरुपाका अनुहार छैनन् ।