शुक्लाफाँटामा एमरेड परियोजनाका कार्यक्रमको अनुगमन, मेयर महरा भन्छन्– जैविक तटबन्धमा नगरपालिका सहयोग हुन्छ
महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए) कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा आर्थिक विकास मार्फत विपद् जोखिम परियोजना(एमरेड)ले सञ्चालन गरेका कार्यक्रमहरुको आज अनुगमनको कार्य गरिएको छ ।
परियोजनाले नगरपालिकामा एक वर्ष देखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा न.ं १ मा परियोजना द्धारा सञ्चालित एक सय ५० मिटरको जैविक तटबन्ध, वडा नं २ मा उखु खेतीको अबलोकनका साथै सामुदायिक विपद् व्यवस्थापन समिति र कार्यदलहरु संग विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका सम्बन्धमा अन्तक्रिया कार्यक्रम गरिएको छ ।
यसैगरी वडा नं ३ मा जैविक तटबन्ध तथा वगर संरक्षका कार्यक्रमको अवलोकन गरिएको छ । अबलोकन कार्यक्रममा परियोजनाका कार्यक्रम अधिकृत(संयोजक) महेश घिमिरेले जैविक तटबन्ध, उखु खेती र बगर संरक्षण प्रयास बारे अबलोकनमा सहभागीहरुलाई जानकारी दिए ।
अवलोकन कार्यक्रममा सहभागी नगर प्रमुख रण बहादुर महराले जैविक तटबन्धका कार्यक्रम निकै प्रभावकारी भएको चर्चा गर्दै उपभोक्ता जिम्मेवार भएर जैविक तटबन्ध निर्माण गरिएका ठाउँहरुमा घाँस लगायतका विरुवा रोप्नु पर्ने बताए ।
समुदाय तयार भए जैविक तटबन्धका कार्यक्रमलाई अझै अगाडि बढाउन तयार छौं उनले भने, ‘नगरपालिकाका तर्फबाट योगदान गर्न कटिवद्ध छौं ।
नगर उप प्रमुख कल्पना पन्तले नगरपालिकाका अति आवश्यक भएका १२ वटै वडामा परियोजना संग सहकार्य गरी नदी प्रभावित क्षेत्रमा जैविक तटबन्धका कार्यक्रम सञ्चालन गर्नका लागि पहल गरिने बताए ।
ढुङगा तार जालीको तटबन्धन भन्दा जैविक तटबन्ध निकै सस्तो र भरपर्दो भएकाले यसलाई अरु ठाउमा विस्तार गरिनु पर्ने उनले बताए ।
वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले जैविक तटबन्धले भू क्षय रोक्नमा महत्पूर्ण योगदान गरेकाले यसलाई प्राथमिकताका साथ विस्तार गरिनु पर्ने बताए ।
वडा नं १ का अध्यक्ष उत्तरदेव भट्टले जैविक तटबन्धले गर्दा नदीले कटान गर्दै आएको जग्गा जोगिएकाले थप तटबन्ध निर्माणका लागि कार्य अगाडी बढाईने बताए ।
बैजनाथ विपद व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टले परियोजनाका कारण १३ जना किसानले अनुदानमा उखुको बीउ पाएको बताए ।
उखुको बीउ बाफतको अनुदान रकम पाएका छौं उहाँले भन्नु भयो, उखु खेती गरी आर्थिक अवस्था सुधारमा हुने अपेक्षा छ । परियोजनाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत विपद् प्रतिकार्य योजना बनाई खोज तथा उद्दार, प्राथमिक उपचार, पूर्व सूचना लगायतका टोली गठन गरिएका छन ।
विपद् आएका बेला कसरी बच्ने भन्ने बारे पूर्व नमूना कृतिम अभ्यासको कार्य समेत गरिएको उनले जानकारी दिए ।