पुस १६ भदौ २४ र साउन ६ गतेलाई नेपाली कांग्रेसले वीपी कोइरालालाई सम्झिने गर्ने गरेको पाइन्छ । वीपी जन्माएको राजनैतिक दल भएकै कारण हो वा वीपीको नाम जोडिराख्दा आफुलाई फाइदा हुने भएकोले हो कांग्रेसले यी दिनहरुलाई सम्झने गरेको छ । केही औपचारिक कार्यक्रम गरेर काग्रेसका नेताहरुलाई यी दिनमा भाषण गरेर अर्ति उपदेश दिने अवसर पनि मिल्ने गर्दछ । पुस १६ मा नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर काग्रेसले यो दिनलाई मेलमिलाप दिवस मनाउने गरेको छ । तर कांग्रेस पार्टी भित्र के कस्तो मेलमिलाप छ त्यसले यो दिवसको औचित्य पुष्टि गर्ने हो ।
गुट, उपगुट, घात अन्तरघातबाट गुज्रिरहेको कांग्रेसले एक दिन मेलमिलाप दिवस मनाउदा न त वीपी प्रतिको श्रद्धान्जिली नै हुन्छ न वीपीको सामाजवादको नै औचित्य पुष्टि हुन्छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले कू गर्दै शासन आप्mनो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालिएको थियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए । २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थालेका थिए । २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएको दिन पुस १६ मनाइरहदा कांग्रेसले आप्mनो अनुहार ऐनामा हेर्नु पर्ने हो तर त्यसो कहिलै हुन सकेन ।
वीपीकालीन समयमा नेपाली कांग्रेसको निति जब ९० प्रतिशत गरिव एवं विपन्न जनताको प्रतिनिधि राज्यको नीति निर्माण तहमा पुग्दैन, तबसम्म जनता कुनै न कुनै रुपमा शोषित नै रहन्छन् भन्ने थियो र वीपी यही उद्देश्य प्राप्तिका लागि संघर्ष गर्दै आएका थिए । त्यसैले वीपीलाई सामाजवादी नेता र कांग्रेसलाई समाजवादी पार्टीका रुपमा उभ्याएको थियो । तर मौजुदा कांग्रेसको नीति र नेतृत्व दुबै असफल मात्र भएका छैनन् सिंगो संगठन नै तहस नहस भएको छ । पार्टी नेतृत्वमा कांग्रेसको समाजवादी नीति विपरीतको दृष्टिकोण हाबी हुदै गए पछि समाजवाद पक्षधरहरु एक्लिदै समाप्तिको बाटोमा पुगेका छन् । समाजवाद पक्षधरहरु एक्लिदै समाप्तिको बाटोमा पुगेसंगै कांग्रेसका पनि समाप्तिका दिन सुरु भएका छन् । यसरी कांग्रेस बेथितिमा जानुमा नेतामा नैतिकताको जति अभाव देखियो, त्यति नै कार्यकर्तामा पनि अनुशासनको आभाव देखिन्छ । नेतामा नैतिकता र कार्यकतामा अनुशासनको बल नहुँदासम्म वीपीको विचार र सात दशकको इतिहास बोकेको पार्टी मात्रै भनेर अबको पार्टी चल्दैन कांग्रेसजनलाई चेतना भया ।