लक्ष्मीको हातमा एमाले कञ्चनपुरको लगाम

सुदूरपश्चिमा एमालेमा राखिन रेकर्ड, पार्टी एकढिक्का बनाउने लक्ष्य

Amity

महेन्द्रनगर । १० वर्षको उमेरमा बहुदल निर्दल भनेर भनेर सुनेकी लक्ष्मी बुढा घर परिवार संगै बहुदलको पक्षमा उभिइन् । राजनीतिको कखरा केही थाहा नभएकी उनी त्यति बेला बहुदल भनेर कराएको सम्झिन्छन् । उनी बहुदल भनेर कराउने एउटै कारण थियो, कम्युनिष्ट पुष्ठूभमिका उनका बुवा दामोदर भण्डारी बहुदल पक्षधर थिए ।

‘त्यति बेला बहुदलको आन्दोलन थियो, बहुदल भनेर कराइयो, बुवा कम्युनिष्ट हुनु हुन्थ्यो, बहुदलको पक्षमा हुनु हुन्थ्यो, त्यसैले बहुदलको पक्षमा जानेर नजाने लागे’ उनी सम्झिन्छन् ।

janjyoti campus

कृष्णपुुर नगरपालिका १ पहरियामा २०३७ मा जन्मिएका बुढा सानैदेखि बहुदलको पक्षमा लागेर राजनीतिमा जोडिँदै एमाले कञ्चनपुुरको नेतृत्व पाएकी छन् । नवौ अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष भएकी हुन् ।

सर्वसम्मत अध्यक्ष भएकी बुढाले एमालेको सुदूरपश्चिम र कञ्चनपुरमा पहिलो महिला अध्यक्ष हुने रेकर्ड बनाएका छन् । एमाले अध्यक्षात्मक प्रणाली गई सकेपछि कञ्चनपुरमा सर्वसम्मत अध्यक्ष हुने अर्को रेकर्ड पनि बुढाले बनाएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सोमबार बुढाले पद तथा गोपनियताको शपथ खाएकी छन् । बुढा यस अघि आठौं अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएर कार्य वाहक हुँदै नवौ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएकी हुन् ।

कम्युनिष्ट परिवारमा जन्मिएका बुढा घर परिवारको राजनीतिक माहौलका कारण आफू एमाले हुनु पुगेको बताउँछिन् । ‘मेरो माइती घरको वातावरण त्यस्तै थियो, बुवा कम्युनिष्ट राजनीतिमा हुनु हुुनु हुन्थ्यो, मलाई होस हुने बेला घर परिवार सबै एमाले देखे’ उनले भनिन्,‘केही न केही गर्नु सकिन्छ भनेर राजनीतिमा होमिए ।’

बुढाका बुवा भण्डारी २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालिन कृष्णपुर गाविसको वडा नं. १ को अध्यक्ष चुनाव लडेका थिए । त्यसको पाँच वर्षपछि २०५४ मा भएको स्थानीय तह निर्वाचनमा उनकी आमा द्रोपती भण्डारी चुनाव लडेकी थिइन्।

२०५१ को मध्यावधि निर्वाचनमा बुढाले पहिलो पटक सूर्यलाई मतदान गरेकी थिइन् । त्यति बेलासम्म बुढा विद्यार्थीमा सक्रिय भई सकेकी थिइन् ।

पहरियाको राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्दा बुढा अनेरास्ववियुसित जोडिएकी थिइन् । अनेरास्ववियुको स्कुल कमिटी सचिव भएर विद्यार्थी राजनीति थालेकी उनी त्यसपछि पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा लागेकी हुन् ।

बुढासंगै अनेरास्ववियुका राजनीतिमा जोडिएका पहरियाका माओवादी केन्द्रका नेता हरिश ठकुला सभासद भई सकेका छन् । बुढाका नातेदार ठकुल्ला अखिलको विद्यालयक कमिटीसंगै बसेका थिए ।

बुढाले पार्टी सदस्यता लिइ सकेपछि एमालेको तत्कालिन कृष्णपुर गाउँ कमिटी, इलाका कमिटी र क्षेत्रीय कमिटीमा जिम्मेवारी वहन गरेकी थिइन् । क्षेत्रीय कमिटीमा उनी दुई कार्यकाल सदस्य भएकी थिइन् ।

क्षेत्रीय कमिटी सदस्यपछि जिल्ला सल्लाहकार हुँदै जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, कार्य वाहक अध्यक्ष हुुँदै बुढा नवौ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएकी हुुन् । उनी पहिलो पटक सातौ अधिवेशनबाट तारालामा तामाङ्ग नेतृत्वको जिल्ला कमिटी, विघटित नेकपा कञ्चनपुरको सदस्य र बीर बहादुर थापा नेतृत्वको एमालेमा उपाध्यक्ष र आठौै अधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

एमाले विभाजनपछि तत्कालिन उपाधयक्ष जीवनराज थापाले पार्टी छाडेपछि बुढालाई उपाध्यक्ष बनाइएको थियो । पार्टी राजनीतिसंगै बुढा अखिल नेपाल महिला संघको राजनीतिलाई पनि सक्रिय छन् । उनी हाल महिला संघको स्थानीय कमिटी सदस्य र सुदूरपश्चिम सह इन्चार्ज छन् ।

उनी महिला संघमा पनि सदस्यबाट केन्द्रसम्म पुगेकी हुन् । महिला संघको जिल्ला सदस्य भएकी उनी सचिव हुँदै केन्द्रीय सदस्य भएकी थिइन् । विघटित नेकपा कालमा उनले महिला संघमा केन्द्रीय सदस्य र सुदूरपश्चिम सह इन्चार्जको जिम्मेवारी पाएकी थिइन् ।

राजनीतिक परिवारमा जन्मिएकी बुढा भण्डारी दम्पत्तिकी माइली छोरी हुन् । उनका दाई दाई सुनिल भण्डारी पनि एमाले राजनीतिमा सक्रिय छन् । २०५२ मा विवाह बन्धनमा बाँधिएकी बुढाले घर परिवारको जिम्मेवारीसंगै राजनीतिलाई निरन्तरता दिएकी थिइन् ।

बुढा जागिर खाने मन कहिले नलागेको विगत सुनाउँछिन । राष्ट्रिय मावि पहरियामा पढ्दा उनलाई शिक्षक बन्न पटक पटक आग्रह गरिएको थियो । गाउँ घरमा पढे लेखेको महिला नभएकाले विद्यालयका शिक्षकहरुले उनलाई पढाउन आग्रह गर्ने गरेका थिए ।

माइती घरमा सक्रिय राजनीति थालेकी बुढाको घर परिवार भने राजनीतिबाट टाढा थियो । विवाहपछि घर परिवारको साथ पाएर राजनीतिलाई निरन्तरता दिएको उनी बताउँछिन् ।

बुढाका एक छोरा एक छोरी छन् । घर परिवारको जिम्मेवारी वहनसंगै एमाले राजनीतिमा सक्रिय बुढाले सामाजिक कार्यमा संलग्न भएकी थिइन् । बुढाले लामो समय महिला स्वास्थ्य स्वयम् सेविकाको काम गरिन् । २०५७ देखि २०७० सम्म बुढा स्वयम् सेविका भएर सेवा गरेकी थिइन् ।

२०६२÷०६३ को जन आन्दोलनमा सक्रिय सहभागी भएकी उनी नागरिक समाजसित आवद्ध भएकी छन् । उनले सामुदायिक वन, महिला स्वास्थ्य स्वयम् सेविका समिति लगायतका सामाजिक संस्थामा नेतृत्व गरेकी छन् ।

एमाले नवौ अधिवेशनबाट निर्विरोध पदाधिकारीमा बुढा सबैभन्दा कान्छी हुन् । एमाले जिल्ला पदाधिकारीमा बुढा सहित पाँच जना छन् । उनी महिला पुरुष सबैलाई नेता बन्न सजिलो काम नभए पनि लक्ष्य राखेर अघि बढ्न सके अप्ठेरो नहुने बताउँछिन् ।

‘महिलालाई पुरुषको तुलनामा राजनीति गर्न त अलि केही समस्या त हुन्छ, तर पनि कार्यकर्तासित जोडिनु पर्छ, संगठनसित जोडिनु पर्छ, त्यसरी नेता बनेपछि त्यति अप्ठेरो हुँदैन’ उनी भन्छिन् ।

राजनीतिमा लागेर आफूलाई केही पनि घाटा नभएको र समाज सेवा गर्न पाएको सन्तुष्टि मिलेको बुढा बताउँछिन् । राजनीतिमा सक्रिय भएपछि आफूसित धेरै भोगाई भएको र महिला भएका कारण समाजमा विभिन्न लाञ्छना लाग्ने गरेको उनले बताइन् ।

‘अहिले पनि सोचे जस्तो अवस्था त छैन, त्यो बेला त झन कस्तो होला, महिलालाई त गाह्रो नै हुन्छ’ उनी भन्छिन्,‘कसैसित बोले, कसैसित हिँडे पनि लाञ्छा लागि हाल्छ, त्यसको वास्ता नगरी मिसनमा हिडि रहनु पर्छ ।’

महिलालाई राजनीतिका लागि आर्थिक समस्या पनि अर्को कारण देखिएको बुढा बताउँछिन् । ‘पार्टी सदस्य भएर अध्यक्ष हुँदासम्म नेता कार्यकर्ता सबैबाट साथ सहयोग पाएकी छु, आगामी दिनमा पनि साथ सहयोगको आश राखेकी छु’ उनी भन्छिन् ।

एमाले कञ्चनपुरको नवौ अधिवेशनमा आफू अन्तिमसम्म सर्वसम्मतको पक्षमा भएको बुढाको भनाई छ । एमालेका केन्द्रीय नेतालाई उनले आफू भन्दा परिपक्कव नेतालाई नेतृत्व दिए आफूलाई स्वीकार हुने सन्देश पठाएको बताउँछिन् ।

अध्यक्ष बुढा एमाले कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रमुख कार्यभार बनाएर अघि बढ्ने बताउँछिन् । ‘पार्टीलाई एक ढिक्का बनाउने मेरो पहिलो प्राथमिकता हो, सबै नेता कार्यकर्ताको भावना अनुसार पार्टीलाई एक ढिक्का बनाएर बलियो बनाउँछु’ उनले भनिन्,‘त्यसका लागि संगठन विस्तार, पार्टी प्रशिक्षण, सदस्यता विस्तार, जनतासित पार्टीको पहुँच बढाउने लगायतका कार्य योजना बनाएर अघि बढ्छौ ।’

एमालेको मिसन ८४ लाई सफल पार्ने लक्ष्य प्राथमिकतामा राखेर जिल्ला कमिटी अघि बढ्ने उनको भनाई छ । उनले एमालेमा सर्वसम्मतपछि गुट उप गुट केही नभएको दावी गरिन् । ‘अब गुट उप गुट केही रहने छैनन्, एमाले अब ढिक्का भएर अघि बढ्नेछ’ अध्यक्ष बुढा भन्छिन् ।

 

ghar sansar
सम्बन्धित
Loading...