ghar sansar

उदयदेब सहकारीको चामल बिक्री सुरु, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पुगाउने लक्ष्य

Amity

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चामल बिक्री सुरु गरेको छ । सहकारीले भीमदत्त नगरपालिका १९ बागफाँटास्थित राइस मिल सञ्चालन गरी उदयदेब ब्राण्डको चामल बजारमा ल्याएको हो ।

सहकारीले मिल सञ्चलन गरेपछि किसानबाट दुई हजार तीन सय ५८ क्विन्टल धान खरिद गरेको थियो । मिलमा धान प्रशोधन गरी चामल उत्पादन गरिएको चामललाई सोमबारदेखि बिक्री सुरु गरिएको छ । सहकारीले किसानलाई तीन हजार दुई सय समर्थन मूल्य दिएर धान खरिद गरेको थियो । सरकारले त्यति बेला दुई हजार ६ सय समर्थन मूल्य तोकेको थियो ।

lotus institite

‘राइस मिल बागफाँटामा छ त्यसमा चामल उत्पादन गरी आजदेखि बजारमा बिक्री सुरु गरिएको हो’ सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले भने,‘सहकारीका शेयर सदस्य सहितले उत्पादन गरेको धान तीन हजार दुई सय समर्थन मूल्य दिएर खरिद गरेका थियौ ।’

सहकारीले कार्यालय नजिकमा बिक्री केन्द्र राखेर चामल बिक्री गर्न थालेको हो । प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्रमुख सन्जु उपाध्ययले रिबन काटेर बिक्री केन्द्र उद्घाटन गरेकी छन् । उनले सहकारीले किसानका उपज खरिद गरी बिक्री वितरणका लागि बजारमा ल्याउँदा किसानलाई फाइदा हुने बताइन् ।
‘किसानका उपज यसरी सहकारीले किनेर बजारमा ल्याउँदा किसानलाई बिक्रीका लागि समस्या हुँदैन, यसबाट किसानलाई फाइदा हुन्छ’ उनले भनिन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीलाई राइस मिल सञ्चालनका लागि अनुदान दिएको थियो । परियोजनाको २४ लाख सहित ३७ लाख ४३ हजार लगानीमा राइस मिल सञ्चालन गरिएको हो ।
परियोजना कार्यान्वयन इकाई प्रमुख उपाध्ययले सहकारीसित विश्वास भएर सहकार्य गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने बताइन् ।

मिलले प्रति घण्टा एक टन चामल उत्पादन गर्न सक्ने क्षमता भएको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । उनका अनुसार मजदुर, भाडामा बस्ने विद्यार्थी र विपन्न समुदायलाई मध्यनजर गरी मध्यम खालको चामल उत्पादन गरिएको छ ।
‘यो मध्यम खालको चामल हो, यो मोटो पनि होइन, मसिनो पनि छैन, बजार भाउ भन्दा कम छ, प्रतिकिलो ५३ रुपैँया पर्छ’ प्रमुख कार्यकारी अधिकृत चन्दले भने,‘अहिले १० किलो र २५ किलोको प्याकका रुपमा ल्याएका छौ ।’

सहकारीका अध्यक्ष नारा जोशीको अध्यक्षातमा गरिएको बिक्री केन्द्र उद्घाटन कार्यक्रममा सहकारी उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट, लेखा समिति संयोजक चित्राङ्ग थापा, ऋण समितिका संयोजक लक्ष्मण लेखक , भीमदत्त नगर सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्द, सहकारी बैंकका प्रमुख नविन क्षेत्री लगायतका सहभागी भए ।

सहकारीका उपाध्यक्ष भट्टले सहकारी संस्था लक्ष्य उद्देश्य अनुसार सञ्चालन भए समस्या नहुने उल्लेख गर्दै पछिल्लो पटक राजनीतिक पहुँचका आधारमा अनुदान दिने गरिएकोमा असन्तुष्टि पोखे ।

सहकारीका लेखा समिति संयोजक थापाले सहकारीले धान सहितका बाली उत्पादनका लागि किसानलाई उन्नत बिऊ बिजन दिने गरिएको बताए । बागफाँटामा सहकारीले मिल सञ्चालन लगायत कार्यका लागि एक बिगाहा जग्गा खरिद गरिएको थापाको भनाई छ ।

‘समूह अन्र्तगतका किसानलाई बिऊ बिजन दिएर त्यसबाट उत्पादन हुने धान सहकारीले खरिद गरी चामल उत्पादन गरिएको हो’ उनले भने ।

सहकारीले सुदूरपश्चिमका पहाडी जिल्लासम्म चामल पुगाउने लक्ष्य लिएको छ । बैतडी र दार्चुलामा सहकारीका शाखा सञ्चालनमा छन् । ती दुबै जिल्लामा चामल पुगाउने गरी बिक्री सुरु गरिएको छ ।

उदयदेब सहकारीमा २० हजार भन्दा बढी शेयर सदस्य छन् । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले लामो समय सहकारीको नेतृत्व गरेका थिए । सहकारीका अध्यक्ष जोशीले निवर्तमान अध्यक्ष चन्द चालम बिक्री केन्द्र उद्घाटन कार्यक्रममा सहभागी नभए पनि सहकारीका ठूलो योगदान भएको बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...