सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मिँयाले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गत आइतबार नेपाली कांग्रेस र समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सोडारीको नियुक्तिमा नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने आपत्ति जनाएको छ ।
रेशम पक्षले यसअघि नागरिक उन्मुक्तिबाट मुख्यमन्त्रीमा दुई सांसदले गरेको दाबी पेसमा सनाखत नगरी रद्द गरिएको, नाउपाभित्रको आधिकारिताको विवादको परीक्षण नभई सांसद संख्या गणना भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले पनि त्यसमा साथ दिएको छ । रेशमको पक्षमा पाँच सांसद छन्, उनीहरूले सोडारीलाई समर्थन जनाएका छैनन् । सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै पाँचै जनाले सोडारीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । नागरिक उन्मुक्तिमा दलको नेता कसलाई मान्ने भन्ने विवाद छ । यसअघि सोडारीबाहेक मुख्यन्त्री हुनु पर्ने अडानमा रहेको एमालेले अन्ततः समर्थन जनाएको छ ।
सोडारीलाई मुख्यन्त्री मान्न नसकिने भन्दै एमालेले सोडारीका विगतका कमी कमजोरी कोट्याएर विभिन्न आरोप लगाएको थियो । एमालेले अन्ततः समर्थन जनाए पनि तत्काल सरकारमा सहभागी नहुने भएको छ । एमालेले सरकारलाई समर्थन जनाए पनि तत्काल सरकारमा सहभागी नहुन पार्टी नेतृत्वको निर्देशन दिएको छ । एमालेले सोडारीलाई समर्थन जनाउन नसकिने अडान लिएपछि केन्द्रमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सुदूरपश्चिममा सरकार गठनको विषयमा छलफल गरेका थिए । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सुदूरपश्चिममा सरकार गठनको विषयमा छलफल भएपछि एमालेले बाध्यताले समर्थन जनाए पनि सरकारमा सहभागि नभएर आफ्नो विमति जारी राखेको छ ।
अहिलेको सत्ता गठबन्धनमै आघात पुग्न सक्ने देखिएकाले एमालेले बाध्यात्मक अवस्थामा समर्थन जनाए पनि सोडारीको विगतसंग एमाले परिचित भएको र कारवाही समेत गरेकोले साडारीकै नेतृत्व स्वीकार गरेर सरकारमा सहभागि हुन नैतिक बन्धन एमालेलाई परेको छ । तर नेपाली राजनीतिमा नैतिकताको खडेरी भएको बेले एमालेको नौटंकीको के अर्थ छ । माछो देखे दुला हात सर्प देखे बाहिर हात गर्ने राजनीतिक दलहरु आफ्नो स्वार्थको लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छन् भन्ने कुरो नेपाली जनताले राम्रोसंग बुझेकाले एमालेको यस्तो नौटकीले उसैलाई नङ्ग्याउन मद्दत गर्दछ । सोडारीलाई नाना थरी आरोप लगाएको एमालेले अहिले किन समर्थन गर्नु पर्ने बाध्यता आयो र समर्थन गरिसके पछि सरकारमा सहभागी हुन नौटंकी गर्नुको कुनै अर्थ र औचित्य हुँदैन ।