महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाका कारण अवरुद्ध मझगाउँ विमानस्थल निर्माणको कार्य सोमबारदेखि सुरु भएको छ । मझगाउँ विमानस्थल सञ्चालन समितिको अगुवाईमा नागरिक स्तरबाट ठेकेदार कम्पनीका डोजर प्रयोग गरी निर्माण कार्य थालिएको हो ।
समितिले बैशाखमा मात्रै दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएर पनि समस्या समानधान हुने नभएपछि डोजर लगाइएको हो ।
समितिले आइतबार साँझ गरेको पत्रकार सम्मेलनमा समितिका सचिव राजेन्द्र चन्दले ठेकेदार कम्पनीले जनताको साथ विना अवरुद्ध निर्माण कार्य अघि बढाउन नसकिने भनेपछि समिति डोजर लगाउने अवस्थामा पुगेको बताएका थिए ।
विमानस्थल निर्माणको ठेक्का लिएको कान्छारामा कन्स्ट्रक्सका सञ्चालक पूर्ण बहादुर तामाङ्ग आफंै संसदमा छन् । संघीय संसदका साँसद तामाङ्गको ठेक्कालाई अघि बढाउन नागरिक स्तरबाट डोजर लगाउनु पर्ने अवस्था आएको हो ।
काँग्रेस नेता तामाङ्ग २०७९ को निर्वाचनमा रामेछापबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । तामाङ्गको कम्पनीले तीन वर्षमा निर्माण कार्य पूरा गर्ने शर्तमा ४५ करोड ६६ लाखमा विमानस्थल निर्माणको ठेक्का लिएको हो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक साँसद छन् । लेखक पहिलो पटक २०५६ मा साँसद हुँदा विमानस्थल बन्द भएको थियो । त्यसपछि साँसद लेखक पटक पटक साँसद भएर मन्त्री भइ सकेका छन् ।
लेखकले २०७९ को निर्वाचनमा विमानस्थल सञ्चालनलाई चुनावी एजेण्डा बनाएका थिए । केही दिन अघि गृह जिल्ला आएका लेखकले कानुनी र प्रशासनिक प्रक्रिया पूरा अवरुद्ध निर्माण कार्य अघि बढाउनु पर्ने बताएका थिए ।
लेखक अघिका साँसद डा. दिपक प्रकाश भट्टको पालामा बन्द विमानस्थल सञ्चालनका लागि ठेक्का भएर निर्माण कार्य अघि बढेको हो । तत्कालिन साँसद भट्टले सरकारका अन्तर निकायबीच समन्वय नभएर निर्माणमा समस्या देखिएकाले सहज बनाउनु पर्ने बताउँदै आएका छन् ।
पाँच वर्ष अघि २०७६ मा पूर्व डिएफओ रमेश चन्द ठकुरीको नेतृत्वमा विमानस्थल सञ्चालनका लागि नागरिक स्तरबाट समिति गठन गरिएको थियो । समितिले जनप्रतिनिधि र राजनीतिक दलका नेतालाई विमानस्थल सञ्चालनका लागि एसएमएस पठाएर दबाव दिएपछि पुनः सञ्चालनका लागि दबाव दिएको थियो ।
नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले साझेदारीमा २०७८ मा ४५ करोड ६६ लाखमा ठेक्का भएर पुनः सञ्चालनका लागि निर्माण कार्य अघि बढेको हो ।
मझगाउँ विमानस्थल सञ्चालन समितिका संयोजक रमेश चन्दले सेना, निकुञ्ज, राजनीतिक दल सबैसित छलफल, समन्वय र सहकार्य गरी विमानस्थल निर्माण कार्य सुरु गरिएको बताए ।
विमानस्थल निर्माण सुरु भएर सेना र निकुञ्जबाट पटक पटक अवरोध भएपछि राजनीतिक दलबाट अपेक्षाकृत सहयोग नभएको संयोजक चन्दले असन्तुष्टि पोेखे ।
‘२०५१ को राजपत्रमा यो जग्गाबारे प्रष्ट रुपमा भनिएको छ, राजपत्रलाई नै आधिकारिक मान्ने हो, सबैसित पर्याप्त छलफल नै गरी सुरु गरिएको हो’ उनले भने,‘त्यो बेला सबै ठिक थियो, त्यसपछि अर्कै रहेछ भन्ने त अहिले थाह भयो ।’
पाँच दशक अघि सञ्चालन गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५६ मा बन्द गरिएको थियो । त्यही विमानस्थललाई दक्षिणतिर झण्डै पाँच सय मिटर विस्तार गरी सञ्चालनक लाागि निर्माण कार्य अघि बढेको हो ।
विमानस्थल दक्षिणतिर विस्तार भए एक हजार पाँच सय २५ मिटर लम्बाईको धावनमार्ग हुने छ । यस अघि एक हजार मिटर भएको धावनमार्गलाई विस्तार गर्न सके विमान चलाउन सकिने सम्भाव्यता अध्ययनमा देखिएको थियो । त्यसपछि सेना र निकुञ्जसित छलफल गरी ठेक्का भएको हो ।
विमानस्थलसित हाल ५२ बिगाहा जग्गा छ । त्यस बाहेक सेना र निकुञ्जले निर्माण अवरोध गरि रहेको २२ बिगाहा जग्गामा विमानस्थल विस्तार गर्न खोजिएको हो । त्यहीं क्षेत्रमा सेना र निकुञ्ज दुबैले अवरोध गरेका हुन् ।
सेनाले राजपत्रमा विमानस्थलको क्षेत्र प्रकाशन भएपछि २२ बिगाहा जग्गा आफ्नो नाममा पूर्जा बनाएको छ । सरकारको निर्णय विना तत्कालिन चण्डीदल गणले जग्गाको पूर्जा बनाएको थियो ।
हालसम्म विमानस्थल निर्माण कार्यको प्रगति ३६ प्रतिशत भएको छ । ९ सय ७० मिटर धावन मार्ग निर्माण गरिएको छ । अवरोधका कारण दक्षिणतिर निर्माण कार्य अघि बढाउन सकिएको छैन ।
२०७७ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको साझेदारीमा विमानस्थल निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार भीमदत्त १५ प्रतिशत, दोधारा चाँदनी १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार २५ प्रतिशत र बाँकी ५० प्रतिशत लगानी संघ सरकारको व्यहोर्ने भएका छन् ।