सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षमा प्रदेशको बजेट २९ अर्ब २६ करोड रहेकामा सरकारले झण्डै साढे दुई अर्ब रुपैयाले बजेटको आकार बढाएको छ । चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार, पुँजीगत तर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजा अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ । बजेटले सबै क्षेत्र सबै समुदाय र सबै बर्गलाई समेटेको छ । पुँजीगत तर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार मात्र बजेट विनियोजन गरिएको भए पनि यसले प्रदेशका नौ ओटै जिल्लालाई समेटेको छ । बजेटमा पूर्वाधार उर्जा सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ गुरुयोजना, एकीकृत बस्ती विकास कार्यक्रम र स्मार्ट शौचालय निर्माण, भूमिगत सिँचाइ सुविधा विस्तार, कृषि तथा सिंचाइ प्रोत्साहन गर्ने, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको विकास गर्ने भनिएको छ ।
विश्वविद्यालय स्थापना गर्ने, विद्यालय दिवा खाजा कार्यक्रम संचालन गरिने, दलित, कमैया, हलिया, सीमान्तकृत समुदायका बालबालिकालाई एमबीबीएस अध्ययन छात्रवृत्ति कार्यक्रम संचालन गर्ने,मानसिक स्वास्थ्य कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गर्ने महत्वकंक्षी योजनाहरु अघि सारेको छ । प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य इकाइ खडा गर्ने, जोखिममा परेका बालबालिकाका लागि प्रदेश बाल कोष बनाउने, सानै छु बढ्न देऊ बाल विवाह होइन पढ्न देउ अभियान चलाउने, सुदूरपश्चिमलाई २०८१ देखि २०९० को दशकलाई दलित अधिकार दशक घोषणा गर्दै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको अध्ययन गरेर गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने, दलित समुदायको हक, अधिकार र उत्थानका लागि टीकाराम पार्की दलित सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न जस्ता सस्तो लोकप्रियताका लागि ९ जिल्लामा कनिका छरे जस्तो गरी बजेट छरेकै छ ।
प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन गर्न सुदूरपश्चिम विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने, जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षा विकास कार्यक्रम सञ्चालन गर्ने, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालबाट ज्येष्ठ नागरिक, एकल महिला र क वर्गका अपांगता भएका नागरिकको निःशुल्क परीक्षण र औषधीको व्यवस्था मिलाइने पनि भनिएको छ । किसानलाई बीउ, बेर्ना, पशुपन्छी पालन, यान्त्रिकीकरणमा अनुदान दिने, सहकारीको नियमन गर्ने, दुग्ध क्षेत्रको विकास गरिने, कृषि अनुदान दिइने, कृषि यान्त्रिकरण गरिने, स्थानीय रैथाने बाली, बेसार, घाँस, अम्रेसो खेती, बाली विशेष जिल्ला कार्यक्रम लागु गरिने, ग्रामीण क्षेत्रमा मासु उत्पादन, बाख्रा, बंगुर, कालिज, भैँसी पालन, दुग्ध उद्योग प्रवद्र्धन प्याकेज मेसिन तथा यन्त्र उपकरणमा सहयोग प्रदान गर्ने ।
प्रदेशका प्रमुख पर्यटकीय स्थल बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावरी धाम, शुक्लाफाँटा लगायतको पर्यटन प्रवद्र्धन तथा विकास गरिने, सबै जिल्लामा धार्मिक तथा प्राकृतिक स्थलहरुमा पर्यापर्यटन प्रवद्र्धन गरिने । प्रदेशमा शान्ति, सुरक्षा कायम गर्न राजमार्ग क्षेत्रमा ट्राफिक लाइट तथा सीसी टिभी क्यामेरा जडान गर्ने कार्यक्रम, विपद जोखिम न्यूनीकरण गर्ने र पत्रकारिताको संस्थागत विकास गर्ने महत्वकंक्षी एंम सस्तो लोकप्रियता बटुल्ने बजेट पेस गरिएको छ ।