
–ईश्वरी प्रसाद खरेल
चुरे क्षेत्र घाडीघाँचबाट आउने खोला खन्ने खोला, गहताडी खोला, तीलाती खोला, भुजेला खोला, कामिकाटे खोला, गोबरैया खोला, भाँसी खोला चौधरी आदि छन् । खन्नेबाट आउने, चुरे क्षेत्रबाट आउने खहरे खोलाले वडा नं. ७,६, ३,१,२,४,१८ र १५ लाई प्रभावित गर्दा भुजेला खोलाले वडा नं. ११, १२, १३ लाई ।

२०८१ असार २२,२३, २४ गतेको बाढीले वास्तवमा कसरी यस्तो भयावह स्थिति सिर्जना ग¥यो ? के खहरे खोलामा आएको बाढीले हो ? या बजार क्षेत्रमा अहिले एडीबले बनाउँदै गरेको सडकका कारणले हो ? अन्य के हो ? यसलाई हामीले केलाएर हेरौ भने हाम्रो भीमदत्तको बनौट चुरेको फेदबाट सुरु भई महाकाली किनारसम्म छ । यो क्षेत्रमा ८÷९ ओटा खहरे खोलाहरु छन् । यिनै खोलामा आउने बाढीले भीमदत्त प्रभावित गरेको देखिन्थयो । तर अहिले त्यस्तो भन्दा केही फरक हो कि खास गरेर महेन्द्रनगर बजारदेखि तल मात्र डुबान हुनुको कारण के हो ?
हामीले खहरे खोला, गन्दा नाला पानी निकासका लागि भन्दा आफ्नो प्रयोग कसरी गर्न सकिन्छ भनेर लाग्यौ । जाली, क्रेट, कंक्रिट गरेर खोला नालाको चौडाईको आकार घटायौ । अतिक्रमण ग¥यौ । एउटा कारण हो भन्ने लाग्छ मलाई । अर्को भीमदत्तको उत्तरी क्षेत्रमा बनेको सहरले सतहमा पानी निकासका लागि उपयुक्त संरचना बनाउन सकिएन । ब्रह्मदेब सडकले सडक मात्रै बनायौ । पानी निकासको बारेमा केही गरेन । त्यही भएर अहिले ठूलो बाढी आउँदा खेत, आँगनको पानी निकासको समस्या हुने देखियो । त्यस कारण हामीले विकास गर्न अघि संरचना बनाउँदा पहिलो शर्त पानी निकास हुनु पर्ने देखिन्छ ।
गत असार २२,२३ र २४ गते अति वर्षाले खहरे खोला, खेत आँगनको पानीले निकास नपाएपछि वडा नं. ५,६, ३ को नहर र राजमार्ग क्षेत्रमा पानीले ठूलो बाढी आयो । वडा नं. ५ बाट नहर काटेर पानी निकास त गरियो तर थेग्न नसक्ने गरी नहरमा पानी आएपछि भाँसी क्षेत्रमा आएर नहर फुट्यो र बजार क्षेत्र वडा नं. ४ र १८ भगतपुर, निम्बुखेडा, खैरभट्टी, बागफाँटा क्षेत्र अत्यधिक जोखिममा परे । त्यहाँ पसलका सरसमानदेखि लिएर पूरै घरका लत्ता कपडा, अन्न, पाल्तु जनावरहरुको नोक्सान भयो ।
यसरी हेर्दा चुरेको फेद भन्दा तलको बस्तीबाट आउने सतहको पानी खेत खलियान आँगनको पानीको समुचित निकास नभएको कारणले जनता प्रभावित भएका छन् । यी वडाहरुमा सतहको पानी निकासमा गुरु योजना बनाउनु पर्ने देखिन्छ । त्यस्तै वडा नं. ११,१२, १३ मा पनि समस्या देखियो । भुजेला खोलाबाट महाकाली नदीमा भुजेला खोला मिसाउँदा बनाइएको संरचनाको डिजाइनको बारेमा पनि प्रश्न उठाइएको छ । वास्तवमा ठूलो नदीमा सानो खोला मिसाउँदा कस्तो संरचना चाहिने हो ? त्यो बनेको पाइएन । ११,१२ १३ मा पनि कतिपय महाकाली सिँचाईले बनाएको गन्दानाला धेरै अतिक्रमणमा परि सकेका छन् । अन्य ठाउँहरुमा पनि सतह आँगन बाटोको पानीको निकासको व्यवस्थापन गरिएको छैन । त्यस क्षेत्रमा सतहको पानी निकासको खुला संरचना बनाउनु आवश्यक छ ।
त्यस्तै वडा नं. ११ को भुजेला भारतीय सीमा क्षेत्रमा पनि सतहको पानीले नोक्सान गरेको छ । निकास नहुँदा घरहरु लामो समय डुबानमा छन् । त्यस्तो समस्याको पनि समाधान भारतीय पक्षसंग समेत गर्न पर्ने देखिन्छ । वडा नं. ९ को कामिकाटे खोला गहताणी खहरे पनि विनाशलाई निम्त्याउने गरेका छन् । केही मात्रामा समाधानका प्रयास भए पनि अझै गर्नु पर्ने देखिन्छ ।
महेन्द्रनगर बजार क्षेत्र भगतपुर लगायतका ठाउँमा नहरमा पानी धेरै प्रभाव हुन र नहरले पानी थेग्न नसकी नहर फुटेर आएको बाढीले नोक्सान गरेको हो । नहर काटेर सतहको पानी नहरमा प्रवाह गर्दा त्यो पानी अन्य ठाउँमा गएर प्रभावित गर्छ भन्ने हेक्का सम्बन्धित प्रशासनले नराख्दा जोखिम कम गर्ने सूचना प्रवाह गर्न नसक्दा बजार भगतपुरको जनताले ठूलो क्षति व्यहोर्न प¥यो । यस्ता कुराको पनि सम्बन्धित निकायले ध्यान दिनु पर्छ । जहाँसम्म एडीबीको संरचनाले हो त भन्दा त्यस्तो हो भन्ने जस्तो मलाई लाग्दैन । हो केही ठाउँमा व्यक्तिबाट प्रभावित भएर पानी निकास उल्टो गरिएको छ ।
खास गरेर बैजनाथ स्कुल, भृकुटी स्कुल, मञ्चको पानीलाई तलतिर बग्न नदिएर मदनचोक मेन बजार भएर निकास गर्ने नाली बनाइएको छ । जस कारणले महेन्द्रनगर बजार हरेक पटक डुबान हुने खतरा छ । समग्रमा हाम्रो डुबानको समस्या यस पटक अत्यधिक वर्षाले हो भन्नेमा दुई मत छैन । तर हाम्रा आफ्नै कारणहरु खोला नाला अतिक्रमण , सतहको पानी निकासको संरचना नबन्नु आदि छन् । यसमा हामी सबै नगरवासी सचेत हुनु पर्छ ।
(१) खोला नालाका आकार अतिक्रमण हुुनु
(२) नहर सडक ढल निर्माण गर्दा बाहिर सतहको पानी निकास गर्ने संरचना नबन्नु ।
(३) आफू र आफ्नो जग्गा मात्र बचोस भनी जथाभावी नहर कुलो काटी पानी बगाउनु ।
(४) पानी रोकिने गरी खाल्डा÷तलाउ नहुनु
समाधानका उपायहरु
(१) खोला÷नालाको अतिक्रमण हटाई खोला÷नालालाई पूरानै स्वरुपमा निर्वाध बग्न दिने
(२) नहर, सडक, ढल बनाउँदा सतहको पानी निकासका लागि खुल्ला पानी निकासका लागि संरचना बनाउनु पर्ने
(३)ं बाढीले पानीको निकास त्यो भन्दा तलको सुरक्षित व्यवस्थापन गरेर मात्रै निकास गर्नु पर्ने
(४) चुरेमा रहेका सामुदायिक वन लगायत ठाउँहरुमा साना ठूलो आकारका पानी जम्मा गर्ने पोखरी बनाउने
(लेखक भीमदत्त नगरपालिकाका पूर्व उप मेयर हुन् ।)
