
–सुरेन्द्रराज ओझा

भीमदत्त नगरपालिकाले विद्यालय तह( प्रारम्भिक वाल विकास शिक्षा तथा कक्षा १देखि १२सम्म)मा २०८१ असौज ११ गते शुक्रवारदेखि पाठ्यपुस्तक विनाको शुक्रवार (Bookless Friday) सिकाइ कार्यक्रम लागू गर्ने निर्णय गरेको छ । विद्यार्थीहरूको व्यहारिक सिकाइमा बढी जोड दिई जीवनोपयोगी सिप ज्ञान अभिवृद्धि गर्न स्कुलले अनिवार्यरूपमा योगसहित व्यहारिक सिकाइ हुने विभिन्न क्रियाकलाप आयोजना गर्नु पर्ने नगरपालिकाले जनाएकोछ । मैले विगत लामो समयदेखि यो विषय तदारूकताका साथ उठान गर्दै आएको थिए । आज भन्दा १० वर्ष अगाडि राष्ट्रिय नागरिक दैनिकमा मेरो ” झोला रहित स्कुल “विषयमा लेख पनि प्रकाशित भएको थियो । पश्चिम नेपाल दैनिकमा पनि यस विषयमा लेख छपाएको थिए । रेडियोका वहस कार्यक्रमहरू र अन्य प्याब्सन लगायतका अन्य प्ल्याटफमहरूमा पनि यो विषयलाई मैले अगाडि सार्दै आइरहेको थिए । आज नगरपालिकाले कार्यान्वयन गर्ने निर्णय गरेकोमा खुसी लागेको छ ।
नगरपालिकाले गरेको यो निर्णय सहीरूपमा कार्यान्वयन हुन सके विद्यार्थीको चौतर्फी विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विषयमा दुईमत छैन । यो कार्यान्वयन गर्न सबै स्कुललाई ठूलो तयारी आवश्यक छ । विद्यार्थीलाई कैदी जस्तो थुनेर कक्षामा lecture method बाट अध्यापन गर्न बानी परेका शिक्षकलाई त यो निकै जटिल काम हो । स्कुलका सम्पूर्ण विद्यार्थीलाई हरेक शुक्रवार क्रियाकलाप गराउन शिक्षकहरू व्यवहारिक ज्ञान र सिप भएका हुनु पर्छ । हरेक शिक्षकसॅग भएको व्यवहारिक ज्ञान र सिप पहिचान गरी उनीहरूलाई उक्त सिप विद्यार्थीलाई सिकाउन विद्यालयले प्रोत्साहित गर्नुपर्छ । योग ,ध्यान र खेलकूदलाई प्राथमिकतामा राख्नुपर्छ । सामाजिक सेवाका कार्यहरूमा विद्यार्थीहरूलाई सहभागी गराउन स्कुलबाट बाहिर स्थानीय ठाउॅहरूको भ्रमण र अवलोकनका लागि लैजानु पर्छ ।स्कुलका सरसफाई र सौन्दर्यका लागि विद्यार्थीको सहभागिताको मापदण्ड बनाई उनीहरूलाई यसमा संलग्न र जिम्मेवार बनाउनु जरूरी छ ।हरेक शुक्रवार स्कुलमा सांगितिक कार्यक्रम आयोजना गर्नु पर्छ । वेलावेलामा आघ्यात्मिक र चेतनामूलक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई आध्यात्मिक र चेतनशील बनाउन सकिन्छ ।चित्रकला ,painting , knitting, cooking ,computer skills जस्ता रोजगारमूलक सिपहरू सिकाउन जरूरी छ । हामीले शुक्रवार गर्दै आइरहेका Quiz , speech , debate ,spelling contest जस्ता academic activities मा मात्र सिमित नगराएर विद्यार्थीहरूलाई खोज र अनुसन्धनमुखी क्रियाकलापमा संलग्न गराउनु पर्छ । समाजसॅग घुलमिल हुने र व्यवहार सिकाउने क्रयाकलापलाई जोड दिनुपर्छ । विद्यार्थीहरूलाई एक ठाउॅमा पट्टयार लाग्ने गरी वसाइ राख्नुभन्दा श्रमयुक्त अभ्यासमा संलग्न गराउनु पर्छ । विद्यार्थीलाई सक्रिय भएर काम गर्न मन पर्छ । बाल्यावस्था , किशोरअलस्था र युवावस्था जति वढी श्रमशील र सक्रीय हुन्छ पछिको जीवन त्यति वढी सुखी हुन्छ । यो कुरा ध्यानमा राखेर उमेर शारिरीक अवस्था अनुसार उनीहरूलाई विविध कार्यकलापमा सहभागी गराउनु पर्छ ।
कतिपय अभिभावक अहिले पनि शुक्रवार पढाइ हॅुदैन भने स्कुल नजाऊ भनी आफ्ना नानीहरूलाई भनीरहेका पाइन्छन् । उनीहरूको नजरमा पुस्तक पढ्नु मात्र पढाइ हो । पुस्तक पढाइ हॅुदैन भने समय वर्वाद गर्न स्कुल किन जाने भन्ने सोचाई अरूपनि धेरैको भएको पाइन्छ । अरू दिनभन्दा कतिपय स्कुलमा उपस्थिति कम भएको पाइन्छ । पुस्तकको पढाइ अव पढाइ मात्र बन्नु हॅुदैन यो सिकाइ हुनु पर्छ । पढाइ धेरै भइसक्यो । अब सिकाइ विनाको पढाइमात्र काम लाग्दैन । हरेक दिन विद्यार्थीले व्यवहारिक र जीवनोपयोगी कुरा सिकेर स्कुलबाट घर फर्किनु पर्छ । पुस्तकविनाको शुक्रवार( Book Free Day ) व्यवहारिक सिप र ज्ञानयुक्त सिकाइ महत्त्वपूर्ण छ भन्ने सन्देश हो । तर यस्को सफल कार्यान्वयन लागि शिक्षकहरूको सिप र क्षमता अभिवृद्धि र विद्यायलमा पूर्वाधार निर्माण लगायत विविध विषयमा विद्यालय र नगरपालिकाले विशेष ध्यान दिनुपर्छ ।सयौं विद्यार्थीलाई विना पुस्तक वोलाई नपढाएर र केही क्रियाकलाप नगराई वसाई राख्न सबै शिक्षकलाई त्यति सजिलो छैन । पुस्तक पढाउॅदा पनि अत्यधिक हल्लाले वसी सक्नु नहुने शिक्षकले ४० मिनेट के गरेर विताउने हुन त्यो सोचनीय छ । एकै ठाउॅमा सबै विद्यार्थी लगेर कार्यक्रम गर्न कतिपय स्कुलमा हल नै छैनन् । तीन चारवटा हल भए विविध कार्यक्रमहलहरूमा गर्न सकिन्छ । कुनै कक्षाका विद्यार्थीलाई कक्षामै केही कार्यक्रम गरेर राख्न सकिन्छ । कुनै बाहिर स्थानीय ठाउॅको भ्रमण र अवलोकनमा लैजान सकिन्छ । पुस्तकविना शिक्षकले के सिकाउने भन्ने वहस आजै सुरू भइसक्यो । यस विषयमा शिक्षकलाई तालिम आवश्यकछ । विना पुस्तक के पढाउने भनेर सोच्ने शिक्षक मात्रै होइन विना पुस्तक शिक्षकले पढाउॅदैन भनेर सोच्ने अभिभावक पनि छन् । त्यसैले पुस्तक विनाको शुक्रवार सिकाइ कार्यक्रमको सफल कार्यान्वयनका लागि अभिभावक र शिक्षक दुवै पक्ष सकारात्मक हुनु जरूरी छ ।
(लेखक ग्लोबल एकेडेमी महेन्द्रनगरका प्रिन्सिपल हुन् ।)
