महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते उप निर्वाचन हुन लागेको छ । बहुदल स्थापनापछि २०७९ को स्थानीय तह निर्वाचन बाहेक अन्य सबै चुनाव एमालेलेको जितेको थियो ।
२०७४, २०५४ र २०४९ का चुनाव एमालेले जितेको हो । काँग्रेसले २०७९ मा पहिलो पटक एमालेबाट जित खोसेको थियो । काँग्रेसका निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि आइतबार उप निर्वाचन हुन लागेको हो ।
एमालेबाट २०४९ मा कविराज भट्ट, २०५४ मा रामदत्त भट्ट र २०७४ मा हरक सिह धामी प्यानल सहित वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा एमालेका जनकराज अवस्थी काँग्रेसका खड्कासित पराजित भएका थिए ।
खड्काको निधनपछि अढाई वर्षमा उप निर्वाचन हुन लागेको छ । उप निर्वाचनबाट एमाले २०७९ मा गुमेको विरासत फर्काउन पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । शान्ति निकेतन माध्यमिक विद्यालयमा चार दशक शिक्षण गरेका चन्द एमाले विरासत फर्काउने बताउँछन् ।
शान्ति निकेतन विद्यालयको शिक्षण सेवा, पार्टीको बलियो संगठन, विगतको विरासत र जनताको पार्टीप्रतिको भरोसाले आफूले चुनाव जित्ने चन्दले बताए ।
‘चुनाव जित्नेमा म शतप्रतिशत ढुक्क छु, त्यसका धेरै कारण छन्’ उम्मेदवार चन्दले भने,‘पहिलो कारण मैले शिक्षण पेशामा ४४÷४५ वर्ष शिक्षण पेशामा गरेको सेवाले नै म चुनाव जित्छु, आम मतदाता मलाई सहयोग गर्छन् भन्ने म पूर्ण रुपमा आशावादी छु ।’
उम्मेदवार चन्दले आफू चुनाव हार जित आफ्नो मात्रै नभएर यस वडाका अभिभावक, विद्यार्थीको भएको उल्लेख गरे ।
‘यो लडाई मेरो मात्रै होइन, यस वडाका सबै अभिभावकको पनि हो, यस वडामा शिक्षकप्रति अभिभावकको कति सम्मान छ भन्ने कुरा सबैलाई थाह नै छ’ उनले भने,‘त्यस कारण मलाई चुनावमा साथ सहयोग दिएर जनताको सेवा गर्ने अवसर दिनेमा आशावादी छु ।’
एमालेको बलियो पार्टी संगठन र विगतको विरासतले आफूलाई चुनाव जित्न सहज भएको उनले बताए । उप निर्वाचन प्रचारप्रसारमा खटिएका नेता कार्यकर्ताको सक्रियताले पनि आफू उत्साहित भएको चन्दले बताए ।
चार महिना अघि शान्ति निकेतनबाट अनिवार्य अवकाश भएका उनी २०७७ सम्म प्रधानाध्यापक भएका थिए । चुनावी सभामा चन्दले शान्ति निकेतन शिक्षणका अनुभव मतदातालाई सुनाएका छन् ।
जामुनको रुखमुनि पढाई हुने बेलामा आफू शान्ति निकेतनमा शिक्षण पेशामा गएको र विद्यालयलाई कक्षा १२ सम्म बनाएर अवकाश लिएको चन्दले बताए ।
प्रधानाध्यापक चन्दले विद्यालयलाई शैक्षिक नतिजा उत्कृष्ठ बनाएर पदक विद्यालयलाई पदक समेत दिलाएका थिए ।
चन्दसित काँग्रेसका उम्मेदवार प्रकाश चन्द प्रतिस्पर्धी छन् । उनी चन्दका सहोदर भतिजा हुन् । उनले काँग्रेसका भतिजाको उम्मेदवारीले आफूलाई केही समस्या नभएको बताए । ‘हो हामी काका भतिजा हौ, बहुदलीय प्रतिस्पर्धामा यो समान्य कुरा हो, यहाँ नाताको कुरा हुँदैन’ उनले भने ।
एमाले निर्वाचन परिचालन कमिटीका संयोजक जनकराज अवस्थी २०७४ को निर्वाचन प्राविधिक कारणले पराजय भएको बताउँछन् ।
अवस्थीका अनुसार एमाले विभाजन, टिकट वितरणमा ढिलाई, जातीय र क्षेत्रीय रुपमा विभाजित मतदाताका कारण पराजित हुन पुगेको थियो ।
२०७८ मा पार्टी विभाजन भएको एक वर्षमै एमाले २०७९ को स्थानीय तह निर्वाचनमा होमिएको थियो । २०७४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष हरक सिह धामी पार्टी छाडेर समाजवादी प्रवेश गरेका थिए ।
२०७९ मा एमालेले उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्रै उम्मेदवारलाई टिकट दिएको थियो । टिकट वितरण ढिलाईले पनि सबै मतदातासम्म पुग्न नसकेर प्रचार गर्न नसकिएको अवस्थी बताउँछन् ।
‘अहिले त्यस्तो छैन, सर्वसम्मत रुपमा उम्मेदवारी भएको छ, समयमै टिकट फिक्स गरी सबै मतदाताको घरदैलोमा पुगेका छौ, पार्टी विभाजनको असर धेरै हदसम्म कम भई सकेको छ’ उनले भने,‘यस पटक हामी २०७९ को हारलाई जितमा बदल्छौ ।’
नागरिक उन्मुक्ति र स्वतन्त्र उम्मेदवारले पनि एमालेलाई फाईदा हुने अवस्थीले बताए ।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिबाट पूर्व सशस्त्र प्रहरी हरिश डगौरा चुनावी मैदानमा छन् । नागरिक उन्मुक्ति पहिलो पटक ६ नम्बरमा चुनाव लडेको हो ।
भीमदत्त नगरपालिका र वडा समितिको वर्तमान नेतृत्वले पनि एमालेलाई सहज हुने अवस्थीको बुझाई छ ।
भीमदत्तको नगर नेतृत्वले वडाको बजेट घटाएको, वडा अध्यक्षले विरोध नगरी चुपचाप बसेको, एकीकृत सम्पत्ति कर ह्वात्तै बढाएको र काँग्रेसका स्वर्गिय वडा अध्यक्ष महेन्द्र खड्काको मृत्यु सत्यतथ्य छानबिन हुन नसकेको कुरालाई एमालेले चुनावी प्रचारमा व्यापक बनाएको छ ।
भीमदत्तमा यस अघि एमालेका सुरेन्द्र विष्ट मेयर थिए । विष्टको कार्यकालमा भीनपा ६ ले १ करोड ८० लाख बजेट विनियोजन भएको थियो । काँग्रेसका पदम बोगटी मेयर भएपछि ६ नम्बर वडामा बजेट घटेर ७२ लाख पुगेको छ ।
‘एक करोड ८० लाखबाट घटेर ७२ लाख पुगेको छ, हिजो हाम्रो नेतृत्व हुँदा त्यति बजेट हुने, बर्सेनी घटेर अहिले ७२ लाख मात्रै हुन्छ भने यो भन्दा ठूलो वडातिस धोकाधडी के हुने हो’ उनले भने,‘बजेट कटौतीले पनि मतदाता सन्तुष्ट छैनन् ।’
भीनपा ६ का काँग्रेसका कार्य वाहक वडा अध्यक्षले बजेट कटौतीमा मौनता साँधेको एमालेको आरोप छ । चुनावी घरदैलोमा वर्तमान नगर नेतृत्वले बढाएको कर विरुद्ध मतदाता खुलेर बोलेको अवस्थीले बताए ।
‘एकीकृत सम्पत्ति कर ३० प्रतिशत जति बढाईएको छ, जनताले सेवा सुविधा केही पाएका छैन’ उनले भने,‘यस्तो अवस्थामा नगर नेतृत्वलाई डेसिङ्ग दिने मान्छे चाहिएको छ, त्यसका लागि पनि बहादुर सर योग्य हुनु हुन्छ ।’
एमालेले उप निर्वाचनका लागि पार्टी छाडेका नेता कार्यकर्तालाई पनि घर फिर्ता गरेको छ । एमाले छाडेर समाजवादी भएका रामदत्त भट्ट एमालेमै फर्किएका छन् । उनी २०५४ का वडा अध्यक्ष हुन् ।
‘समाजवादी गएका नेता कार्यकर्ता फर्किएका छन्, त्यति बेला जस्तो विभाजको असर अहिले छैन, अवस्था धेरै नै सकारात्मक भएको छ, त्यस अनुसार अघि बढेका छौ ।’