

भवानी भट्ट
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाब उच्च रहेका कारण तीन दिनदेखि शारदा ब्यारेजको वनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ । आइतबार पनि नदीमा पानीको बहाब उच्च रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार नदीमा पानीको बहाब १ लाख २८ हजार क्युसेक पुगेको छ । दिउँसोको समयमा १ लाख ६७ हजार पुगेको थियो ।

त्यसअघि पनि नदीमा पानीको बहाब उच्च रहेका कारण चारपांग्रे सवारीसाधनमा रोक लगाइएको थियो । बिहीबार केहीबेर शारदा ब्यारेजको पुल खुले पनि फेरि बन्द भएको थियो ।
पहाडी जिल्लाहरूमा निरन्तरको वर्षाका कारण नदीको बहाब घटेको छैन । तटीय क्षेत्रमा सुरक्षाकर्मीले सतर्कता अपनाउन माइकिङसमेत गरिरहेका छन् ।
सय वर्ष पुरानो पुलमा जोखिम हुने भन्दै नदीमा पानीको बहाब १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइँदै आएको छ । जसका कारण महेन्द्रनगरबाट भारतको राजधानी दिल्ली र उत्तराखण्ड प्रदेश राजधानी देहरादुनसम्म चल्ने मैत्री बस सेवासमेत प्रभावित भएको छ ।
साभार : इकान्तिपुर
