

महेन्द्रनगर । भृकुटी माध्यमिक बिद्यालय नजिक भूमिराज सुट सेन्टरका सञ्चालक रमेश भट्ट भदौ १९ गते श्री कृष्ण जन्माष्टीको दिन पसलमा पल्टिएका थिए ।
गौरा र तीजको सिजनमा भट्टको पसल सुनसान थियो । उनी पल्टिएर मोबाइल हेर्दै ग्राहक आउने आशमा थिए ।
‘पहिला पो पसलमा भीड हुन्थ्यो, यो सिजनमा बोल्ने समय हुदैन थियो, खान पनि फूर्सद मिल्दैन थियो, अहिले त दिन काट्न गार्हो छ’ उनले भने, ‘तर यहाँ पसल खोलेपछि मोबाइल चलएर दिन काट्न पर्ने अवस्था छ, नत्र दिन काट्न गार्हो छ ।’
अढाई बर्ष अघि मदन चोकमा सटर भत्काएपछि भट्टले अन्य व्यवसायीसङ्गै भृकुटी माबि नजिकका सटरमा समान राखेका थिए । मदन चोकमै फेरि पसल हाल्ने आशमा डेढ बर्ष समान गोदाममा राखेका उनी त्यसपछि पसलमा राखेर बेच्न थालेका हुन् ।
अहिले उनी कहिलेकाही बौनी समेत हुन नसकेको सुनाउँछन् । पसलमा बसेर पहिलाका दिन झलझली आउने गरेको र ती दिन फर्काउने आशमा छन् भट्ट ।
भीमदत्त ७ का भट्ट बैतडीको जुलाघाट पारीको भारतीय झुलाघाटबाट २०६७ मा महेन्द्रनगर आएर मदन चोकस्थित खानेपानी कार्यालय नजिक पसल सञ्चालन गरेका थिए ।
बैतडीको पिपलकोटका भट्ट परिवारको झुलाघाटमा पुख्र्यौली व्यापार थियो ।
मदन चोकमा व्यापारबाट सन्तुष्ट उनी अहिले सबैभन्दा अप्ठेरो अवस्थामा पुगेका छन् । बिहान आएर साझ हरेक दिन निरास भएर घर जान बाहेक आफूसित केही नभएको उनी बताउँछन् ।
चाडपर्वका बेला दैनिक २५ हजारदेखि एक लाख सम्म र अरु बेला ५ देखि ७ हजार सम्म कारोबार हुने भट्ट अहिले बौनी समेत नहुदा खिन्न छन् ।
‘चाडवाडको त अर्कै थियो, त्यो बाहेक अरु बेला २०÷२५ हजार बिक्री हुन्थ्यो, केही नभएको दिन ५÷७ हजार त भै हाल्थ्यो’ उनी भन्छन्, ‘अहिले बहुनी हुदैन, अहिले गोरामा एक हजार जतिको बिक्रि सेलमा लगाएर गरे, यो अवस्था छ ।’
एसियाली बिकास बैंक (एडिबी) अनुदानको क्षेत्रीय सहरी योजना अन्तर्गत मदन चोक क्षेत्रमा सडक बिस्तारका लागि २३ सटर भत्काइएका हुन् ।
तत्कालीन महेन्द्रनगर नगर बिकास समितिका पसल व्यवसायीहरु बर्षौदेखि कारोबार गर्दै आएका थिए ।
भीमदत्त नगर बिकास समितिले २०८० भदौमा सटर भत्काउने निर्णय गरेको थियो । त्यस अनुसार भीम दत्त नगर पालिकाले व्यवसायीलाई सटर खाली गर्न सात दिनको सूचना दिएको थियो ।
व्यवसायीले व्यवस्थापन नभए सम्म सटर नछाड्ने अडान लिएपछि उनीहरूलाई सडक बिस्तार गरी बाकी रहने स्थानमा व्यवस्थापन गर्ने सहमति भएर निर्णय गरिएको थियो ।
भीमदत्त नगरपालिकाले तीन महिनाभित्र सोही स्थानमा व्यवस्थापन गर्ने निर्णय गरेपछि २०८० माघमा सटर भत्काएका थिए ।
व्यवसायीले त्यस अघि पसलका समान भृकुटी माबि नजिक सटरमा सारेका थिए । एडिबीको प्राबिधिक टीम आफैले नाप जाँच गरी बाकी स्थानमा व्यवस्थापन गर्ने भनेपछि व्यवसायीहरु आश्वस्त भएका थिए ।
सडक बिस्तार भएपछि बाकी जमिनमा व्यवस्थापन हुने आशमा उनीहरूले डेढ बर्ष समान गोदाममा थन्क्याएका थिए । मा जै दुर्गेका सञ्चालक राज बहादुर जोरा आफूहरु आश बसेर बर्बाद हुने अवस्थामा पुगेको बताउँछन् ।
‘सडक बनेपछि त्यसको पछाडीको स्थानमा सटर बनाउने भनेर हामीलाई आश देखाएर त्यहाँबाट हटाइयो’ उनले भने, ‘खै किन हो, अहिलेसम्म केही भएको छैन, हामीमाथि किन गरियो यस्तो षड्यन्त्र केही थाह छैन ।’
भीमदत्त १८ का जोरा २०६७ देखि मदन चोकमा व्यापार गर्दै आएका थिए । भृकुटी नजिक समान राख्न दिएका सटर त्यतिबेला बस्न मिल्न सक्ने अवस्थाका नभएको उनी बताउँछन् ।
‘त्यता समान राखेपछि समान पेन्डिङ्ग रह्यो, सटरमा बस्न जस्तो थिएन । डेन्टिङ्ग पेन्टिङ भएको थिएन, वाइरिङ्ग थिएन’ उनले भने ।
भीमदत्तले मदनचोकमा व्यवस्थापन गर्न नसकिने जवाफ दिदासम्म व्यवसयीले गोदामभित्र राखेको समान खराब भई सकेको थियो । ‘सबुत समान केही छैन, सवै डेमेज छ’ जोरा भन्छ्न्। ‘कपडा र फेन्सीका हुन, कपडाका कलर उडेर गए, धुलोले भरिए, काम नलाग्ने भए ।’
भूमिराज सु सेन्टरका सञ्चालक भट्ट मदन चोक छाडेपछि सबै व्यवसायीले २० देखि २५ लाखसम्म नोक्सानी व्यहोर्न परेको बताए । भीमदत्त नगरपालिकाले सटर खाली भएपछि तीन महिनासम्म भत्काउनु ढिलाई गरी व्यवसायीमाथि धोकाधडी सुरु गरेको थियो ।

सटर भत्काउन ढिलो भएपछि व्यवसायीले नगरपालिकालाई दबाब थिए । ‘सटर खाली गरेको तर भत्काएन, तीन महिनामा व्यवस्थापन गर्ने भनेको थियो, तीन महिनासम्म भत्काउन भएनु’ जोराले भने, ‘त्यसपछि पनि काम गरि दिएन, हामीलाई बर्बाद पार्न यस्तो गरिएको रहेछ ।’
सटर भत्काएपछि भने नगरपालिकाले ४ नम्वर वडा अध्यक्ष सुशिल कुमार भट्टको नेतृत्वमा कार्य दल बनाएर अध्ययन गराएको थियो ।
भट्ट कार्यदलले सडक बिस्तार गरी बाकी स्थानमा व्यवसायीलाई व्यवस्थापन गर्न सकिने प्रतिवेदन बुझाएको थियो ।
नगरपालिकाले डीपीआर तयार गरी नक्सा बनाएर पसल निर्माणका लागि ठेक्का खोलेको थियो । सटर भत्किने हल्ला चलेपछि अढाई बर्षदेखि व्यवसायीले भाडा बुझाउन छाडेका थिए ।
भीमदत्तले २०७८ कार्तिकमा पुरानो भाडा बुझाउन र नया सम्झौता का लागि सूचना पठाएको थियो । नगरपालिकाको सूचना अनुसार भाडा बुझाउन गएपछि उनीहरूलाई आलटाल गरी फर्काउने गरिएको थियो ।
पछि भाडा बुझेर नया सम्झौता नगर्ने जानकारी दिइएको थियो। ‘बुझाउन जाँदा बुझेन, बारम्बार गर्यौ, त्ययसपछि गयौ, नया बारे थाह थिएन । भाडा लिएक्को तर सम्झौता भएन’ भट्टले भने ।
व्यवसायीसित नयाँ सम्झौता नगरी नगर पालिकाले सोही बर्ष सटर खाली गर्न सूचना लगाएको थियो । व्यवसयीले व्यवस्थापन नभएर सटर खाली नगर्ने अडान लिएपछि २०७८ स कार्तिक ९ गते सम्झौता भएको थियो ।
भीमदत्तका तत्कालीन मेयर सुरेन्द्र बिष्टले त्यही बेला बिकल्प खोज्न भनेपछि होटेल ओपेरा अगाडि, बाणिज्य बैंक अघि र सहिद पार्कमा ठाउ खोजिएको थियो ।
ती सबै स्थानमा व्यवस्थापन गर्न सकिने अवस्था नदेखिपछि उनीहरु मदन चोकमा फेरि व्यवस्थापन हुने आश राखेर बसेका थिए ।
बिष्टको कार्यकाल सकिएपछि काङ्ग्रेस कंचनपुर सभापति पदम बोगटी मेयर भएको एक वर्ष पछि २०८० मा पसल खाली गर्न व्यवसायीलाई चिठी आएको थियो ।
व्यवसायीले पुरानै अडान दोहो¥याए । भीमदत्तसित पटक पटक छ्लफल भएपछि उनीहरू सित सडक निर्माण पछि बाकी स्थानमा व्यवस्थापन गर्ने सहमति भएको थियो ।
भीमदत्त नगर बिकास समितिले २०८० भदौ ६ गते सटर खाली गर्न सात दिने सूचना जारी गर्ने निर्णय गरेको थियो ।
‘त्यसपछि माघसम्म त्यस्तै रह्यो, माघमा आएर सटर खाली गरियो, नगरपालिकाले आफै बनाउने भनेको थियो’ व्यवसायी जोरा भन्छन् , ‘आज भोलि भन्दै हामीलाई झुक्याइयो, झुक्यायो, किन गरियो हामीमाथि थाह भएन, खै के हो हामीले केही बुझ्न सकेनौ ।’
भीमदत्त नगरपालिका कार्य पालिका बैठकले २०८२ कार्तिक २ गते त्यस ठाउमा नहुने निर्णय गरेको थियो ।
राजनीतिक दल सम्बद्व युवाले भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्य कक्षमा हप्काएपछि भीमदत्त व्यवसायीलाई मदन चोकमा व्यवस्थापन गर्ने आफ्नो पूर्ववर्ति निर्णयबाट पछि हटेको थियो ।
भीमदत्तले मदन चोकमा व्यवस्थापन गर्न सकिने निर्णय कार्यान्वयन गर्न नसक्ने भएपछि व्यवसायीले पत्रकार सम्मेलन गरी व्यवस्थापन हुनु पर्ने माग दोहोरयाएका थिए ।
केदार सुट, डागेश्ववरी, कैनोडा कम्युनिकेसन, ,लुम्बिनी सुन चादी पसल, युनिक कर्नर, कैलपाल फेन्सी, चन्द्र देब फेन्सी, भूमिराज सु सेन्टर लगायत २३ सटरका व्यवसायी बिस्थापित गराइएका थिए ।
उनीहरूमध्ये डिसेन्ट टेलर व्यवस्थापन माग गर्ने सूचिमा छैन । डिसेन्ट टेलर माथिल्लो तलामा थियो । डागेश्वरी २०४० देखि मदन चोकमा कारोबार गर्दै आएको थियो ।
व्यवस्थापनका लागि उनीहरू राजनीतिक दल, कंचनपुर उद्योग बाणिज्य संघ, भीमदत्त नगरपालिका, साङ्सद, मन्त्री सबै सम्म पुगेका छन् ।
भीमदत्तका मेयर पदम बोगटीलाई अहिले उनीहरू भेट्दै आएका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघका तत्कालीन अध्यक्ष पिताम्बर जोशीको कार्यकालमा एक पटक नगरपालिका डेलिगेसन जाने बाहेक अरु केही हुन नसकेको उनीहरू बताउँछन् । ‘बाणिज्य संघले हाम्रा लागि गरेको यति हो, त्यो बाहेक अरु केही छैन’ व्यवसायी भट्टले भने ।
भृकुटी बिद्यालय नजिक चार जना व्यवसायी पसल खोलेर बसेका छ्न । घर बसेर परिवारलाई तनाव हुने भएकाले बिहानै पसल आउने गरेको उनीहरू बताउँछन् ।
‘यता आएर नि केही छैन, खाली घर बस्न भन्दा भनेर आउने गरेका छौ, घर बसे साहुको फोन आउछ, अरु बैंक, सहकारीको पनि आउँछ, घरमा बस्दा बर्बाद भई सकेका छौ भनेर अरुलाई पनि चिन्ता हुन्छ’ भूमि राज सुट सेन्टरका भट्ट भन्छन् ,‘त्यही भएर पनि आउँछौ ।’
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले व्यवसायीसित गरिएको सहमति अनुसार व्यवस्थापन गर्न पर्ने बताए । ‘वहाँहरुको निर्णय अनुसार नगरपालिकाले व्यवस्थापन गर्न पर्छ, बर्बाद हुनु दिनु हुदैन’ अवस्थीले भने ।
