

महेन्द्रनगर । बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिंह छेला औद्योगिक क्षेत्रको पहुँच मार्ग निर्माणका लागि सधै जोड दिए ।
उनी आफ्नो वडामा छिटो औद्योगिक क्षेत्र संचालन होस भन्ने चाहन्छ्न । सिंह वडा अध्यक्ष भएपछि २०७२ मा औद्योगिक क्षेत्र औपचारिक रुपमा घोषणा भएको थियो ।
सिंह अहिले दोस्रो कार्यकाल वडा अध्यक्ष छन् । २०७९ मा शिलान्यास भएर दुई बर्ष पछि सम्पर्क कार्यालय खोलिएको थियो ।
औद्योगिक क्षेत्रको पहुँच मार्ग पूर्व पश्चिम राजमार्गको त्रिपूरा मन्दिरबाट सुरु भएर सात किलोमिटर छ । औद्योगिक क्षेत्रमा जाने माल बाहक ढुवानी साधनका लागि पक्की मार्ग निर्माण गर्न लागिएको छ ।
उद्योग मन्त्रालाय र नगरपालिकाको समपुरकवाट अघिल्लो बर्ष मात्रै ८ करोड बजेट बिनियोजन भएको थियो । पहुच मार्ग सकिने चरणमा पुगेको छ ।
यो मार्ग ३० बर्षसम्म प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । १४ मिटर चौडाईको मार्ग ३ नम्बर भएर २ नम्बरको औद्योगिक क्षेत्र सम्म पुगेको छ ।
नगरपालिका र वडाले सक्ने काम पहुच मार्ग निर्माण प्राथमिकता दिएको वडा अध्यक्ष सिंहले बताए ।
‘हामीले सक्ने जति काम गरेका छौ, पहुँच मार्ग सुरुदेखि बनाउन लाग्यौ, अब औद्योगिक क्षेत्र पनि छिटो संचालन होस भन्ने चाहन्छौ’ उनले भने ।
तीन दशक अघि प्रस्ताव गरिएको औद्योगिक क्षेत्र शिलान्यास भएर पनि बढ्न सकेको छैन । ३०७९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
स्थानीयले पटक दबाब दिए पछि सरकारले सुदूरपश्चिमको औद्योगिक बिकासका लागि नमूनाका रुपमा औद्योगिक क्षेत्र बनाउने भन्दै घोषणा गरेको थियो ।
सरकारी घोषणा पछि लामो समयदेखिको प्रतिक्षा तोडिएर स्थानीयमा उत्साह छाएको थियो । अहिले फेरि औद्योगिक क्षेत्र अन्यौलमा परेपछि चौतर्फी निराशा छाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रलाई नीति तथा कार्यक्रममा समावेश नगरेपछि अन्यौल बढेको छ ।
घोषणा गरिएको लामो समय सञ्चालनका कान सुरु हुन नसकेपछि फेरि निराशा बढेको सिंह बताउछन् ।
वन क्षेत्रको जग्गा भोगाधिकार हस्तान्तरण हुन नसकेर औद्योगिक क्षेत्रका काम अघि बढ्न रोकिएको छ । अहिले कञ्चनपुरका साँसद गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री छन् ।
बजेट आउन अघि मन्त्री चौधरी आफैले औद्योगिक क्षेत्र निरीक्षण गरेकी थिइन् ।

बेदकोट नगरपालिका २ स्थित जनचेतना र बेदकोट सामुदायिक वनको २ सय ३७ हेक्टर वन क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने डिपीआर बनाइएकोमा पछि त्यसलाई १ सय ३७ हेक्टरमा झारिएको थियो ।
वन मन्त्रालयको टोलीले पटक पटक आएर अध्ययन गरे पनि काम अघि बढुन नसकेको सिंहले बताए ।
औद्योगिक क्षेत्रको आकार घटाउँदा पनि स्थानीयले विरोध गरेका थिए । पछि विस्तार गर्न सकिने आश्वासन पाएपछि वन क्षेत्रमा रुख छपान प्रक्रिया सुरु भएको थियो ।
‘पहिलो चरणमा ५० उद्योग खोल्छौ भनियो, नहुन भन्दा यति पनि ठिक छ भन्यौ’ वडा अध्यक्ष सिहले भने, ‘रुख काटि दिएन, ती बढेर पोथ्रा बने, फेरि समस्या थपियो ।’
२०५१ मा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको थियो । त्यसपछि २०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा औद्योगिक क्षेत्रको माग उठेको थियो ।
२०७९ मा सम्पर्क कार्यालय उद्घाटन गरिए पनि सञ्चालन हुन नपाउँदै बन्द भएको थियो ।
औद्योगिक क्षेत्र बनेपछि स्थानीयले रोजगारी पाउने आश भएको सिंह बताउँछन् ।
‘यसले बेदकोटलाई मात्रै हुँदैन, सुदूरपश्चिम क्षेत्रको औद्योगिक विकासमा टेवा पुगाउँछ’ उनले भने, ‘दोधारा चाँदनीको सुख्खा बन्दरगाहको भविष्य पनि यससित जोडिन्छ, समग्रमा यस प्रदेशको आर्थिक उन्नतिमा कोषेढुृङ्गो बन्छ ।’
बहुदल स्थापनापछि २०४८ देखि भएका सबै चुनावमा औद्योगिक क्षेत्र स्थापना प्रमुख चुनावी मुद्दा बनेको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा पनि दैजीमा औद्योगिक क्षेत्र बनाउने उल्लेख गरिएको थियो ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले लगानी बोर्ड मार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने बजेटमा समावेश गरेका थिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार औद्योगिक क्षेत्र स्थापना हुने भनिएको क्षेत्रमा रहेका रुख कटानको अनुमति पनि प्राप्त नभएपछि भोगाधिकार नपाएर रोकिएको हो ।
वन क्षेत्रका पोलका कारण फेरि विस्तृत परियोजना प्रतिवेदन र पुरक वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र रुखहरूको नम्बरिङ तथा छपानको कार्यका लागि प्रतिवेदन वन विभागमा पेश भएको थियो । विभागले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएपछि अहिलेसम्म निर्णय हुन सकेको छैन ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रका लागि झण्डै ५५ हजार रुख काट्नु पर्ने देखिएको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले छेला औद्योगिक क्षेत्र सञ्चालनलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।
यो एजेण्डा हामी बेदकोटवासीको मात्रै होइन, सुदूरपश्चिमका सबै जनताको हो, चुनाव लड्दा सबैले उठायौ’ वडा अध्यक्ष सिहले भने,‘यसलाई साकार बनाउन लागि परेका छौ, एक दिन साकार भएर नै छाड्छ ।’
