

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित सार्क एजुकेशन फाउन्डेसनमा सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन हुन लागेको छ । दुई दिनपछि शनिबार र आइतबार सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । अनुसन्धान सम्मेलनमा सुदूरपश्चिममै पहिलो पटक हुन लागेको हो ।
सार्कले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको छ । सार्कका निर्देशक डा. लक्ष्मण बस्नेत र प्लस टु संयोजक राजेश भण्डारीले सम्मेलनबारे जानकारी दिए ।
सम्मेलनमा सार्कका कक्षा ७ देखि ९ तथा कक्षा ११ र १२ का विद्यार्थी सहभागी हुन लागेका छन् । कक्षा १० का विद्यार्थीको एसईई भएकाले उनीहरु सम्मेलन बाहिर राखिएका छन् ।
सम्मेलनमा विद्यार्थीले अनुसन्धान गरी तयार पारेका २८ आर्टिकल सहित विभिन्न क्षेत्रका अनुसन्धानकर्ता र विज्ञले अनुसन्धान सम्बन्धि खोज प्रस्तुत गर्ने छन् ।
अनुसन्धान सम्बन्धि छलफल र अनुभव आदानप्रदान तथा समूहगत छलफलका लागि सम्मेलन गरिएको निर्देशक डा. लक्ष्मण बस्नेतले बताए ।

‘शैक्षिक क्षेत्रमा अनुसन्धानको संस्कृतिको विकास गर्न, नयाँ ज्ञान तथा विचारको आदानप्रदान गर्न र विद्यार्थी तथा शिक्षकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका छौ’ उनले भने ।
सम्मेलनमा शिक्षा तथा अनुसन्धान क्षेत्रमा संलग्न नेपाल तथा भारतका विज्ञ, प्राध्यापक, शिक्षक, विद्यार्थी सहभागी हुने छन् ।
सम्मेलनका लागि विद्यालयले यस अघि एक सय ८० विद्यार्थीलाई विभिन्न विषयमा अनुसन्धान गर्न लगाएको छ । उनीहरु सबैबाट छनौट गरी अहिले २८ आर्टिकल सम्मेलनमा पेश हुन लागेका छन् ।
सम्मेलनमा १६ स्टल राखिने जानकारी दिइएको छ । त्यसमा १० देखि १२ विद्यार्थी हुने छन् । सम्मेलनमा १२ जनाले अनुसन्धान सम्बन्धि प्रस्तुति दिने छन् ।
सम्मेलनका विषय एसटीआरइएमईमा आधारित हुने डा. बस्नेतले बताए । ‘विषयमा यसैमा आधारित हुने छन्, अहिले बुकमा पढेका कुरालाई हामी ठयाक्कै प्रोजेक्टमा लगाउँछौ’ उनले भने ।
विद्यालयका प्लस टु संयोजक भण्डारीले सम्मेलन तयारी थालिएको जानकारी दिए ।
सुदूरपश्चिम विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय र भारतका बायो टेक्नोलोजीका प्राध्यापक सम्मेलनमा सहभागी हुने भएका छन् ।
‘यस सम्मेलनले प्रदेशको शैक्षिक तथा अनुसन्धान क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरेका छौ’ भण्डारीले भने ।
