
सुदूरपश्चिममा संसदीय दलका नेतालाई सबैभन्दा बढी बजेट, सत्ता र प्रतिपक्ष दुबै दलका प्रत्यक्ष र समानुपातिक दुबै साँसदलाई पनि बजेट भाग

महेन्द्रनगर । सत्ता गठबन्धन हेरफेर भएर नयाँ सरकार बनेपछि रोकिएको सुदूरपश्चिम सरकारको बजेट बुधबार सार्वजनिक गर्न लागिएको छ । आर्थिक वर्ष सुरु भएको तीन महिनापछि २०८३–८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार साँझ ५ बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिएका छन् ।
नेकपा संसदीय दलका नेता खगराज भट्ट साउन २८ गते मुख्यमन्त्री नियुक्त भएपछि छिटो बजेट ल्याउने बताउँदै आएका थिए ।
सत्तारुढ नेकपा र सत्ता साझेदार दलसित असमझदारीले बजेट ढिलाई भएको आशंका गरिएको थियो । बजेट सार्वजनिक हुने बेलामा भने सुदूरपश्चिम सरकारको बजेट ढिलाईको अर्को कारण बाहिर आएको छ ।
अहिले धनगढीमा चोक चोकमा सुदूरपश्चिम प्रदेशका सबै दलका साँसदलाई भाग लगाएर बजेट विनियोजन गरी सहमति खोजिएको सुनिन थालिएको छ ।

साँसदहरुका अनुसार सत्ता र प्रतिपक्षी सबै दलका साँसदका योजनामा बजेट विनियोजन गरिएको छ ।
उनीहरुका सत्ता पक्षका सबै प्रत्यक्ष निर्वाचित साँसदलाई ८÷८ करोड र प्रतिपक्षलाई ७÷७ करोड बजेट दिइएको छ ।
यसैगरी सत्ता पक्षका समानुपातिकलाई ७ करोड र प्रतिपक्षलाई ५ करोड पुग्ने गरी भाग लगाइएको छ ।
प्रदेश संसदीय दलका नेताका ६० करोड बजेट दिइएको बताइन्छ । सबै दलबीच बजेटमा भाग लागेपछि सहमति जुटेको साँसदहरु बताउँछन् । यसको अझै स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
सुदूरपश्चिम करिब ८० दिनदेखि बजेट शून्यताको अवस्थामा छ । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।
बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।
