
भीमदत्तमै छन् जनताका लागि यतिसम्म गर्ने जनप्रतिनिधि
वडा अध्यक्ष प्रकाश थापाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई बाँडे आफ्नो सेवा सुविधा

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ का पदम सार्की शुक्रबार दिउँसो वडा कार्यालय आएर प्रवेशद्वार नजिक वडा अध्यक्ष प्रकाश थापालाई भेटे ।
वडा अध्यक्ष थापाले सार्कीलाई कार्यालयभित्र गएर कर्मचारीलाई भेट्न आग्रह गरे । सार्की हुन्छ भन्दै आफूसित भएका आफन्तलाई लगेर वडा कार्यालयभित्र गए ।
‘एकदमै राम्रो गरि राख्नु भएको छ, अझै पनि यस्तै गरि राख्नु होला’ सार्की भने, ‘हमरा लागि निकै गरेको छ, हम खुसी छौ ।’
वडा अध्यक्ष थापाले शुक्रबार कार्यालयको प्रवेशद्वार नजिक साइकल स्टेन्डमा आफ्ना सेवा सुविधाबाट ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग वितरण कार्यक्रम राखेका थिए ।
विहानदेखि सुरु कार्यक्रमको अन्त्यतिर आएका सार्की आफ्नो समान लिन कार्यालय पुगेका हुन् ।
वडा अध्यक्ष थापाले पछिल्लो दुई वर्षदेखि आफूले पाउन सेवा सुविधा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएका हुन् । कार्यकाल सकिन अघि अन्तिम पटक फेरि सुविधाबाट सहयोग गर्ने वडा अध्यक्ष थापाले बताए ।
‘मैले दुई वर्षदेखि यो कार्यक्रम गर्दै आएको छु, यस पटक यो दोस्रो हो, अब अन्तिम तेस्रो पटक पनि सहयोग गर्छु’ उनले भने ।

वडा अध्यक्ष थापाले आफ्नो सेवा सुविधाबाट नगद सहित छाता र टर्च लाइट सहयोग गरेका छन् ।
वडा अध्यक्ष थापाका अनुसार एक सय ९० ज्येष्ठ नागरिक र २५ जना अपाङ्गता भएका व्यक्तिले सहयोग पाएका छन् । उनीहरु सबैले वडा कार्यालय आएका छन् ।
वडा कार्यालयमा आएका उनीहरुले वडा अध्यक्ष थापाले आफूहरुको समस्यालाई बुझेर काम गर्दै आएकोमा खुसी व्यक्त गरे ।
वडा अध्यक्ष थापा ज्येष्ठ नागरिकले छाता र टर्चको सबैभन्दा बढी आवश्यकता भएको बताएपछि सहयोग गरिएको बताए ।
२०७९ को स्थानीय तह निर्वाचनबाट थापा वडा अध्यक्ष निर्वाचित भएका थिए । काँग्रेसका उनी विद्यार्थी जीवनबाट राजनीतिमा आएका हुन् ।
स्थानीय तह निर्वाचनमा उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, विपन्न र पछाडि परेका व्यक्ति समुदायलाई प्राथमिकता दिने वाचा गरेका थिए ।
चुनावी वाचा अनुसार आफूले कार्यक्रम गर्दै आएको वडा अध्यक्ष थापाले बताए ।
थापा दशै तिहारको अवसर पारी सहयोग वितरण गरेका हुन् । यस अघि पनि उनले दशैं तिहारका लागि बाँडेका थिए ।
‘मैले विद्यार्थी हुँदादेखि अहिलेसम्म समाजिक काम गर्दै आएको छु,’ उनले भने, ‘जनप्रतिनिधि भएपछि त्यसलाई निरन्तरता दिँदै आएको छु ।’
वडा कार्यालयमा छाता, टर्च र नगद बुझेपछि स्थानीय रतनादेबी लुहारले वडा अध्यक्ष थापालाई धन्यवाद दिँदै आर्शिवाद दिइन् ।
