

महेन्द्रनगर । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुव्र्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार १७ कात्तिकमा काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुव्र्यवहार गरेको भन्दै कञ्चनपुरकी एक युवतीले निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीकाअनुसार महाकाली यातायातको सुुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चासो बढेको थियो । भिडियो सार्वजनिक हुनुअघि सोही राति बसमा सवार यात्रुहरूले वडा प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार महिलामाथि दुव्र्यवहार भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले मध्यरातमा बुटवल चौराहबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
तर, बुटवल प्रहरीको हिरासतमा एक रात बसेपछि उनीहरूलाई महेन्द्रनगर पठाइएको थियो । पीडित महिलाहरूले पनि महेन्द्रनगर नै पठाइदिन आग्रह गरेपछि प्रहरीले उनीहरूलाई त्यहाँ पठाएको उनी बताउँछन् ।
त्यसपछि पीडित युवतीको निवेदनका आधारमा कञ्चनपुर प्रहरीले तीनै जनालाई पुनः नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
बसका कर्मचारीका अनुसार काठमाडौँबाट बस चढेका तीनै जना युवाले धादिङको धार्केदेखि मदिरा सेवन गरेर होहल्ला गर्न थालेका थिए । उनीहरूले महिला यात्रुलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै अभद्र व्यवहार गर्न थालेपछि अन्य यात्रुले पटक–पटक सम्झाएका थिए ।
तर, उनीहरूले यात्रुको आग्रह बेवास्ता गर्दै दुव्र्यवहार जारी राखेपछि बसभित्रको वातावरण तनावपूर्ण बनेको थियो । उनीहरूले महिला यात्रुमाथि दुव्र्यवहार गरेको भिडियो सबैतिर फैलिएको छ ।
साभार : अनलाइन खबर
