
कृषि मन्त्रीको गृह जिल्लामा साँसदको आश्वासनले किसानको आक्रोश मत्थर
धान खरिद कोटा बढाउने आश्वासनपछि प्रशासनबाट फर्किए किसान, साँसद महताले दिए पहल गर्ने आश्वासन

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय खुलेको केही समयमै कुपन बन्द भएपछि आक्रोशित किसान प्रशासन कार्यालय पुगेका छन् ।
किसान प्रशासन कार्यालय पुगेपछि कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले प्रशासन कार्यालय पुगेर कोटा बढाउने आश्वासन दिएका छन् । धान खरिद कोटा बढाउन पहल गर्ने साँसद महताले आश्वासन दिएको किसानहरुले बताए ।
प्रशासन कार्यालयमा साँसद महता प्रमुख जिल्ला अधिकारी मदन कोइराला र किसानसंगै देखिएका छन् ।
कुपन नपाएर किसान प्रशासन कार्यालय आएपछि प्रमुख जिल्ला अधिकारीले बैठक गरेका थिए । त्यसमा साँसद महता आफंै सहभागी भएका छन् ।
धान बेच्न नपाएको भन्दै किसान आक्रोशित भएर प्रशासन कर्यालय पुगेका हुन् । प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरबाट थप २० हजार क्विन्टल धान खरिद गर्नु पर्ने माग उठेको छ ।
कार्यालयले ८ हजार क्विन्टल धान खरिदका लागि बिहीबार कुपन वितरण गरेको थियो ।
किसानहरु कार्यालय नखुल्दै बिहान ५ बजे कुपन लिन पुगेका थिए । भीड बढ्दै गएपछि प्रहरी टोली परिचालन भएको थियो ।

कृषि मन्त्री गीता चौधरीको गृह जिल्लामा साँसद महताले पहल गर्ने आश्वासनपछि किसानको आक्रोश मत्थर हुन पुगेको छ ।
प्रशासन कार्यालयका अनुसार थप कोटा नआएसम्म कुपन बाँडिएका किसानको धान खरिद नहुने भएको छ । कार्यालयले बिहीबार र शुक्रबार कुपन बाँडेर कार्तिक २७ गतेदेखि धान खरिद गर्ने सूचना जारी गरेको थियो ।
तीन दिन अघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको प्राथमिक खरिद समितिले कुपन वितरण र धान खरिद गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रति क्विन्टल धानको मूल्य तीन हजार ६ सय ५० रुपैँया निर्धारण गरेको छ । सरकारले निर्धारण मूल्य अनुसार धान खरिद गर्ने तयारी कार्यालयले गरेको छ । गत वर्ष प्रति क्विन्टल धानको मूल्य तीन हजार चार सय ६३ रुपैया थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख प्रकाश न्यौपानेले कार्तिक १९ गतेदेखि कुपन बाँड्ने र कार्तिक २७ गतेदेखि धान खरिद सुरु गरिने जानकारी दिएका थिए ।
गत वर्ष भन्दा एक हजार क्विन्टल बढी धान खरिद हुन लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख प्रकास न्यौपाने सहितको बैठकले कोटा बढाउने माग गरेको हो ।
कार्यालयले यस वर्ष एक जना किसानबाट ३० क्विन्टल धान खरिद गर्ने छ । गत वर्ष ४५क्विन्टलसम्म धान खरिद गरिएको थियो ।
यस वर्ष किसानले कार्यालयमा आएर मात्रै धान बेच्न पाउने भएका छन् । महेन्द्रनगरस्थित कार्यालय बाहिरबाट धान खरिदको तयारी भएको छैन ।
अघिल्लो वर्ष शाखा कार्यालय सहित बेदकोट र शुक्लाफाँटा नगरपालिकामा काँँटा राखेर धान खरिद डिपो राखिएको थियो । गत वर्ष सदरमुकाम बाहिर दोधारा चाँदनीमा पुगेर कार्यालयले धान खरिद गरेको थियो ।
