ghar sansar

पटाकामा कानुनी प्रश्न

khasi

हरि प्रसाद जोशी

तिहार रमाइलो गर्ने पर्व हो, कानुनको उपहास गर्ने पर्व होइन । नेपालमा पटाका, आतसबाजी तथा विस्फोटक पदार्थको प्रयोग र कारोबारमा कानुनी प्रतिबन्ध तथा नियन्त्रणका व्यवस्था छन्। कानुनले निषेध गरेको काम गर्नु हुँदैन भन्ने मान्यता राखेर जिम्मेवार नागरिकहरू पटाका पड्काउँदैनन् । तर विडम्बना के छ भने, चोरबाटोबाट पटाका भित्र्याउने, खुलेआम कालोबजारी गर्ने र बजार तथा बस्तीमा जथाभावी पड्काउनेहरूका अगाडि कानुन निरीह देखिन्छ ।

महेन्द्रनगर बजारका अधिकांश घर तथा बस्तीमा पटाका पड्काइएको दृश्य देख्दा एउटा गम्भीर प्रश्न उठ्छ– कानुन मान्ने नागरिकले मात्र पटाका पड्काउन नपाउने हो ? कानुन उल्लङ्घन गर्नेलाई चाहिँ कानुन लाग्दैन ?

यदि कानुन सबै नागरिकका लागि समान हो भने यसको कार्यान्वयन पनि समान हुनुपर्छ। कानुन मान्ने नागरिकलाई नियन्त्रण गर्ने तर कानुनको खुलेआम धज्जी उडाउनेलाई बेवास्ता गर्ने प्रवृत्तिले विधिको शासनमाथि नै प्रश्न खडा गर्छ ।

dirghayi clinic

अझ गम्भीर प्रश्न त जनप्रतिनिधि र राज्यका जिम्मेवार निकायहरूमाथि पनि उठ्छ । जनताको प्रतिनिधित्व गर्नेहरूले कानुन निर्माण मात्र होइन, त्यसको निष्पक्ष कार्यान्वयनका लागि पनि पहल गर्नु पर्छ । रमाइलो र उत्सव मनाउने अधिकार सबैलाई छ, तर अरूको जीवन, स्वास्थ्य, शान्ति र सुरक्षामा जोखिम पु¥याउने अधिकार कसैलाई छैन ।

घातक प्रकृतिका पटाका तथा विस्फोटक पदार्थको अवैध आयात, बिक्री र प्रयोग रोक्न नसक्ने हो भने यसको जिम्मेवारी कसले लिने ? बजारमा लुकीछिपी मात्र होइन, खुलेआम बिक्री हुने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्दैन ?

राज्यले निषेध गरेको वस्तुको अवैध कारोबार नियन्त्रण गर्नुपर्छ। कानुनको उद्देश्य नागरिकलाई दुःख दिनु होइन, नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो। त्यसैले कानुन बनाउने, कार्यान्वयन गर्ने र पालना गर्ने सबैको जिम्मेवारी बराबर हुनु पर्छ ।

जसका लागि
– कानुन सबै नागरिकका लागि समान रूपमा लागू होस् ।
–अवैध रूपमा पटाका भित्र्याउने, बेच्ने र प्रयोग गर्नेहरूमाथि निष्पक्ष कारबाही होस् ।
– तिहारलाई सुरक्षित, सभ्य र मर्यादित बनाउने जनचेतना फैलाइयोस् ।
– राज्यले नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै कानुनको प्रभावकारी कार्यान्वयन गरोस् ।
अन्ततः, लोकतन्त्रमा कानुनभन्दा माथि कोही हुँदैन। कानुन मान्नेलाई मात्र कानुन लाग्ने र उल्लङ्घन गर्नेलाई छुट हुने अवस्था विधिको शासन होइन ।
तिहारको उज्यालो दियोबाट फैलाऔँ, पटाकाको विस्फोटबाट होइन। हाम्रो रमाइलो अरूको पीडा र असुरक्षाको कारण बन्नु हुँदैन ।
– कानुनको सम्मान गरौँ, कानुन मान्ने नागरिकलाई मात्र कानुन लाग्ने हो कि कानुन उल्लङ्घन गर्नेलाई पनि लाग्छ भन्ने प्रश्न नागरिक स्तर बाट उठाऔं ।
कानुन सबैका लागि बराबर हुनुपर्छ, पहुँच र शक्तिका आधारमा फरक हुनु हुँदैन।

लेखक सार्थक साप्ताहिकका सम्पादक हुन् ।

Himal dental
सम्बन्धित
Loading...