
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकबाट अस्पताल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने निर्णय गरिएको हो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले १५ शैय्याको अस्पताल निर्माणलाई प्राथमिकता राखेर पहिलो बैठकमा प्रक्रिया थाल्ने निर्णय गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा अध्यक्ष रानाले १५ शैय्याको अस्पताल बनाउने वाचा गरेका थिए । स्थानीय तहमध्ये गाउँपालिकालाई १५ शैययाको अस्पताल सञ्चालन गर्न सक्ने कानुनी अधिकार छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले कार्यपालिका बैठकबाट ठेक्का प्रक्रियामा जाने निर्णय गरिएको बताए । ‘टेण्डर प्रक्रियामा जाने निर्णय गरिएको छ, त्यसका लागि प्रक्रिया अघि बढाउँछौ’ उनले भने ।
कार्यपालिका बैठकबाट भूमि आयोगको कामलाई अघि बढाउने पनि निर्णय गरेको छ ।
कार्य पालिका बैठकले वडा अध्यक्ष गज बहादुर बिष्टलाई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी दिएको छ । काँग्रेसका गाउँपालिका सभापति विष्ट वडा नं. १ बाट निर्वाचित भएका हुन् ।
बैठकबाट वडा विभाजनका लागि गाउँ सभामा लगिने लगायतका १७ निर्णय भएका छन् ।
