महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले कृष्णपुर नगरपालिकालाई ६८ औं प्रहरी दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कृष्णपुर नगरपालिकाले जिल्लाको शान्ति,सुरक्षा र अमन चयनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नगरपालिकालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक भरत बहादुर बोहराले संयुक्त रूपमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझालाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरेको हो ।
कृष्णपुर नगरपालिकामा निर्वाचित भएर आएदेखि नगरप्रमुख ओझाले नागरिकको शान्ति सुरक्षाको लागि महत्त्वपूर्ण काम गर्दै आएका छन् । नगरप्रमुख ओझाको सक्रियतामा वडा न.५ को मोहना चोक,वडा न.१ को पहरियामा अस्थायी प्रहरी बिट संचालनमा आएको छ ।
त्यस्तै वडा न.९ को चपरताला क्षेत्रमा निकट भविष्यमै अस्थायी प्रहरी बिट संचालनमा ल्याउने गरि काम भैरहेको छ । भौगोलिक हिसाबले ठुलो मानिएको वडा न .१ मा अघिल्लो वर्षदेखि अस्थायी प्रहरी बिट संचालनमा आएपछि स्थानीय अत्यन्तै हर्षित भएका थिए ।
स्थानीयले वर्षौंदेखि आफुहरुले माग गर्दै आएको प्रहरी बिट नगरप्रमुख ओझाको सक्रियता संचालनमा आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । नगरप्रमुख ओझाको सक्रियतामा अहिले सो क्षेत्रमा प्रहरीका लागि सुविधा सम्पन्न पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सम्मानित भएपछि नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाको क्षेत्रभित्र पर्ने पुर्व पश्चिम राजमार्गमा अत्यधिक गतिका कारण दिनहुँ दुर्घटनाका खबर बारम्बार आउन थालेपछि सो क्षेत्रमा दर्जन भन्दा बढी सि.सि.टिभी क्यामरा जडान गरिएको बताए ।
उनले कृष्णपुरका जनताले अमुल्य मत दिएर आफुलाई पाँच वर्ष सेवा गर्ने मौका दिएको भन्दै नागरिकको जिउधनको सुरक्षाका लागि आफ्नो तर्फबाट गर्न सक्ने काममा कुनै कसर बाँकी नराख्ने समेत बताए ।