महेन्द्रनगर । दोधारा चाँदनीबाट लागु औषध सहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारबाट खैरो हिरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट आएका उनीहरुको सवारी साधन जाँच गर्दा खैरो हिरोइन भेटिएको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी २ का पवन धामी(२१), भीमदत्त नगरपालिका १० का कुश कार्की(२३), दोधारा चाँदनी नगरपालिका २ का सन्तोस सार्की(१९) र सोही वडाका कमल सुनार(१८) छन् । दुई ओटा मोटरसाइकमा आएका उनीहरुलाई शंका लागेर जाँच गरेपछि खैरो हिरोइन भेटिएको प्रहरीको भनाई छ ।
स्याउले बजारमा प्रहरी टोलीले पवन धामीले चलाएको सु.प.प्र.०२–००३ प ७११२ नं. को मोटरसाईकल रोकेर जाँच गर्दा सिट कभरभित्र पहेंलो रङ्गको कागजभित्र राखिएको अवस्थामा एक दशमलव सात ग्राम खैरो हिरोइन भेटिएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भीमदत्त नगरपालिका १० का कार्कीलाई शंका लागेर जाँच गरिएको प्रहरीका भनाई छ ।
उनीहरुसंगै दोधारा चाँदनी नगरपालिका २ का सार्कीले चलाएको भारतीय नम्बर प्लटेको मोटरसाइकमा जाँच गरिएपछि सार्कीले जुत्ताभित्र कागजमा राखेर लुकाएको १० मिलिग्राम हिरोइन भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले चार जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।